शारदा कुमारी खत्री
सिईओ, उपकार लघुवित्त वित्तीय संस्था
अहिलेको परिस्थितिमा गाउँ–गाउँमा गएर लघुवित्तलाई काम गर्न अप्ठ्यारो छ । हामीले शुरु गरेका लघुवित्त र अहिलेको लघुवित्तमा धेरै फरक भएको छ । लघुवित्तले समुहमा प्रवेश गराउँछौं । शुरुमा ११ दिन, त्यसपछि ७ दिन पूर्व समूह प्रशिक्षण ‘पीजिटी’ सञ्चालन गछौं ।
त्यो पीजिटी पनि एक किसिमको वित्तीय साक्षरता नै हो । त्यहाँ हामीले लघुवित्तका नीति नियम, बचतमा दिने ब्याजदर, कर्जामा लिने ब्याजदर, भुक्तानी अवधिका कुराहरुको ज्ञान दिन्छौं । जतिखेर महिलाहरुले बचत समेत के हो ?, भन्ने नबुझेको अवस्थामा लघुवित्तले महिलाहरुलाई समुहमा आवद्ध गरायो ।
दश रुपैयाँ बचतबाट बचत शुरु गरेका महिला दिदी बहिनीहरुको एक दुई लाख रुपैयाँ खातामा छ । त्यो उहाँहरुको पुँजी निर्माण भएको हो । उहाँहरुले पैसाको महत्व बुझ्नुभयो । बचत गर्ने बानी पनि बस्यो । त्यो काम लघुवित्तले गरेको छ ।
त्यसकारण त्यो बेलामा नाम लेख्न नसक्ने दिदी बहिनीहरुलाई हात समाएर साक्षर बनाउँदै वित्तीय साक्षरता दिने काम पनि लघुवित्तले गर्यो । अब लघुवित्तले वित्तीय रुपमा र नाम लेख्न, बचत गर्न मात्र नभएर उद्यमशिलता पनि सँगसँगै लैजानुपर्छ । अनि मात्रै लघुवित्तको प्रवद्र्धन हुन्छ । लघुवित्तको पनि भविष्य रहन्छ । नेपालका अधिकांश ग्रामीण क्षेत्रमा बस्ने कृषिमा आधारित रहेर जीविकोपार्जन गर्ने मान्छेहरुका निमित्त लघुवित्तले उद्यमशिलतामा पहल गर्नुपर्छ । यसमा लघुवित्तले मात्रै सबै गर्न सक्छ भन्ने पनि होइन् ।
उद्यमशिलता अत्यन्त महत्वपूर्ण कुरा हो । एउटा पक्षले मात्र गरेर सफल हुन सक्दैन । लघु उद्यमशिलता गर्नका निमित्त स्वयं व्यक्तिमा आत्मविश्वास, उर्जा, हिम्मत हुनुपर्छ ।
अनि मात्र उद्यमशिलताको शुरुवात हुन्छ । त्यसमा चाहिने वित्तीय आवश्यकताको परिपूर्ति, वित्तीय साक्षरता, योजना, बजेटिङ, उत्पादनलाई बजारसम्म जोड्ने काममा लघुवित्त वित्तीय संस्थाले भूमिका निर्वाह गर्न सक्छन् । सँगसँगै उद्यमशीलतालाई प्रवद्र्धन गर्न लघुवित्त र उद्यमीले मात्र नभएर हाम्रा स्थानीय तहहरु, नेपाल सरकारका विभिन्न कार्यक्रमहरु छन् । त्यसलाई एउटै ठाउँमा, एउटै डालोमा हालेर अगाडि बढाउन सक्यौं भने उद्यमशिलता अगाडि बढ्न सक्छ ।
उद्यमशीलता एउटा नाजुक कुरा हो । एउटा महिलाले बच्चा जन्माउनुभन्दा पहिला बच्चा कसरी जन्माउने, कहाँ जन्माउने, त्यसको सुरक्षाको निमित्त के–के खोप लगाउने ?, भनेर योजना बनाउँछिन् । व्यवसायमा पनि त्यस्तै कुरा हो, व्यवसाय कहाँ गर्ने, के उत्पादन गर्ने,त्यसका लागि म सँग के स्किल छ ?, छैन भने त्यो स्किल कहाँबाट हासिल गर्ने, त्यसलाई कुन समयमा बजारमा पुर्याउने, त्यसमा आइपर्ने जोखिमहरु कहाँ–कहाँ रोकथाम गर्ने र अथवा ट्रान्सफर गर्ने भन्ने योजना बनाउन सकियो भने मात्रै उद्यमशिलता सफल हुन सक्छ ।
‘प्रत्येक वर्षको जेठ १५ आयो भने सरकारले कस्तो बजेट ल्याउँछ भनेर सुन्छौं, हेर्छौं । तर आफ्नो जिन्दगी चलाउने बजेट भने हामीले कसैले बनाएनौं ’
पछिल्लो समय धेरै मान्छेहरु कृषिमा आकर्षित भएको पनि देखियो । जसले गोबर फाल्न सिकेको छैन, जसले गाई दुहुन सिकेको छैन । उसले बैंकबाट ऋण ल्याएर गाईपालन व्यवसाय गर्यो भने त्यो सफल हुन सक्दैन । चाहे त्यो कपडाको कुरा होस्, चाहे जुत्ताको कुरा होस् । चाहे औषधि जडिबुटीको कुरा होस् । त्यस सम्बन्धमा तपाईलाई ज्ञान हुन जरुरी छ ।
लघुवित्तका सदस्यहरुले उद्यम गर्दा ठूलो ऋण लिएर व्यवसाय शुरु गर्नुस् भन्दिन । किनकी प्रतिस्पर्धामा उत्रिन त्यतिकै गाह्रो छ । सानो व्यवसायबाट शुरु गर्यौं भने हाम्रो उद्यमशिलता सफल हुन सक्छ ।
सानो व्यवसायबाट शुरु गर्दै जाँदा त्यसका अप्ठ्याराहरु, जोखिमहरु र स्किलहरु विकास हुन्छ । तपाईंसँग आफैसँग पनि पुँजी निर्माण हुन्छ । पाँच वटा गाई किन्नुभयो भने ५ लाख रुपैयाँ लाग्न सक्छ । तर एउटा गाईबाट शुरु गर्दै जानुभयो भने त्यसले बाच्छी उत्पादन गर्दछ । बाच्छीले माउ भएर फेरि ब्यायो । दुध उत्पादन गर्नुभयो भने बल्ल तपाईं नाफामा जान सक्नुहुनेछ । पछिल्लो समयमा पैसा, अनुदान आउँछ भनेर धेरै मान्छेले उद्यम गरेको पनि देखियो । गोठमा दाम्लो पनि छैन् । गाई पनि छैन । त्यो स्थिति देखिएको छ ।
यसमा आत्तिएर हुँदैन । हामीले नगरेपनि हुँदैन । हाम्रा छोराछोरी, श्रीमान विदेशमा पठाउने, त्यहाँबाट ल्याएको पैसाले तपाईं हामीले स्कुटी चढ्ने, त्यो स्कुटी बाहिरबाट आउने, त्यसमा हाल्ने तेल पनि बाहिरबाट आउने, त्यसको पार्टपूर्जा पनि बाहिरबाट आउने, त्यसलाई मर्मत गर्ने मान्छे समेत बाहिरबाट आउँदा हाम्रो अर्थतन्त्र के हुन्छ ?, हामीले बाहिरबाट पसिना बगाएर कमाएको पैसा सबै उतै पठाउँदा हामी धनि हुन नसकेको अवस्था छ । त्यसकारण हाम्रो अस्तित्व माटोसँग जोडिएको छ । माटोसँग, वनसँग सम्बन्धित रहेका उद्यम व्यवसाय गर्न सकियो भने हामी सफल हुन्छौं ।
पारिवारिक बजेट बनाऔं
आजका दिनमा हामीले पारिवारिक बजेट बनाउँदैनौं । प्रत्येक वर्षको जेठ १५ आयो भने सरकारले कस्तो बजेट ल्याउँछ भनेर सुन्छौं, हेर्छौं । निजामति कर्मचारी हो भने तलब बढ्छ कि भनेर हेर्छौं । वृद्धाभक्ता बढ्छ कि बढ्दैन भनेर हामी कान थापेर सुन्छौं । तर आफ्नो जिन्दगी चलाउने बजेट हामीले कसैले बनाउँदैनौं ।
पहिला हामीले आफ्नो बजेट बनाऔं । मेरो आम्दानी कति हो ?, मेरो खर्च कति हो ?,म कतातिर गइ रहेको छु, तराजु तौलिएर मात्रै अगाडि बढ्न म आग्रह गर्छु । हाम्रो बच्चालाई अब एम फर मंकी होइन् कि एम फर मनि पढाउने बेला भयो ।
हाम्रो सानो बच्चालाई एम फर मनि भनेर सिकाउन सक्यौं, तिमिले खाने टिफिन, तिमिहरुले पाउने दशैंको दक्षिणाबाट यसरी खुतु्रकेमा जम्मा गर्दै गयौं भने त्यसबाट यो चिज किन्न सकिन्छ भनेर सिकाउन सक्यौं भने बच्चाहरु पैसा कहाँ कमाउन सकिन्छ भन्ने सिक्छन् । यसबाट भोलीका दिनमा विदेशमा पैसाको रुख फलेको छ कि भनेर दौडिने स्थिति हुँदैन, यहि नै उद्यमी बन्नेछन् ।
हामीले किनारा पसल गरेका छौं भने त्यहाँनिर सानो फ्रिजमा सानो कोलड्रिङ्स बच्चाबच्चीको लागि राख्दिने हो कि ?, यदी खेतिपाती गर्ने किसान हुनुहुन्छ भने दुई वटा फर्सी बेच्न लगाएर त्यसबाट पैसा आर्जन गर्न लगाएर खुत्रुकेमा बचत गर्न सिकाउने हो कि ?, त्यो पैसा उसको आइपीओमा भर्दिने हो ?, अथवा अन्य ठाउँमा लगानी गर्ने हो ?, भविष्यमा तिमिहरु यो कम्पनीको मालिक हुन्छौं भनेर हाम्रो बच्चालाई सिकाउन जरुरी छ । यो स्कुल–स्कुलमा सिकाउन जरुरी छ ।
बचतको योजना बनाऊ
हामी सबैले हाम्रो आन्दानी कति हो ?, त्यसबाट खर्च कटाएर बचत गर्छु भनेर नसोचौं । पहिला हामीले २० प्रतिशतमा आन्दानी छुट्याऊ । बचेको पैसाले खर्च गरौं । बचेको पैसाले लगानी गरौं । हामीले ऋण लिएर मात्र घर बनाउने होइन् । हामी पाँच वर्षपछि घर बनाउँदै छौं भने आजैदेखि बचतको योजना बनाऊ । मेरो छोराछोरी पाँच वर्षपछि क्याम्पस पढ्छन् भने कति पैसा भर्ना गर्दा लाग्छ अहिल्यै योजना बनाऊ । आज छोराछोरी क्याम्पस भर्ना गर्नुपर्यो भने लघुवित्त खोज्दै जाने स्थिति छ । छोराछोरी विदेश जानुपर्यो लघुवित्त खोज्दै जाने स्थिति छ ।
लघुवित्त तथा बैंक वित्तीय संस्थाबाट भएन भने गाउँमा साहु महाजन कहाँ तीन देखि पाँच रुपैयाँ मासिक ब्याजमा पैसा लिएर कारोबार गछौं । त्यस स्थितिले पनि हामी बिग्रिएको अवस्था छ । त्यसकारण हामी सबै सचेत होऔं । वित्तीय शिक्षालाई घर–घरमा छलफल गर्न सक्यौं भने हामी सबै वित्तीय साक्षर हुन्छौं । होइन भने आज २५ वर्षसम्म छोराछोरीलाई कलेज पढाउने बाबुआमाले विभिन्न संघसंस्थाबाट ऋण लिने त्यो ऋणको लागि छोराछोरी जिम्मेवार हुँदैनन् । किनभने उसलाई भनेकै हुँदैनन् । मलाई जुत्ता किन्नु पर्यो, मलाई मोबाइल किन्नु पर्यो ।
मलाई बाइक किन्नु प¥यो, मलाई भर्ना गर्नुपर्यौं । ऋण लिँदै पठाउँदै गर्दा बिग्रिएको अवस्था छ । ऊ २५ वर्षमा कहाँ जागिर पाउँछु भनेर ढोकाढोकामा सर्टिफिकेट लिएर जाँदा जागिर पाउँदैन । नेपालमा उद्योग धन्दा पनि कम भएको अवस्था छ । त्यसकारण जागिर नपाउने, विदेश जाने, अनि नेपालमा केही हुँदैन भन्ने मानसिकताको विकास गर्ने प्रवृत्तिलाई त्याग्नका निमिक्त हामीले सबैले योजना बनाउने, बच्चा छ भने पनि मैले ऋण लिँदैछु भनेर छलफल गर्ने गर्नुपर्छ । अनि बल्ल बच्चा जिम्मेवार हुन्छ ।
बच्चाहरु अभिभावप्रति कर्तव्यनिष्ट हुन्छन् । मैले पैसा बचाउनुपर्छ, मैले पैसा कमाउनुपर्छ भन्ने बुझ्छन् । त्यसकारण सबैजना हामी नेपाललाई आत्मनिर्भर, धनि बनाउने हो भने हरेकले केही न केही पैसा कमाउने, मेरै देशमा कमाएको खान्छु, मेरै कौसिमा फलेको तरकारी खान्छु, मेरै बारीमा, साथिभाईको बारीमा फलेको फलफुल, दालचामल खान्छु भन्ने ‘कमिटमेन्ट’ गर्यो भने हामी हामी बल्ल आत्मनिर्भरको बाटोतिर लाग्छौं ।
(सिईओ खत्रीले मिडिया इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको ‘फाइनान्सियल लिट्रेसी, विजनेश एण्ड लिडरसीप समिट’ कार्यक्रममा राख्नुभएको मन्तव्यको सम्पादित अंश ।)