January 5th, 2025

उत्पादन क्षेत्रमा बैंकहरुको न्यून लगानी

बैंकिङ खबर/ बैंकिङ खबर/ पछिल्लो समय बैंकवित्तीय संस्थाको कर्जा प्रवाह हुन सकेको छैन भने लगानीयोग्य रकम थुप्रिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ७८ अर्ब नाघेको छ भने ५३ खर्ब ६३ अर्ब कर्जा लगानी पुगेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९.०१ प्रतिशत कायम रहेको छ ।

बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन् । बैंकहरुको हालको सीडी रेसियो हेर्दा बैंकहरुमा ६ खर्ब ४७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ । यस्तै बैंक तथा वित्तीय संस्थाबाट हालसम्म कुल ५३ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यसमध्ये केवल ३० प्रतिशत मात्र उत्पादक क्षेत्र (कृषि, उत्पादन, साना तथा मझौला उद्यम) मा लगानी गरिएको छ ।

बाँकी ७० प्रतिशत कर्जा गैर–उत्पादक क्षेत्रमा प्रवाह भएको छ, जसमा करिब १९ प्रतिशत उपभोग, १९ प्रतिशत व्यापार, ८ प्रतिशत यातायात र सञ्चार, ८ प्रतिशत सेवा, र ४ प्रतिशत निर्माण क्षेत्रमा लगानी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कर्जाको क्षेत्रगत वर्गीकरणअनुसार, केवल ५२ प्रतिशत कर्जा मात्र दीर्घकालीन आयोजना तथा चालु पूँजीका लागि प्रयोग भएको छ। बाँकी कर्जा ‘क्यास क्रेडिट’ (१२%), आवासीय (७.५%), रियल स्टेट (५%) लगायतमा लगानी गरिएको छ। ९० प्रतिशत कर्जा स्थिर सम्पत्ति (घरजग्गा) धितो राखेर दिइएको छ।

निजी क्षेत्रको कर्जा १ प्रतिशतले बढ्दा जीडीपी वृद्धिदर ०.२३%, मुद्रास्फीति ०.३७%, र आयात ०.७५% मात्र वृद्धि हुन्छ। यसको अर्थ, कर्जाको ठूलो हिस्सा आयात र सम्पत्तिको मूल्यवृद्धिमा खर्च भइरहेको छ, उत्पादन वृद्धि भने न्यून छ।

नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहलाई उत्पादक क्षेत्रतर्फ मोड्न निर्देशन जारी गर्दै २०८४ सम्म कृषि, ऊर्जा, र साना तथा मझौला उद्यममा ४०% कर्जा प्रवाह अनिवार्य गरेको छ। हालसम्म कृषि क्षेत्रमा १३.२%, ऊर्जा क्षेत्रमा ७.९%, र साना तथा मझौला उद्यम क्षेत्रमा ९.२% कर्जा प्रवाह भएको छ।