बैंकिङ खबर/पछिल्लो समय बैंकहरूले होटल तथा पर्यटन क्षेत्रमा ऋण लगानी बढाएका छन् । देशभर ठूला होटल खुल्नेक्रम जारी छ । जसकारण पनि बैंकहरूको लगानी यस क्षेत्रमा बढेको हो ।
पछिल्लो तथ्यांक अनुसार बैंकहरूले होटल तथा पर्यटन क्षेत्रमा २ खर्ब बढी लगानी गरेका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, माउन्टेनिङ, ट्रेकिङ, रिसोर्ट र्याफ्टिङ र क्याम्पिङ लगायतमा बैंकहरूले कर्जा लगानी गरेका हुन् । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकसम्म बैंकहरूले २ खर्ब ७ अर्ब ७३ करोड रुपैयाँ कर्जा पर्यटन क्षेत्रमा लगानी गरेका छन् ।
गत वर्षको कात्तिकमा बैंकहरूले १ खर्ब ९० अर्ब ६७ करोड रुपैयाँ होटल तथा पर्यटनमा लगानी गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूले चालु आवको ५ महिनामा ८.९४ प्रतिशत अर्थात् १७ अर्ब ६ करोड १७ लाख रुपैयाँ होटल तथा पर्यटनमा कर्जा बढाएका हुन्।
यस अवधिमा कृषि विकास बैंकले होटल तथा पर्यटन क्षेत्रमा आक्रामक रूपमा कर्जा वृद्धि गरेको छ । गत कात्तिकसम्म बैंकले ३१.१३ प्रतिशत अर्थात् १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ बढाएर ६ अर्ब १७ करोड ३३ लाख रुपैयाँ पर्यटन क्षेत्रमा लगानी गरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७० करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
प्रभु बैंकको २५.८० प्रतिशत २१ अर्ब ८६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २४.५९ प्रतिशत १६ अर्ब १९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७.०७ प्रतिशत १८ अर्ब २९ करोड रुपैयाँ, एनएमबि बैंकको १४.९० प्रतिशत ८ अर्ब ४० करोड रुपैयाँ, एभरेष्ट बैंकको १४.८६ प्रतिशत ४ अर्ब २२ करोड रुपैयाँ होटल तथा पर्यटन क्षेत्रमा लगानी गरेका छन् ।
सानिमा बैंकको १३.१९ प्रतिशत ५ अर्ब ९३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १२.८५ प्रतिशत १० अर्ब ९४ करोड रुपैयाँ, प्राइम बैंकको १२.६१ प्रतिशत १७ अर्ब ७२ करोड रुपैयाँ, नेपाल बैंकको १२.२० प्रतिशत ९ खर्ब ११ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ७.४६ प्रतिशत ७ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
नेपाल एसबीआई बैंकको ४.५९ प्रतिशत ६ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकको ३.४८ प्रतिशत १० अर्ब ९३ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १.९२ प्रतिशत ४ अर्ब ७८ करोड रुपैयाँ, हिमालयन बैंकको १.४९ प्रतिशत ११ अर्ब ५२ करोड रुपैयाँ कर्जा पर्यटनमा लगानी गरेका छन् ।
समीक्षा अवधिमा एनआईसी एशिया बैंक, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने पर्यटन क्षेत्रमा जाने कर्जा घटाएका छन् । एनआईसी एशियाको १४.१४ प्रतिशत ५ अर्ब ७९ करोड रुपैयाँ, कुमारीको १०.६६ प्रतिशत घटेर १२ अर्ब ९५ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डको ४.१२ प्रतिशत घटेर १ अर्ब २५ करोड रुपैयाँ, सिटिजन्सको २.३८ प्रतिशत घटेर २ अर्ब ७९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाको ०.६८ प्रतिशत घटेर २३ अर्ब ९७ करोड रुपैयाँ होटल तथा पर्यटन क्षेत्रमा कर्जा लगानी गरेका छन् ।