बैंकिङ खबर/ पछिल्लो समय बैंकवित्तीय संस्थाको खराब कर्जा झन् पछि झन् बढ्न थालेको छ । असोज मसान्तमा तीनवटा वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात ५ प्रतिशतमाथि थियो । केही बाहेक धेरैजसो बैंकहरूको ५ प्रतिशत कट्ने देखिएको छ ।
हालै मात्र बैंकर्स संघमा बैंकका सीईओहरुले खराब कर्जा कति पुग्छ भन्ने छलफल गरेका छन् । छलफलका अन्य विषय भएपनि खराब कर्जाको विषयमा छलफल थियो । छलफलमा सीईओहरुले केही बाहेक सबै बैंकको खराब कर्जा ५ प्रतिशत पुस मसान्तमा कट्ने बताएका छन् । चैत मसान्तमा ६ प्रतिशत पुग्ने र असारसम्म ७ प्रतिशत खराब कर्जा अनुपात पुग्नेमा सीईओहरु एकमत देखिएका थिए ।
बैंकर्स संघमा सीईओहरुबीच पुस मसान्तमा मिलाउने ब्यालेन्ससिटभन्दा पनि वास्तविक नै ल्याउने भन्नेमा छलफल भएको थियो । राष्ट्र बैंकले निर्माण व्यवसायीहरूलाई दिएको सहुलियत निरन्तरता दिएको छैन । जसले गर्दा निर्माण व्यवसायीमा गएको कर्जाले खराब कर्जा थप बढाउने छ । यसबाहेक निर्माण व्यवसायीलाई ऋण तिर्न राष्ट्र बैंकले दिएको सहुलियतले सक्ने व्यवसायीले समेत ऋण नतिर्ने प्रवृत्ति देखिएको बैंकरहरु बताउँछन् ।
असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरूको औसत खराब कर्जा अनुपात ४.२८ प्रतिशत छ । बैंकरहरुका अनुसार वास्तविक रूपमा ब्यालेन्ससिट देखाएमा खराब कर्जा अनुपात नै अहिले नै औसतमा करिब १० प्रतिशतभन्दा माथि रहेको बताउँछन् ।
बैंकहरूको खराब कर्जा ४.४२ प्रतिशत
यता नेपाल राष्ट्र बैंकका औसतमा वाणिज्य बैंकहरूको खराब कर्जा ४.४२ प्रतिशत पुगेको छ । यो अझै थपिने अवस्था देखिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकको सम्पत्ति ऋणको धितो नै ८० प्रतिशत रहेको बताए। उनले बैंकको आम्दानी स्रोत एकै किसिमको मात्रै रहेको बताए। उनले बैंकको आम्दानी स्रोत सीमित हुँदा नाफामा दबाव देखिएको बताए।
उनले २०४० सालमा निजी क्षेत्र प्रवेश गरेसँगै ४० अर्ब निक्षेपको आकार ८ प्रतिशत कर्जामा देखिएको उल्लेख गरे। उनले बैंकबाट कर्जा लिनेहरू अलि बढी जिम्मेवार हुनुपर्ने अवस्था देखिएको उल्लेख गरे। नेपाल बैंकर्स संघका अध्यक्ष सुरेन्द्र रेग्मीले पछिल्लो समय बैंकहरूको खराब कर्जा बढेको बताए। उनले बैंकविरुद्ध विभिन्न खालका नकारात्मक गतिविधि हुने गरेको बताए।
उनले देशमा बैंक तथा वित्तीय संस्थाको विकास हुन नसके मुलुकको आर्थिक विकास हुन नसक्ने उल्लेख गरे। उनले बैंकहरूले जनताको पैसा लगानी गरेकाले बैंकमा फिर्ता आउन सकेन भने अप्ठ्यारो अवस्था आउने बताए।
खराब कर्जा के हो ? कसरी पुग्छ बैंकलाई हानी ?
बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपिएल (नन पर्फमिङ लोन – non performing loan) अर्थात खराब कर्जा भनिन्छ ।
निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ । यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्ने अवस्था आउँछ ।
ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।
कसरी पुग्छ बैंकलाई हानी ?
सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गरेर बैंकले नाफा आर्जन गर्ने गर्दछ । यद्यपि, लगानी गरेको पैसा नै नउठ्दा बैंकको नाफामा गिरावट आउँछ ।
खराब कर्जा बढेर समस्याग्रस्त अवस्थामा पुगेको बैंकलाई सर्वसाधारणले विश्वास गर्दैनन् । खराबकर्जाले बैंकको छविलाई नै गिराउने हुन्छ । बैंकहरुले जथाभावी रुपमा कर्जा लगानी गर्दा यस्तो समस्या आउँछ । अनुत्पादनमूलक क्षेत्रमा गरिएको लगानी डुब्ने खतरा बढी हुन्छ ।
लगानी गर्न लागेको क्षेत्रको अध्ययन नगर्दा पनि यस्तो समस्या निम्तिन्छ । कतिपयले चिनेजानेको भरमा कर्जा पास गराउने गरेका कारण पनि बैंकले घाटा व्यहोर्ने स्थिती आइपर्ने गरेको छ । यस्ता क्रियाकलापहरुका लागि बैंकप्रतिको विश्वास घट्दै जाने हुन्छ । फलस्वरु बैंकमा कारोबार कम हुन गई व्यवसायमा उल्लेख्य ह्रास आउँछ र संस्था समस्याग्रस्त हुन जान्छ ।