डा. प्रकाशकुमार श्रेष्ठ
सदस्य,राष्ट्रिय योजना आयोग
नेपालको संविधान २०७२ जारी भएपछि नेपाल संघीय गणतान्त्रिक मुलुक भएको छ । संविधान जारी भएपछि संघीय स्वरूपमा २०७४ सालमा तीन तहको सरकारका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट संघीय तहमा करिब दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दीर्घकालीन सोचसहितको पन्ध्रौँ योजना तर्जुमा गरेको थियो । उक्त योजनाले दीर्घकालीन सोचका रूपमा समृद्ध नेपाल, सुखी नेपालीलाई लिइएको थियो ।
उक्त योजनाअनुसार दीर्घकालीन सोचको अर्थ “समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक” भन्ने रहेको छ । सोह्रौँ योजनाले पनि सारभूत रूपमा वि.स. २१०० सम्म हासिल गर्ने दीर्घकालीन लक्ष्यलाई नै आत्मसात् गरेको छ । उक्त दीर्घकालीन सोच हासिल गर्न बैंकिङ क्षेत्रले कसरी भूमिका खेल्न सक्छ भन्ने सन्दर्भमा यो लेख केन्द्रित रहेको छ ।
समृद्ध नेपाल, सुखी नेपाली
पन्ध्रौँ योजनाले समृद्धिलाई परिभाषित गरेको छ । यस अनुसार समृद्धिले चारवटा आधारलाई जनाउने देखाएको छ । पहिलो, सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तरआबद्धता, दोस्रो मानवपुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग अनि तेस्रो उच्च एवम् दिगो उत्पादन तथा उत्पादकत्व र चौथो, उच्च र समतामूलक राष्ट्रिय आय । त्यस्तै, सुखका लागि ६ वटा आधारहरू लिइएका छन् । पहिलो परिष्कृत तथा मर्यादित जीवन, दोस्रो सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, तेस्रो स्वस्थ र सन्तुलित पर्यावरण, चौथो असल सुशासन, पाँचौँ सबल लोकतन्त्र र छैटौँ राष्ट्रिय एकता, सुरक्षा र सम्मान । आर्थिक विकास र सम्पन्नताले समृद्धि ल्याउन सक्छ तर यसैले मात्र सुख नल्याउन पनि सक्छ ।
समृद्धिका लागि उत्पादन र उत्पादकत्वको अभिवृद्धि आवश्यक पर्दछ जसका कारण आयमा वृद्धि ल्याउन सकिन्छ । उच्च आयका यथासम्भव समान वितरणले समाजमा सामञ्जस्यता ल्याउने गर्दछ । उच्च आयसँगै समाज सुरक्षित र सभ्य भएन भने बस्न लायक हुँदैन । उत्पादन र उत्पादकत्व वृद्धिसँगै आय बढाउन मानवीय र भौतिक पुँजी आवश्यक पर्दछ । यसका लागि मानवीय पुँजी र भौतिक पूर्वाधारमा लगानी बढाउनुपर्दछ ।
भौतिक पूर्वाधारका अतिरिक्त प्रविधि र उपकरणहरूमा पनि लगानी बढाउनुपर्ने हुन्छ । सक्षम जनशक्ति र प्रविधिको प्रयोगले नै उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुग्दछ । समृद्धिले सुख वा खुसी प्राप्त गर्ने आधार दिन्छ तर सुख र खुसी मनसँग जोडिएका विषय हुन् । पूर्वीय दर्शनमा भौतिकताले भन्दा आध्यात्मिकताले सुख र खुसी दिने पनि ठानिन्छ तापनि यसो भन्दैमा गरिबी, अभाव र दुःखमा मानिस सुखी र खुसी हुन पक्कै सक्दैन । मुख्यतया मानवीय
जीवनका आधारभूत भौतिक आवश्यकताहरू पूरा हुनुपर्दछ ।
त्योसँगै योजनाले परिलक्षित गरे झँै परिष्कृत र मर्यादित जीवनको आवश्यकता पर्दछ ता कि मानिसले समाजमा अपहेलित हुन नपरोस् र सम्मानित जीवन बाँच्न सकोस् । भौतिक रूपमा सम्पन्न भए पनि समाजमा मुद्दामामिला, झैझगडा भइरहे बस्नलायक नहुन सक्छ तर अन्याय भएकै अवस्थामा न्याय सजिलै पाउन सक्ने र कसैले अन्याय गर्न नसक्ने अवस्थाले सुख सिर्जना गर्न सक्छ ।
भौतिक उत्पादन र विकासले पर्यावरणमा नकारात्मक असर पार्दछ । विकसित देशहरूमा भौतिकताको चरम विकासले गर्दा अहिले जलवायु परिवर्तन भई थुप्रै विनाश पनि हुने गरेको छ । भौतिकतातर्फको बढी आसक्तिले गर्दा वातावरण प्रदूषित भई बासस्थानहरू बस्नलायक हुन छाडेका थुप्रै उदाहरणहरू पाइन्छन् । दूषित वातावरणले गर्दा मानिसहरूको स्वास्थ्य बिग्रिन जाँदा पक्कै पनि मानिसहरू सुखी र खुसी रहन सक्दैनन् । यसले अनावश्यक खर्च बढाउँछ भने मानिसको जीवनमा पीडा ल्याउँछ ।
साथै, सहज र गुणस्तरीय स्वास्थ्य सुविधाले मानवीय पुँजी निर्माणमा सहयोग पुर्याउँछ । अस्वस्थ र रोगी व्यक्ति आर्थिक गतिविधिमा सक्रिय भई लाग्न सक्दैन । समाजमा असल वातावरणका लागि असल शासनको पनि आवश्यकता पर्दछ । व्यक्तिगत फाइदाका लागि सत्ता र शक्तिको दुरूपयोगले नै समाजमा भेदभाव र असमानता सिर्जना गर्दछ । कानुनी शासन नहुने हो भने मानिसहरूले सुरक्षा महसुस गर्न सक्दैनन् । समाजमा सबै मानिसहरू असल आचरणका हुन्छन् भन्ने छैन । गलत आचरण भएका मानिसहरूले समाजको वातावरण खल्बल्याउन सक्छन् ।
तसर्थ, कानुनी राज्यको आवश्यकता पर्दछ ताकि खराब काम गर्ने मानिस दण्डित हुन पुगोस् । असल शासनका लागि लोकतन्त्र बलियो हुनुपर्दछ भन्ने मान्यता रहेको छ । खासगरी सत्ता र शक्तिको दुरूपयोग गरेर व्यक्तिगत फाइदा लिने अनि अरूमाथि अन्याय र अत्याचार गर्ने मानवीय प्रवृत्ति हाबी हुन्छ । विभिन्न देश र नेपालमै पनि विगतमा निरङ्कुश शासन हुँदा सत्ता र शक्तिमा निश्चित वर्ग र तप्काका मानिसहरूको मात्र पहुँच हुने हुँदा ठूलो तप्कालाई शोषण गर्ने सुनौलो अवसर मिलेको थियो ।
त्यसैले विश्वमा तुलनात्मक रूपमा लोकतान्त्रिक व्यवस्थालाई रुचाइन्छ । आवधिक रूपमा हुने निर्वाचनले गर्दा कुनै व्यक्ति वा समूहले जनतामाथि अन्याय र अत्याचार गरिरहन सक्दैन । मतदाताहरू असन्तुष्ट भएमा शासन गर्नका लागि पर्याप्त मत नदिन सक्छन् तर मतदानको व्यवस्थाले मात्र लोकतान्त्रिक प्रणाली सबल हुन्छ भन्ने नहुन पनि सक्छ । मतदाताहरूको चेतना, बलियो कानुनी व्यवस्था र शक्तिसन्तुलनको स्थितिले लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउने काममा सघाउँछ ।
मानिसहरू खुसी र सुखी हुनका लागि देशमा अमनचयन पनि कायम हुनुपर्दछ । देशभित्र मात्र होइन बाह्य देशहरूसँग पनि सन्तुलित सम्बन्धहरू कायम गर्दै झैँ झगडामुक्त भई सुरक्षित पनि हुनुपर्दछ । आन्तरिक द्वन्द्घ वा बाह्य युद्धले पक्कै पनि बस्नका लागि शान्तिपूर्ण वातावरण सिर्जना गर्न सक्दैन । यसरी समृद्ध नेपाल र सुखी नेपालीले बहुआयामिक पक्षहरूलाई समेटेको छ । सायद यो भौतिक र मानवीय विकासको उच्चतम अवस्था हो अनि अभाव र समस्यारहित अधिकतम मानसिक सन्तुष्टि प्राप्त हुने अवस्था हो ।
बढीभन्दा बढी भौतिक उपयोगतर्फ अग्रसर वर्तमान समाज र विश्वमा मानसिक सन्तुष्टिको पर्याप्तता कहाँ गएर पूरा हुन्छ भनेर भन्न नसकिने अवस्था पनि छ । तथापि कम्तीमा जीवन बाँच्नका लागि देशका सबै नागरिकहरूका लागि आर्थिक अभावरहित अवस्था सिर्जना हुन सकेमा पनि नेपालले लिएको दीर्घकालीन सोच हासिल गर्न सहयोग पुग्ने देखिन्छ । बैंकिङ क्षेत्रले कम्तीमा आर्थिक अभावका अवस्थाबाट मुक्ति दिन सहयोग पु¥याउन सक्छ । यसमा
बैंकिङ क्षेत्रले कसरी सहयोग पु¥याउन सक्छ भन्ने सबालबारे तल चर्चा गरिएको छ ।
समृद्धि र सुखको वर्तमान अवस्था
पन्ध्रौँ योजनाले लिएको दीर्घकालीन सोच वास्तवमा अति उच्चतम र आदर्शतम अवस्था हो । कतिपय अवस्थामा तथ्याङ्कीय सूचकमा यो मापन गर्न पनि सकिँदैन । नयाँ राजनीतिक परिवेशमा दीर्घकालीन महत्वका साथ तर्जुमा गरिएको पन्ध्रौँ योजना कार्यान्वयन सुरु भएकै आर्थिक वर्ष २०७६।७७ मा कोरोना महामारी आयो जसले गर्दा उक्त आर्थिक वर्षको आर्थिक वृद्धिदर २.४ प्रतिशतले नकारात्मक रह्यो । कोरोनाका प्रभावमा तीन वर्षसम्म कुनै न कुनै रूपमा रह्यो ।
कोभिड १९ को प्रभावबाट आर्थिक क्षेत्रलाई बचाउन लिएका लचक नीतिहरूले गर्दा दुई वर्षपछि बाह्य क्षेत्रमा दबाब सिर्जना गर्यो जसका लागि नीतिगत कडाइ गर्नुपर्यो । दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न खोजेको पन्ध्रौँ योजनाका अवधिमा आर्थिक वृद्धिदर २.८ प्रतिशतमात्र रहन गयो । तापनि प्रति व्यक्ति आम्दानी आधार वर्ष २०७५।७६ मा १२१६ अमेरिकी डलर रहेकामा अन्तिम वर्ष २०८०।८१ मा आइपुग्दा १९.७ प्रतिशतले बढेर १४५६ अमेरिकी डलर पुग्यो तापनि तुलनात्मक रूपमा यो आय दक्षिण एसियाकै कममध्येमा पर्दछ ।
आर्थिक वर्ष २०७९/८० मा सम्पन्न नेपाल जीवनस्तर सर्वेक्षण चौथोका अनुसार गरिबीको मापनलाई नेपाल जीवनस्तर सर्वेक्षण तेस्रो (२०६७।६८) कै आधार मान्ने हो भने २०७९/८० मा गरिबीको दर ३.५ प्रतिशत झरेको छ । तर १२ वर्षका अवधिमा उपभोगको संरचनामा व्यापक परिवर्तन आएको छ, मूल्यवृद्धि भएको छ र जीवनस्तरमा केही सुधार देखिएको छ । त्यसैले नयाँ गरिबीको रेखाका रूपमा रु. ७२९०८ कायम गर्दा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.३ प्रतिशत रहेको पाइएको छ ।
यसरी गरिबी घट्दै गए पनि अझै उच्च रहेको छ । यसले करिब ६० लाख जनसङ्ख्या गरिबीका अवस्थामा रहेको देखिन्छ । गरिबीका अवस्थामा पक्कै पनि समृद्धि र सुख प्राप्त नहुन सक्छ । समृद्धिका केही अन्य सूचकहरूलाई हेर्दा पन्ध्रौँ योजनाले लक्ष्य गरेबमोजिम नभए पनि सुधारोन्मुख चाहिँ रहेका छन् । आर्थिक वर्ष २०७५।७६ मा १२५० मे.वा भएको विद्युत् उत्पादन २०८०।८१ मा साढे दुई गुणा जतिले बढेर करिब ३२४३ मे.वा. रहेको छ । सो अवधिमा विद्युत्मा पहुँच प्राप्त जनसङ्ख्या ८८ प्रतिशतबाट बढेर ९८ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०८०।८१ देखि नेपालले आयातभन्दा बढी विद्युत् निर्यात गर्न सकेको छ । राष्ट्रिय र प्रादेशिक लोकमार्ग आर्थिक वर्ष २०७५।७६ मा ७८९० किमी रहेकामा झन्डै दोब्बरले बढेर १४७५५ किमी पुगेको छ । करिब २५ हजार किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ भने ७० प्रतिशत जनसङ्ख्यामा फोर जी इन्टरनेट सेवा पुगेको छ । आर्थिक वर्ष २०७५।७६ मा नेपालीहरूको औसत आयु ७०.५ वर्ष रहेकामा २०८०।८१ मा ७१.३ वर्ष पुगेको छ ।
साक्षरता दर (१५ वर्षमाथि) उक्त अवधिमा ५८ प्रतिशतबाट बढेर ७१.२ प्रतिशत पुगेको छ । आधारभूत खानेपानी सेवा पुगेको जनसङ्ख्या ८९ प्रतिशतबाट बढेर ९६.४ प्रतिशत र आधारभूत सरसफाइ ९५.५ प्रतिशत जनङ्ख्यामा पुगेको छ । भौतिक प्रगति भए पनि आन्तरिक रोजगारी पर्याप्त सिर्जना हुन नसक्दा कृषि र निर्माणमा सृजित रोजगारीमा युवाहरूले रुचि नराख्दा लाखौँको सङ्ख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीको आम्दानीले गरिबी घटाउन अनि शिक्षा र स्वास्थ्य सुविधा प्राप्त गर्न सफल भए पनि कति परिवारहरू कति सुखी र खुसी छन् भन्ने कुरा आउन सक्छ ।कोभिडपछि अलि बढी निराशा बढेको भने अवश्यै हो ।
सञ्चार माध्यमको विकास र विस्तारले गर्दा सूचनाको सहज पहुँचसँगै विकसित देशहरूका तुलनामा नेपालको विकासको अन्तरलाई लिएर युवाहरू बढी असन्तुष्ट भएको देखिन्छ । समृद्धिका लागि उल्लेख्य परिश्रम, मेहनत, त्याग, लगनशीलता, क्षमता अभिवृद्धि र उद्यमशीलता चाहिने कुरालाई भन्ने युवाहरूले
नजरअन्दाज गरेको देखिन्छ । समृद्धि र सुख हासिल गर्ने सबालमा बैंकिङ क्षेत्रको भूमिका बैंकिङ क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा रहेको हुन्छ ।
नेपालमा आर्थिक र वित्तीय उदारीकरणपश्चात् बैंकिङ क्षेत्र तीव्र रूपमा विस्तार हुन पुगेको छ । नेपालमा आधुनिक बैंकिङ क्षेत्रको विकास वि.स. १९९४ मा नेपाल बैंक लिमिटेड स्थापना भएपछि भएको पाइन्छ । यसरी नेपालमा बैंकिङ क्षेत्रको सुरुवात राणा शासनदेखि नै भएको थियो । नेपालको बैंकिङ क्षेत्रले विभिन्न राजनीतिक व्यवस्था र कालखण्ड पार गर्दै आएको छ । पछिल्लो समय विभिन्न खालका राजनीतिक परिवर्तनपश्चात् मुलुक अहिले संघीय गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेसँगै आर्थिक समृद्धिका मुद्दाले प्राथमिकता पाउन थालेको छ ।
माथि उल्लेख गरे झैँ नेपाल अहिले समृद्धि र सुखप्राप्तितर्फ अग्रसर रहेको छ । यस अवस्थामा नेपालको बैंकिङ क्षेत्रले उक्त सोच हासिल गर्नेतर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ र गर्नुपर्ने देखिन्छ । बैंकिङ क्षेत्रको महत्वपूर्ण कार्य भनेको वित्तीय मध्यस्थता गर्नु हो । बचतकर्ताहरूबाट बचत सङ्कलन गरेर लगानीकर्ताहरूका लागि वित्तीय साधन उपलब्ध गराउनु नै वित्तीय मध्यस्थताको काम हो । आफूसँग पर्याप्त बचत नभए पनि बैंकिङ क्षेत्रबाट ऋण लिएर आर्थिक गतिविधि बढाउनका लागि लगानी गर्न सकिन्छ । धेरै बचतकर्ताहरूबाट सानो सानो रकम सङ्कलन गरेर बैंकिङ क्षेत्रले ठूलो र जोखिमयुक्त लगानीका लागि वित्तीय साधन उपलब्ध गराउँछ ।
वित्तीय मध्यस्थताको कामले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण हुन सघाउँछ । पुँजी निर्माणले नै आर्थिक वृद्धि बढाउँछ । आर्थिक वृद्धि भएमा मात्र प्रति व्यक्ति आम्दानी बढ्ने गर्दछ । बचत परिचालन र लगानी गर्दै हुने पुँजी निर्माणले बढाउने आर्थिक वृद्धिले बचत तथा लगानीकर्ता दुवैलाई फाइदा पुर्याउँछ । बचतकर्ता ब्याजका रूपमा आम्दानी प्राप्त गर्दछ भने लगानीकर्ताले लगानी गरेर वस्तु तथा सेवाको थप उत्पादन गरेर कमाउन सक्छ । आम्दानी बढेमा मात्र मानिस समृद्ध र सुखी बन्न सक्छ ।
बढ्दो आर्थिक गतिविधिले गर्दा सरकारले बढी राजस्व सङ्कलन गर्न सक्छ जसले गर्दा सरकारले भौतिक पूर्वाधारको निर्माण र शान्ति सुरक्षा कायम गर्न सक्छ । बैंकिङ क्षेत्र अर्को महत्वपूर्ण काम भनेको भुक्तानी प्रणाली व्यवस्थित गर्नु हो । अर्थतन्त्रका प्रायः सबै आर्थिक क्रियाकलापहरूको भुक्तानीका लागि कुनै न कुनै रूपमा बैंकिङ प्रणाली प्रयोगमा आउँछ । बैंकिङ प्रणालीको केन्द्रीय संस्थाका रूपमा रहेको केन्द्रीय बैंकले छाप्ने मुद्राले आधारभूतरूपमा भुक्तानी प्रणालीको काम गरेको हुन्छ भने बैंकिङ प्रणालीले भुक्तानीका लागि चेक, प्रतीत पत्र जस्ता अन्य उपकरणहरू प्रयोगमा ल्याएका छन् । सूचना प्रविधिको विकासले गर्दा अहिले भुक्तानीका लागि डिजिटल बैंकिङ प्रयोग बढ्दो छ ।
भुक्तानी प्रणालीको विकासले आर्थिक गतिविधिमा विशिष्टता हासिल गर्न सहयोग पुर्याउँछ । वस्तु विनिमयमा जस्तो वस्तु तथा सेवाको विनिमयका लागि हुने जटिलता आधुनिक भुक्तानी प्रणालीमा हुँदैन। भुक्तानी प्रणालीको सहजताले गर्दा विगतमा जस्तो आफूलाई चाहिने अधिकांश वस्तु आफै उत्पादन गर्नुपर्ने अवस्था रहेको छैन । आर्थिक क्रियाकलापको कुनै क्षेत्रमा विशिष्टता हासिल गर्न भुक्तानी प्रणालीले सहयोग पुर्याउने हुँदा अर्थतन्त्रमा धेरै र विभिन्न प्रकारका वस्तु तथा सेवा उत्पादन र उपभोग गर्न सकिने हुन्छ । भुक्तानी प्रणालीको उपलब्धताले गर्दा
विभिन्न खालका बजारहरूको विकास हुन्छ ।
यी सबै कुराले आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने हुँदा मानिसहरूको आम्दानी बढ्न पुग्छ । सहज ढङ्गले आर्थिक क्रियाकलाप गरेर आम्दानी गर्दै आफ्ना आवश्यकताहरू पूरा गर्न सकिने हुँदा मानिस सुखी र खुसी हुन सक्छ । मानिसहरूले बैंकिङ क्षेत्रबाट आर्थिक गतिविधिमा लगानी गर्न मात्र ऋण लिँदैनन् । आफूसँग पर्याप्त आम्दानी तथा बचत नभएका अवस्थामा मानिस ऋण लिएर शिक्षा र स्वास्थ्य उपचारमा पनि खर्च गर्न सक्छ । शिक्षा र स्वास्थ्यमा गरिने खर्च मानवीय पुँजीले निर्माणमा सहयोग पुर्याउँछ ।
शिक्षित तर त्यसमा पनि प्राविधिक शिक्षा हासिल गर्दा मानिसको क्षमता र उत्पादकत्व बढ्दछ । क्षमतावान् व्यक्तिले नै बजारमा उच्च आय हुने रोजगारी पाउन सक्छ भने विशिष्टीकृत ढङ्गले आर्थिक क्रियाकलापहरू गर्न सक्छ । परम्परागत कृषि तथा साना कुटीर उद्योगबाहेक आधुनिक प्रकृतिका आर्थिक गतिविधि गर्न शिक्षा नभई हुँदैन । शिक्षा हासिल गर्न पनि खर्च लाग्ने हुन्छ । बैंकिङ क्षेत्रले प्रदान गर्ने ऋणले शिक्षा हासिल गर्न लाग्ने खर्चको जोहो हुन सक्छ ।
त्यस्तै, आफूसँग बचत नभएका अवस्थामा स्वास्थ्य उपचारका लागि प्राप्त हुने ऋणले स्वास्थ्य सेवा प्राप्त गरी व्यक्ति पुनः आर्थिक गतिविधिमा सक्रिय हुन सक्छ । बैंकिङ क्षेत्रले आफ्नो कार्यले गर्दा समृद्धिका माथि उल्लिखित चार आधारमध्ये तेस्रो आधारले उच्च र दिगो उत्पादन तथा उत्पादकत्व बढाउन प्रत्यक्ष रूपमा सहयोग पुर्याएको हुन्छ । आर्थिक गतिविधिलाई आधुनिक र ठूलो आकारमा लैजान बैंकिङ क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ । सानादेखि ठूला उद्योगधन्धा र व्यवसायहरू गर्न बैंकिङ क्षेत्रको कर्जाले ठूलो सहयोग पुर्याइरहेको छ ।
पछिल्लो समय नेपालमा जलविद्युत् आयोजनाहरूको विस्तार तीव्र रूपमा भइरहेको छ । यिनीहरूको विकास र विस्तारका लागि बैंकिङ क्षेत्रले ठूलो भूमिका खेलेको छ । माथि चर्चा गरे झैँ बैंकिङ क्षेत्रले समृद्धिको दोस्रो आधार मानवपुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग गर्न पनि सहयोग पुर्याउँछ । त्यस्तै, समृद्धिको चौथो आधार उच्च र समतामूलक राष्ट्रिय आय हासिल गर्न आंशिक रूपमा सहयोग पुर्याउँछ । आर्थिक गतिविधिको विस्तार र विशिष्टतासँगै आय उच्च हुन सक्छ तर बैंकिङ क्षेत्र आफैले आय समतामूलक बनाउन भने सक्दैन ।
समृद्धिको पहिलो आधार सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तरआबद्धता हासिल गर्न पनि अप्रत्यक्ष रूपमा मात्र सहयोग पुर्याउँछ । बैंकिङ क्षेत्रले आर्थिक गतिविधि बढाउँदा सरकारले राजस्व सङ्कलन गरी पूर्वाधार निर्माणमा खर्च गर्न सक्छ । बैंकिङ क्षेत्रले सुखका ६ आधारमध्ये पहिलो परिष्कृत तथा मर्यादित जीवन र तेस्रो स्वस्थ र सन्तुलित पर्यावरण हासिल गर्न सहयोग पुर्याउन सक्छ । आर्थिक गतिविधिहरू बढाई आम्दानी बढ्न पुग्दा मानिसहरूको जीवन परिष्कृत र मर्यादित बन्न सक्छ ।
आय बढ्दा नै मानिसको जीवन मर्यादित र सम्मानित हुन पुग्छ । अझ देश धनी बन्न सके विश्वमा नै त्यसको इज्जत बढ्ने गरेको पाइन्छ । त्यस्तै, सुखको तेस्रो आधार हासिल गर्न पनि बैंकिङ क्षेत्रले भूमिका खेल्न सक्छ । बैंकिङ क्षेत्रले कर्जा लगानी गर्दा वातावरण नबिगार्ने र बचाउन सहयोग पुर्याउने परियोजना तथा व्यवसायलाई प्राथमिकता राख्न सक्छ । बैंकिङ क्षेत्रले ऋण नदिए वातावरण प्रदूषण गराउने उद्योगधन्धा तथा व्यवसाय सञ्चालनमा नआउन सक्छन् । बैंकिङ क्षेत्रले कर्जा लगानी गर्दा वातावरणीय पक्षलाई हेर्नुपर्ने गरी नियामकीय व्यवस्थाहरू समेत भएका छन् । समृद्धिका लागि बैंकिङ क्षेत्रले सशक्त भूमिका खेल्न सक्ने भए पनि समग्रमा हेर्दा नेपालमा जुन ढङ्गले बैंकिङ क्षेत्रका विकास र विस्तार भएको छ सोअनुरूप आर्थिक वृद्धिदर भने बढ्न सकेको छैन ।
आर्थिक वृद्धिदर कम हुँदा अपेक्षा गरेअनुसार आर्थिक समृद्धि हासिल हुन सकेको छैन । पछिल्लो १० वर्षलाई हेर्दा मात्र पनि औसत मुद्रास्फीति समायोजित निजी क्षेत्रतर्फ प्रवाहित औसत कर्जा वृद्धिदर १०.६ प्रतिशत हुँदा आर्थिक वृद्धिदर भने ४.२ प्रतिशत मात्र रहेको छ । यसले नेपालमा बैंकिङ क्षेत्रको कर्जा वृद्धि उत्पादन र उत्पादकत्व बढाउनतर्फ त्यति केन्द्रित हुन सकेको छैन । अझै पनि एकातर्फ कर्जाको ठूलो हिस्सा सीमित ऋणीहरूमा केन्द्रित छ भने अर्कातर्फ प्रवाहित कर्जा धेरै उपभोग र आयाततर्फ प्रवाहित छ । कर्जा प्रवाहले उत्पादन बढाउने भन्दा घरजग्गा जस्ता सम्पत्तिको मूल्य बढाउन सहयोग पुर्याएको छ ।
घरजग्गाका मूल्य उच्च दरले बढेकाले सामान्य आम्दानी हुनेले सहरी क्षेत्रमा आधारभूत वासस्थानका लागि पनि घरजग्गाको व्यवस्था गर्न गाह्रो स्थिति रहेको
छ । कर्जा प्रवाहअनुरूप आर्थिक वृद्धिदर बढ्न नसक्नुमा थुप्रै कारणहरू रहेका छन् । पहिलो त सोअनुरूप कर्जा प्रवाह भएको छैन, दोस्रो सोअनुरूप कर्जा प्रवाहका लागि आवश्यक वातावरण रहेको छैन । बढ्दो उपभोगमुखी संस्कृति, उच्च लागत अर्थतन्त्र, भूपरिवेष्ठितता, छिमेकी देशहरूसँग कृषि र औद्योगिक उत्पादनमा प्रतिस्पर्धा गर्न कठिनाइ आदिले गर्दा कर्जाको वृद्धिदर र आर्थिक वृद्धिबीच तादात्म्य मिल्न सकेको छैन ।
कर्जा प्रवाहको दरअनुरूप उत्पादन, उत्पादकत्व र रोजगारी बढ्न नसक्दा धेरै युवाहरू वैदेशिक रोजगारीमा गएका छन् । सशस्त्र द्वन्द्वका समयमा बाध्यताले सुरु भएको वैदेशिक रोजगारीले अहिले कतिपय अवस्थामा संस्कृतिको रूप धारण गरेको छ । वैदेशिक रोजगारीका थुप्रै सकारात्मक पक्ष भए पनि समाजमा उच्च बसाइँसराइ, पारिवारिक बिछोड, काम कम गर्ने र उपभोग गर्ने संस्कृंति बढाउने सबालमा वैदेशिक रोजगारीले भूमिका खेलेको छ । वैदेशिक रोजगारीले उपभोग गर्ने क्षमता बढाएर घरपरिवारमा केही हदसम्म सुख त ल्याएको छ तर पारिवारिक विखण्डन, बिछोड, बेमेल, असमझदारी बढाउन सहयोग पुर्याएको छ जसले केही दुःख पनि सिर्जना गरेको छ ।
कर्जाको सही प्रयोगले आर्थिक वृद्धिसँगै समृद्धि ल्याउन सहयोग पुर्याउन सक्छ तर कर्जाको दुरूपयोग वा कर्जा व्यवस्थापन सही ढङ्गले नभएमा भने कर्जा भुक्तानी समयमा गर्न नसकेर कालो सूचीमा पर्न सकिने र घरपरिवार व्यवस्थापन कठिन भई सुखको अभिलाषामा दुःख निम्तिने पनि देखिएको छ । कर्जा लिएर सही ढङ्गले प्रयोग गर्न सक्दा कर्जा भुक्तानीको बोझ सम्हाल्न नसकेका थुप्रै उदाहरण समाजमा पाउन सकिन्छ ।
बैंकिङ क्षेत्रले पुँजी निर्माणमा सहयोग पुर्याउँदै आर्थिक समृद्धिलाई सहयोग पुर्याउँदै गर्दा बैंकिङ क्षेत्र आफै पनि सबल र सक्षम हुनुपर्ने हुन्छ । बैंकिङ संस्थाले न्यूनतमको नाफा कमाई आफै पनि सबल हुन सक्नुपर्छ । बैंकिङ क्षेत्रमा सबल र सक्षम लगानीकर्ता आकर्षित भई जोखिम व्यवस्थापन गर्ने क्षमता राख्नुपर्दछ । पछिल्लो समय बैंकिङ क्षेत्रको नाफा कम भइरहेको, निष्कृय कर्जा अनुपात र गैरबैंकिङ सम्पत्ति बढिरहेको अवस्था छ । बैंकिङ क्षेत्र अस्थिर
हुन गएमा भने आर्थिक समृद्धि र सुख दुवै नकारात्मक रूपमा प्रभावित हुने हुन्छ ।
निष्कर्ष
पन्ध्रौँ योजनादेखि नेपालले दीर्घकालीन सोचका रूपमा समृद्ध नेपाल र सुखी नेपालीलाई अङ्गीकार गरेको छ । उक्त सोच हासिल गर्न अर्थतन्त्रमा सबै क्षेत्रहरूले आफ्ना ठाउँबाट लाग्नुपर्ने आवश्यकता छ । यस सन्दर्भमा नेपाली अर्थतन्त्रमा सबैभन्दा बढी विकसित र क्षमतावान् क्षेत्रका रूपमा बैंकिङ क्षेत्र रहेको छ । यसले गर्ने कार्यले अर्थतन्त्रमा समृद्धि हासिल गर्न सहयोग पु¥याउन सक्छ र पु¥याउनुपर्दछ । हालसम्म बैंकिङ क्षेत्रले आफ्ना कार्यहरूलाई विस्तार र विकसित गर्दै नेपाली अर्थतन्त्रलाई आधुनिक बनाउन सहयोग पु¥याउँदै आए पनि यो क्षेत्र विस्तार भए झैँ समग्र अर्थतन्त्रको विकास
र विस्तार हुन सकेको छैन ।
वास्तविक अर्थतन्त्रको विकास र विस्तार नभएसम्म बैंकिङ क्षेत्र दिगो बन्न सक्दैन । हुन त समृद्ध नेपाल र सुखी नेपालीको सोच हासिल गर्न बैंकिङ क्षेत्र मात्रैले गर्न सक्दैन । अन्य क्षेत्रहरूको पनि भूमिका आवश्यक पर्छ । लगानीयोग्य वातावरण, असल शासन, शान्ति सुरक्षा, क्षमतावान् जनशक्ति, भौतिक पूर्वाधारको उपलब्धता पनि आवश्यक पर्छ तापनि बैंकिङ क्षेत्रको विस्तार र क्षमता भएबमोजिम अझ बढी यसको भूमिका बढाउनु आवश्यक छ । यसको भूमिका बढाउन हालसम्मको भूमिका र योगदानको मूल्याङ्कन र आत्मसमीक्षा गर्दै अझ नयाँ ढङ्ग र रणनीतिअनुरूप आर्थिक समृद्धि बढाउन बैंकिङ क्षेत्रले सहयोग पुर् याउनुपर्दछ ।
उद्यमशीलता विकास गर्दै व्यवसायी एवम् ग्राहकमैत्री ढंगले बैंकिङ सेवा दिएर आन्तरिक अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने गरीे बैंकिङ क्षेत्र लाग्नुपर्ने आवश्यकता रहेको छ । अर्थतन्त्रको वर्तमान अवस्था र बदलिँदो परिवेशमा परम्परागत शैलीको बचत परिचालन र कर्जा प्रवाहका साथै भुक्तानी प्रणाली सञ्चालन गर्न मात्र बैंकिङ क्षेत्र सीमित हुनुहुँदैन । अर्थतन्त्रका लाभदायक क्षेत्रको पहिचानसँगै व्यवसाय प्रवद्र्धनमा पनि योगदान गर्ने, बढ्दो जोखिमको कुशलतापूर्वक व्यवस्थापन गर्ने, कार्यकुशलता बढाई निक्षेप र कर्जाको ब्याजदर घटाउँदै जाने गरी रणनीतिक ढङ्गले बैंकिङ क्षेत्र लाग्नुपर्ने देखिन्छ ।
बैंकिङ क्षेत्रको बढ्दो विस्तारसँगै बढ्दै गएको जोखिम निवारणका लागि केन्द्रीय बैकलगायत सम्पूर्ण बैंकिङ क्षेत्रले ध्यान दिनुपर्ने हुन्छ । अन्यथा वित्तीय अस्थिरता सिर्जना भई समृद्धि र सुख दुबै प्रभावित हुन सक्छ । आर्थिक समृद्धिमा बैंकिङ क्षेत्रको भूमिकालाई मध्यनजर गर्दै सरकारले करमा सहुलियत दिनुका अतिरिक्त न्यूनतम नाफा कमाउने वातावरण सिर्जना गरी यस क्षेत्रको स्थिरता कायम गर्नुपर्दछ । हुन त आर्थिक समृद्धिले सुख अनुभूति गर्ने आधार दिन्छ तर कति आम्दानी र भौतिक सुविधापछि मानिस पूर्ण सन्तुष्ट भई सुखानुभूति गर्छ भनेर भन्न कठिन हुन्छ ।
एकपछि अर्को गर्दै अनेक भौतिक आंकाङ्क्षाहरू सिर्जना भइरहन्छन् । यस्तो अवस्थामा वास्तवमा हाम्रो पूर्वीय दर्शनले भने झैँ “सन्तोषम् परम् सुखम्” लाई आधार बनायो भने मात्र पूर्ण सुखानुभूति हुन सक्छ । यसो भन्दै गर्दा पनि न्यूनतम तहको भौतिक आवश्यकता पूरा हुने गरी आर्थिक समृद्धि हासिल गर्नु जरुरी छ ।
नेपाल बैंक लिमिटेड, वार्षिकोत्सव विशेषांक, २०८१ बाट )