बैंकिङ खबर/ १० वटा वाणिज्य बैंकको सम्पत्ति (ऋण) को गुणस्तर जाँच (एलपीआर) गर्न परामर्शदाता छनोटका लागि फेरि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैंकले ६ महिनासम्म अघि बढाएर रद्द गरेको छनोट प्रक्रियालाई फेरि अघि बढाउन लागिएको हो । यो प्रक्रिया शून्यबाटै सुरु गर्न राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक परामर्शदाता संस्थालाई आशयपत्र पेस गर्न भनेको हो । यसका लागि १५ दिन (जनवरी ६ सम्म) को समय दिइएको छ ।
ती संस्थाहरूले प्रत्येक मूल्याङ्कन प्रक्रियामा सहभागी बैंकको ऋण पोर्टफोलियो समीक्षाका सबै तत्त्वहरूमा बाह्य परामर्शदाताद्वारा प्रतिवेदन जारी गर्ने र नेपालको बैंकिङ तथा वित्तीय प्रणालीमा परेको प्रभावको समग्र मूल्याङ्कन सहितको समग्र प्रतिवेदन सिफारिस गर्ने काम गर्नेछ ।
राष्ट्र बैंकले यसअघि गत मार्च २२ गते पहिलो पटक उक्त आशयपत्र खुला गरेको थियो । त्यतिबेला पनि १५ दिनको समय दिएर गरिएको आह्वानमा पाँचवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी सर्टलिस्ट भएका थिए । यसरी सर्टलिस्टमा पर्नेमा नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानीका सिएससी एन्ड कम्पनी (प्राइस वाटरहाउस प्रा.लि.), एसआरबिए एन्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ प्रा.लि. र पाकिस्तानको केपिएमजी तसिर हादी एन्ड कम्पनी थिए ।
त्यसरी छनोट भएका संस्थाहरूसँग विस्तृत प्रस्तावना माग गरेकोमा राष्ट्र बैंकले भारतको केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ प्रा.लि.लाई प्राविधिक मूल्याङ्कनमा योग्य ठहर्याएको थियो । तर, परामर्शदाता छनोटको अन्तिम प्रक्रियामा पुगेको राष्ट्र बैंकले सेप्टेम्बर ९ मा राष्ट्र बैंकले यो प्रक्रिया नै रद्द गरिदिएको थियो । लागत अनुमानको आधारमा उपलब्ध बजेट भन्दा छनौट भएको प्रस्तावदाताको लागत सारभूत रूपमा बढी भएको कारण देखाउँदै राष्ट्र बैंकले ठेक्का अन्त्य गरिदिएको थियो ।
EOI-Notice-on-Website