December 16th, 2016

सर्वसाधारणलाई राहत पुग्ने संकेत : ४.८ प्रतिशतमा झर्यो मूल्यवृद्धिदर 

rising priceरुपा कोइराला – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म लगातार घाटामा रहेको चालु खाता बचतमा फर्केको र शोधनान्तर स्थिति समेत बचतमा रहेकोले मुलुकको वाह्य क्षेत्र स्थिति सुदृढ भएको बताएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै यस्तो बताएको हो । 

राष्ट्र बैंकद्धारा जारी विवरणअनुसार, कात्तिक मसान्तसम्ममा चालू खाता एक अर्ब ८६ करोड रुपैयाँ बचतमा गएको छ । असोज मसान्तसम्ममा घाटामा रहेको चालू खाता कात्तिक महिनामा बचतमा गएको हो । त्यस्तै, सो अवधिमा शोधनान्तर स्थिति पनि २१ अर्ब ९८ करोड रुपैयाँ बचतमा छ । असोज मसान्तसम्मका शाधनान्तर ८३ अर्ब ७० करोडले बचतमा थियो ।

राष्ट्र बैंकले मुद्रास्फीतिमा आएको क्रमिक सुधारले सर्वसाधारणलाई राहत पुग्ने तथा औद्योगिक उत्पादन तथा व्यवसायका लागि सकारात्मक वातावरण बन्ने आँकलन गरेको छ । राष्ट्र बैंकका अनुसार, २०७३ असार महिनादेखि घट्दो क्रममा रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७३ असोज महिनामा ६.७ प्रतिशत रहेकोमा २०७३ कात्तिक महिनामा ४.८ प्रतिशतमा ओर्लेको छ । यस्तो मुद्रास्फीति २०७३ असार महिना र २०७२ र कात्तिक महिना दुबैमा १०.४ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य तथा गैर–खाद्य मुद्रास्फीति दुबैमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको राष्ट्र बैंकको भनाई छ ।

अघिल्लो वर्षको कात्तिक मसान्तसम्ममा १२.१ प्रतिशत रहेको खाद्य मुद्रास्फीति चालू आर्थिक वर्षको कात्तिक मसान्तमा २.६ प्रतिशत मात्रै रहेको छ । यस समूह अन्तर्गतको घ्यू तथा तेल र दलहन तथा गेडागुडीको मूल्य घटेको छ भने दुग्धजन्य पदार्थ तथा अण्डा, खाद्य तथा खाद्यजन्य पदार्थ, फलफूल, मासु तथा माछा लगायतका वस्तुहरुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेको छ । त्यस्तै, गैर–खाद्यतर्फ मुद्रास्फीति ६.५ प्रतिशत रहेको छ , जबकि, अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ९.२ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको यातायात तथा संचारको मुद्रास्फीति घटेको छ भने लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरुको मुद्रास्फीति गत वर्षको तुलनामा न्यून रहेको छ । 

राष्ट्र बैंकका अनुसार, विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.४ प्रतिशतले वृद्धि भएको थियो । तर विप्रेषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४ को चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०.९ प्रतिशतले घटेको थियो ।