January 21st, 2025

बैंकहरुलाई ऋण उठाउन सकस : गुहार्दै न्यायाधिकरण

बैंकिङ खबर/बैंकहरुको खराब कर्जा निरन्तर बढिरहेको छ । वाणिज्य बैंकहरुको खराब कर्जा पुस मसान्तमा आइपुग्दा अधिकतम ७ प्रतिशतको हाराहारीमा आइपुगेको छ । विवरण अनुसार कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशतमा पुगेको छ । औषतमा भने वाणिज्य बैंकहरुको खराबकर्जा ४.३३ प्रतिशतमा देखिएको छ ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणमा १४ वटा बैंकहरुको खराबकर्जा बढेर ४ प्रतिशत माथि पुगेको छ भने एउटा बैंकको खराबकर्जा बढे पनि ३ प्रतिशतमै सीमित बनाउन सफल भएको छ । ऋणीहरूबाट किस्ता र ब्याज संकलन हुन नसक्दा समग्रमा वाणिज्य बैंकहरूको खराब अर्थात् निष्क्रिय कर्जा (एनपीएल) वृद्धि भएको हो ।

बैंकहरुबीचको खराब कर्जा बढेसँगै बैंक र ऋणीहरुबीचको विवाद पनि चुलिँदै गएको छ । सम्झौता अनुसार ऋणीहरुले ऋण नतिर्दा बैंकहरु धमाधम मुद्दा दायर गर्न थालेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पुस महिनामा मात्रै ऋण असुली न्यायाधिकरणमा १०२ वटा मुद्दा दर्ता भएका छन् । यी मुद्दाबाट अर्बौं कर्जा असुल गर्नुपर्ने ऋण असुली न्यायधिकरणको तथ्यांकमा उल्लेख छ ।
पुस महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै मुद्दा दर्ता गरेको छ। बैंकले ३७ वटा मुद्दा दर्ता गरेको छ, जसमार्फत बैंकले कुल ३२ करोड ५२ लाख २८ हजार ६ सय ७५.११ रुपैयाँ असुल गर्नु पर्नेछ । एनआइसी एशिया बैंकले विभिन्न संस्थाहरू र व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरेको छ। जसमा शुभम ट्रेडर्स, ए वान पोल्टी एण्ड लाइभस्टक प्रालि, गौतम इन्टरप्राइजेज, सन्कल्प केपीएस ट्रेडिङ्ग लगायत रहेका छन् ।

त्यसैगरी, कुमारी बैंकले २४ वटा मुद्दा दर्ता गरेको छ । जसबाट बैंकले १६ करोड ३५ लाख रुपैयाँ रकम उठाउनु पर्नेछ। त्यस्तै, ग्लोबल आइएमई बैंकले ८ वटा, नबिल बैंकले ४ वटा र माछापुच्छ्रे बैंकले १ वटा मुद्दा दायर गरेका छन्। चालु वर्षको सार्न महिनामा ५६, भदौ महिनामा ७६, असोज महिनामा ३२, कार्तिक महिनामा ४६, मंसिर ७० र पुस महिनामा १०३ वटा मुद्दा दर्ता भएको छ । यसरी चालु वर्षको ६ महिनामै बैंक तथा ऋणीहरुले ३८२ वटा मुद्दा दर्ता गरिसकेका छन् ।