December 14th, 2016

सीए बन्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

caकेपी उपाध्याय – सिए बन्न लाग्ने सामान्य अवधि पाँच वर्ष हो । नेपाली बोर्ड आइक्यानबाट एकैपटक सबै तह पास गर्नेलाई पाँच वर्ष लाग्छ । २०७३ सालबाट सुरु भए २०७८ सम्म सिए बन्नुहुनेछ । विदेशी सिए बनेको खण्डमा नेपालमा आएर थप एक सालको इन्टर्नसीप र दुई विषयको सदस्यता परीक्षा दिनुपर्ने हुन्छ । कुन बोर्डको सिए बन्ने भन्ने विषयमा गहन रुपले बुझ्न एकपटक सिनियर, कोचिङ इन्स्टिच्युट, इन्टरनेट आदिमा बुझ्न सक्नुहुनेछ । नेपालमै बस्ने र यतै जम्ने सोच राख्नुभएको भए एकपटक ललितपुर सातदोबाटोमा रहेको नेपाली बोर्ड आइक्यान हेड अफिसमा परामर्शको लागि पक्कै जानुहोला । पढ्न लाग्ने खर्चको बारेमा, बोर्डमा लाग्ने खर्च, कोचिङ खर्च, किताबकापी, घरभन्दा टाढा भएमा बस्ने, खाने आदिजस्ता खर्च लाग्ने गर्छ । विस्तृतरुपमा बुझ्न उपर्लिखित उपाय अपनाउनुहोला । सो बाहेक आफ्नो खर्च गर्ने बानी र आवश्यकता अनुरुप खर्च बढ्दै जाने हो । 

सिए बनिसकेपछि के कस्ता अवसर पाइन्छन् भन्ने विषयमा अन्य लेखहरु पढ्नुहोला । साथसाथै आर्थिक समाचारहरु पत्रपत्रीका, टिभि, रेडियोबाट पढ्ने, हेर्ने र सुन्ने गर्नुहोला । गोष्ठी, छलफलमा सक्रियतापूर्वक भाग लिने गर्नुहोला । किताबको ज्ञानसंगै आफ्नो कार्य क्षेत्रसंग सम्बन्धित बाहिरको ज्ञान पनि आफैँ लिने आदतले भविष्यमा पनि फाइदा पुर्याउँछ । यो पढिरहँदा पाठकलाई समयको अभाव महशूस हुन सक्ला तर यो नबिर्सौ यो धर्तीमा सबैसँग चौबिस घण्टा नै छ । समय व्यवस्थापन तपाईँको जिम्मेवारी हो ।

अर्को महत्वपूर्ण विषय सिए पढ्दापढ्दै विश्वविद्यालयका कोर्सहरु आफ्नो समय व्यवस्थापन क्षमता अनुसार पढ्न सकिन्छ । सिए र मास्टर्स डिग्री संगै सक्ने पनि छन् । त्रिभुवन विश्वविद्यालयले सिए र प्लस टु लाई स्नातक अनि सिए र स्नातकलाई स्नातकोत्तर सरहको मान्यता दिएको छ भन्ने जानकारी प्राप्त छ । तपाईले आफ्नो समय अनुकुल पढाई अगाडी बढाउन सक्नुहुनेछ ।

नेपाली समाजमा एउटा भ्रम छ कि सिए अन्तिम तह पास नभए फेरि सुरुबाट पढ्नुपर्छ । सुरुबाट पढ्नुपर्छ भनेको पहिलो तहबाट पढ्नुपर्छ भनेको नभई जुन तह असफल भएको हो त्यही तहमात्रै पढ्नुपर्छ भनेको हो । त्यसैले अप्ठ्यारो हुन सक्ला, असम्भव नठान्नुहोस् तपाईजस्तै लक्ष्य बोक्नेहरु सिए बनेका छन् । जम्मा तीन तहमा बाँडिएको सिएको पढाई तहगत रुपमा उत्तिकै रोचक र घोचक बन्दै जान्छ । पाइला–पाइलामा गर्नुपर्ने मेहनतले तपाइलाई बाहिरी दुनियाँसंग साक्षात्कार गराउनेछ । अन्य पेशाको तुलनामा धेरै लामो तीन वर्षको आर्टिकल्शिप तालिमले तपाईको व्यवहारिक ज्ञानलाई मजबुत बनाउनेछ । पहिलो तह प्रवेश परीक्षा सरह हुन्छ । दोश्रो तहका केही या सबै विषय पास गरेर कम्प्युटर तालिमपछि सुरु हुने तीन वर्षे आर्टिकल्शिपले तपाईलाई सफल सिए बन्न ठूलो मद्धत गर्नेछ । तालिमको पछिल्लो खण्डमा अन्तिम तहको परीक्षा दिन पाइन्छ । अन्तिम तह पास भएसंगै जिएमसिएस नामको व्यवस्थापन र सञ्चारसम्बन्धी तालिम पश्चात तपाई चाटर्ड एकाउन्टेन्ट बन्नुहुनेछ । 

यसरी माथि लेखिएका जानकारीले सिए कसरी बन्ने भन्ने विषयमा मोटामोटी आइडिया दिएको ठान्दछु । भर्खरै परीक्षा सकिएको छ । केही समय दिमागलाई आराम दिनुहोस् । अनि अबका केही हप्ताहरु गहनरुपमा बुझ्नतिर लगाउनुहोस् । घरपरिवारमा छलफल, सिनियर, कोचिङ सेन्टर, आइक्यान परामर्श केन्द्रमा गएर गहन परामर्श लिनुहोस् । किनकी हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु उचित हुँदैन । एउटा सत्य कुरा के हो भने सिएका पढाईमा प्रवेशद्धार ठूलो र चौडा छ तर निकासद्धारा सानो र साँघुरो छ । त्यही साँघुरो द्धाराबाट बाहिर निस्कने सपना देख्नुहोस् । तपाईलाई स्वागत गर्न परिवार, समाज, देश र द्ुनियाँ पर्खिरहेको हुनेछ । त्यसपछि जीवनको अर्को अध्याय सुरु हुनेछ । (उपाध्याय चार्टर्ड एकाउन्टेन्ट हुन् ।)