बैंकिङ खबर/ बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएसँगै बैंकहरुले ७ प्रतिशत कम स्थिर ब्याजदरमै ऋण दिन थालेका छन् । २०८० असोजमा वाणिज्य बैंकहरुको औसत बेसरेट १०.२० प्रतिशत रहेकामा अहिले ७.०४ प्रतिशतमा झरेको छ । बेसरेट घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्।
पुसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेसरेट सबैभन्दा कम ५.३८ प्रतिशत झरेको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको बेसरेट ८.०४ प्रतिशत छ। अन्य बैंकहरुको बेसरेट ८ प्रतिशतभन्दा कम छ ।
कर्जाको औसत ब्याजदर ९ प्रतिशत हाराहारी रहेकामा बैंकहरुले घर तथा गाडी कर्जा ७ प्रतिशतभन्दा कम स्थिर ब्याजदरमा दिइरहेका छन्। नेपाल बैंकले २ करोडसम्मको घर कर्जा ६.८१ प्रतिशतमा दिइरहेको छ । गाडी कर्जाको ब्याजदर बैंकले ६.८९ प्रतिशत कायम गरेको छ।
चालु आर्थिक वर्ष साउनदेखि पुस पहिलो सातासम्म वाणिज्य बैंकहरुले १ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। त्यसमध्ये वाणिज्य बैंकहरुले साउनमा २ अर्ब, भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब, मंसिरमा ४२ अर्ब र पुसमा ५ गते दिनमा ४ अर्ब कर्जा लगानी गरेका छन्।
कात्तिकमा भने कर्जा लगानी २ अर्बले खुम्चिन पुगेको थियो। चालु वर्ष कर्जा लगानीभन्दा निक्षेप बढेको छ। साउनयता वाणिज्य बैंकहरुमा १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ।
बैंकहरुको वेस रेट
वाणिज्य बैंक | २०८१ पुसको औसत बेसरेट |
नबिल | ६.५१ |
नेपाल इन्भेष्टमेन्ट मेगा | ६.८० |
स्ट्यान्डर्ड चार्टर्ड | ५.३८ |
हिमालयन | ७.६५ |
नेपाल एसबिआई | ७.३३ |
एभरेष्ट | ६.१५ |
एनआईसी एसिया | ८.०४ |
माछापुच्छ्रे | ७.३७ |
लक्ष्मी सनराइज | ७.५५ |
कुमारी | ७.३९ |
सिद्धार्थ | ७.३४ |
सानिमा | ७.०६ |
एनएमबि | ७.१५ |
प्रभु | ७.४५ |
ग्लोबल आइएमई | ७.११ |
सिटिजन्स | ७.७४ |
प्राइम कमर्सियल | ७.६४ |
कृषि विकास | ६.९४ |
नेपाल | ६.३९ |
राष्ट्रिय वाणिज्य | ५.८५ |