लघु व्यवसायभन्दा केही ठूला व्यवसाय हुन् साना तथा मझौला व्यवसाय । एक/दुई लाखको कर्जा लिएर व्यवसाय गर्ने लघुवित्तबाट माथि उठेका र आफैँले व्यवसाय सञ्चालन गर्नसक्ने व्यवसायी यस्तो व्यवसाय गर्ने गर्दछन् । साना तथा मझौला व्यवसाय कुनै एउटा परिवार र २४ जनाको समूहले पनि गर्न सक्ने हुनाले यसका लागी धेरै ठूलो पूँजीको आवश्यकता हुँदैन । यो व्यवसायको आकार सम्बन्धित मुलुकको नीतिनियम अनुसार फरकम फरक हुन्छ । नेपालमा एक÷दुई करोडको पुँजीमा स्थापित व्यवसायलाई साना तथा मझौला व्यवसाय भनिने गरिएको छ । यस्ता व्यवसायको वार्षिक टनओभर करिब २० करोड हुनुपर्ने भनिएको छ । साना तथा मझौला उद्योगमा फर्निचर व्यवसाय, चामल÷तेल मिल, बिस्कुट फ्याक्ट्री, ससाना खुद्रा पसल, कृषि क्षेत्रमा पशुपालन, व्यावसायिक खेती जस्ता क्षेत्रहरु पर्दछन् ।
कसरी लिने कर्जा ?
साना तथा व्यवसाय सञ्चालनमा बैंकहरुले पनि कर्जा प्रवाह गर्ने गरेका छन् । यस क्षेत्रमा कर्जा प्रवाह गर्न बैंकहरुलाई पनि सहज व्यवस्था छ । यसका लागि व्यवसाय दर्ता हुनुपर्ने र कतिपय कृषि कर्जाको हकमा दर्ता नभएपनि कर्जा दिन सकिने व्यवस्था छ । कर्जा प्राप्त गर्न दर्ताको प्रमाणपत्रसंगै व्यवसाय सञ्चालनको योजना र कुन ठाउँमा व्यवसाय गर्ने भन्ने स्पष्ट हुनुपर्दछ । साथै कच्चा पदार्थको आपूर्ति र आफूले तयार गरेको वस्तुको बिक्री गर्ने योजना सहित आउनेपर्ने हुन्छ । कर्जा लिन आउँदा आफूले लगानी गर्ने र कर्जा कतिको चाहिएको हो त्यसको स्पष्ट उल्लेख भएको प्रस्ताव लिएर आएमा जोकोहीले पनि कृषि कर्जा प्राप्त गर्न सक्दछन् । यसरी कर्जा लिँदा वार्षिक रुपमा हुने उत्पादन, त्यसको बिक्रीको अवस्था र आफूले प्राप्त गर्ने रिटर्नको पनि ख्याल गर्नुपर्दछ । आफ्नो सम्पूर्ण लागत बैंकको कर्जा घटाएर आफूलाई केही मुनाफा हुनेगरी परियोजना पेस गर्नुपर्ने हुन्छ । यसको समग्र पक्षलाई अध्ययन गरेर बैंकले आफ्नो सुरक्षण हेरेर १०÷१५ दिनमा कर्जा प्रवाह गर्ने गर्दछन् । अहिले कृषि व्यवसाय गर्नेका लागि करिब ५ प्रतिशतमा पनि कर्जा सुविधा दिइएको छ । यसमा सरकारले ४ प्रतिशत अनुदान दिएको हुनाले बैंकले ९ प्रतिशतमा पाउने भएपनि व्यवसायीले भने ५ प्रतिशतमा नै प्राप्त गर्न सक्दछन् । अन्य व्यवसायका लागि ८÷९ प्रतिशतमा नै कर्जा पाउन सकिन्छ ।
कर्जा दुरुपयोग गरे बैंकिङ कसुर
व्यवसाय सञ्चालन गर्देगर्दा आफूले जे उद्देश्यका लागि कर्जा लिइएको हो, सोही क्षेत्रमा कर्जा परिचालन नगरी फरक तरिकाको व्यवसाय गरेमा त्यसलाई कर्जा दुरुपयोग भएको मानिन्छ । त्यस्तो गर्नेलाई बैंकिङ कसुर अन्तर्गत कारबाही समेत गर्ने प्रावधान छ ।
त्यस्तै, आफ्नो आयव्ययको अवस्था बैंकले मागेको खण्ड बुझाउनुपर्ने हुन्छ र बैंकको किस्ता पनि समयमा नै तिर्नुपर्ने हुन्छ । किस्ता दुई किसिमले तिर्ने व्यवस्था बैंकले गरेका हुन्छन् । स्थिर पूँजीका लागि दिइएको कर्जा जसलाई टर्म लोन भनिन्छ । यसलाई किस्ताकिस्तामा तिर्ने व्यवस्था गर्ने गरिन्छ । त्यस्तै अर्को चालू पूँजी भन्ने हुन्छ, जसको ब्याजमात्रै तिर्ने गरिन्छ । बैंकले किस्ता र ब्याज तिर्ने अवधि तोकिदिएको हुन्छ । त्यही अवधिमा किस्ता बुझाउनुपर्ने हुन्छ । बैंकको किस्ता र ब्याज समयमा नतिरेमा बैंकलाई २ प्रतिशत सम्म पेनल ब्याज तिर्नुपर्ने हुन्छ ।