बैंकिङ खबर/ बैंकहरुको कर्जा प्रवाह सुस्त छ भने कर्मचारीहरु यतिबेला टार्गेट पूरा गर्न नसकेर हैरान छन् । आन्तरिक अर्थतन्त्रमा सुस्तता आएसँगै खासै कर्जा प्रवाह हुन सकेको छैन । योसँगै बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । अहिले बैंकहरुमा ६ खर्ब रुपैयाँभन्दा अधिक तरलता छ । बैंकहरुबाट कर्जा लगानी बढ्न नसकेकाले प्रणालीमा अधिक तरलता देखिएको हो । यसलाई व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुसँगै केन्द्रीय बैंकलाई पनि हम्मेहम्मे परेको छ ।
बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट निरन्तर तरलता खिच्न थालेको छ । आइतबार केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ खिचेको छ ।
यता, कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थाको व्यवसायमा प्रत्यक्ष असर परेको छ । बैंकका कर्मचारीहरु कर्जा प्रवाह बढाउने दौडमा छन् । वाणिज्य बैंकहरुले आधार दरमा १ प्रतिशतभन्दा पनि कम प्रिमियम दरमा नै घर जग्गा कर्जाको लागि अफर गर्दै आएका छन् । कर्मचारीहरुले सार्वजनिक कार्यक्रम तथा व्यक्तिगतरुपमा नै भेटेर कर्जाको लागि अफर गर्दै आएका छन् ।
केन्द्रीय बैंकले सहज नीति लिए पनि २ करोडसम्मको आवासीय कर्जा थोरैमात्र बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक मसान्तसम्म ३ खर्ब ९७ अर्ब २३ करोड रुपैयाँ २ करोडसम्मको आवासीय कर्जा प्रवाह गरेका छन् । ४ महिनामा यस्तो कर्जा १० अर्ब २१ करोड रुपैयाँ अर्थात् २।६४ प्रतिशतले मात्र बढेको हो ।
असार मसान्तसम्म बैंक–वित्तीय संस्थाले ३ खर्ब ८७ अर्ब १ करोड रुपैयाँ २ करोडसम्मको आवासीय कर्जा प्रवाह गरेका थिए । केन्द्रीय बैंकको लचिलो नीतिका कारण यो क्षेत्रको कर्जा केही बढे पनि आक्रामक रुपमा बढ्न भने नसकेको बैंकरहरुले बताएका छन् ।
बैंकहरुले लगभग बेस रेटमै कर्जा दिँदा पनि अपेक्षा अनुसार यो क्षेत्रमा प्रवाह हुने कर्जा बढ्न नसक्नुमा मुख्य कारण आर्थिक मन्दी र त्यसले सर्वसाधारण नागरिकको दैनिक जीवनमा पारेको प्रभाव नै हो । सर्वसाधारणले कर्जा लिने क्षमतामै ह्रास आएको छ । अधिकांशको व्यक्तिगत आम्दानीका स्रोतहरुमा धक्का लागेको छ ।
घर–जग्गा व्यवसायमा देखिएको चरम मन्दीले पनि यो क्षेत्रमा प्रवाह हुने साना कर्जासमेत प्रभावित भएको हो । यसअघि कर्जा लिएकाहरुले पनि समयमा साँवा–ब्याज भुक्तानी गर्न नसक्दा समस्या भइरहेको छ । बैंकहरुको खराब कर्जा बढेको छ । गैर बैंकिङ सम्पति पनि बेस्सरी बढेको छ ।
केन्द्रीय बैंकको पछिल्लो प्रावधान अनुसार व्यक्तिगत घर कर्जातर्फ ७५ प्रतिशत र आवासीय कर्जामा जम्मा ६० प्रतिशतमात्र जोखिमभार कायम गरिएको छ । यसबाट बैंकहरुले कर्जा लगानी गर्दा पुँजीकोष अनुपात मिलाउन सजिलो हुन्छ । कम पुँजीमा पनि कर्जा प्रवाह गर्न सक्छन् । तर जोखिम भार बढी भएको कर्जा लगानी गर्दा बैंकहरुलाई स्वपूँजी पनि बढी आवश्यक हुन्छ । जसका कारण कर्जाको ब्याजदर वा प्रिमियम पनि धेरै पर्न जान्छ ।
बैंकबाट ऋण लिने व्यक्ति अत्यन्त कम
पछिल्लो समय बैंकमा तरलता फालफाल भएपनि ऋण लिनेको संख्या भने अत्यन्त कम रहेको पाइएको छ । बैंक तथा वित्तीय संस्थामा रकम राख्नका लागि खुलेका निक्षेप खाताको तुलनामा ऋण लिनका लागि खोलिएका खाताको संख्या पनि झण्डै ३० गुणा कम छ । यसबाट बैंकमा रकम जम्मा गर्ने धेरै व्यक्तिहरु भए पनि बैंकबाट ऋण लिने व्यक्ति अत्यन्त कम रहेको प्रष्ट हुन्छ ।
अर्कोतर्फ यसले बैंकहरुबाट सहज रुपमा कर्जा नपाइने तथ्यलाई समेत उजागर गरेको छ । बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा कर्जा खाता खोल्ने क्रम घटेकाले यस्तो अन्तर बढ्दै गएको हो ।