बैंकिङ खबर/ सरकारी तथ्यांकमा नआउने गरी व्यक्तिगत सम्पर्कका आधारमा अनौपचारिक माध्यमबाट भित्रिने रकम नै हुण्डी हो । हुण्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट कुनै पनि देशमा पैसा पठाउन हुण्डीका एजेन्टले आफ्नो एजेन्टलाई खबर गरेर एजेन्टमार्फत कारोबार गर्ने गर्दछन् । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् ।
विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानल पयोग नगरी व्यक्ति वा दलालहरुमार्फत पैसा पठाउने कार्य दण्डनीय कार्य हो । कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएपनि यसको कुनै प्रमाण हुँदैन, जसले गर्दा हुण्डी विश्वाशीलो र भरपर्दो मानिँदैन ।
अर्थतन्त्रमा हुण्डीको असर
हुण्डीबाट रेमिट्यान्स नै आएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले यो राष्ट्रिय अर्थतन्त्रको रेमिट्यान्समा गनिँदैन । जसले गर्दा सरकारी कोषमा विदेशी मुद्रा आएको तथ्यांक देखिँदैन । व्यक्तिको घर परिवारले रकम पाएको भएपनि औपचारिक च्यानलबाट नआएको हुँदा गणना र तथ्यांकमा यसले असर गर्दछ । त्यसका साथै अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको संचिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसाय बढाउँछ ।
हुण्डी कारोबार गर्दाका हानीहरु
हुण्डीबाट गरिएको कारोबार अवैधानिक हो । त्यसैले यो दण्डनीय छ । नेपालमा हुन्डी कारोबारको अनुसन्धान गर्ने प्रमुख निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हो । हुण्डी कारोबार गरेको थाहा पाएमा विभागले कारबाहीका प्रक्रिया अघि बढाउँछ । हुण्डीमार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ । पठाएको रकम बीचैमा हिनामिना हुन पनि सक्छ । आफूूले रकम पठाएको एजेन्ट पक्राउ पर्न पनि सक्छ । यी विविध डर सँधै भइरहन्छन् । जबसम्म आफन्तको हातमा पैसा पुगेको खबर पाइँदैन तबसम्म पैसा पठाउनेलाई चिन्ता भइरहन्छ । अबैधानिक कार्य भएको हुँदा हुण्डी मार्फत गरिएको कारोबारले देशमा कर छलि जस्ता अपराधिक गतिविधि बढाउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर गराउँदछ ।
हुण्डी रोके विप्रेषण बढ्छ ?
यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३.० प्रतिशतले घटेको छ । कोरोनाको कारण विश्व अर्थतन्त्रमै आएको गिरावटमा यो स्वभाविक छ । तर, हाम्रो सन्दर्भमा कुराको विट यही मार्न सकिन्न । पहिलो, बैदैशिक रोजगारीमा गएकालाई विदेशी मुद्रा भित्र्याउन खासै उत्प्रेरणात्मक योजना जारी गर्न सकिएको छैन ।
दोस्रो, जुन जुन मुलुकमा नेपाली कामदार पुगेका छन्, ती मुलुकसँग नेपाल सरकारले विदेशी मुद्रा भित्र्याउने गरी समझदारीपत्रमा हस्ताक्षर गर्न सकेको छैन । तेस्रो, नेपाली नै विदेशमा पुगी हुण्डीको कारोवार गरिरहेका छन् र तिनलाई कानूनी कठघरामा ल्याउन सकिएको छैन । यी काम गर्न अनिवार्य छ । जसले विप्रेषण घट्नबाट जोगाउने कुरामा शतप्रतिशत ग्यारेण्टी छ ।
हुण्डीबाट देशलाई के घाटा छ ?
आयातको पहिलो चरणमा समानको उचित मूल्याङ्कन हुन नपाएर कर चुहावट भई आर्थिक नोक्सानीको सुरुवात त्यहीँबाट हुन्छ । ब्यापारीलेसमान विक्रि वितरण गर्दा वास्तविक मुल्यमा नाफा जोडेर गर्ने तर सो विक्रीको भ्याट बिल नकाट्ने गरेको पाइन्छ । भ्याट बिल काटे पनि कम भन्सारको मूल्यांकनका कारण कम मुल्यमा काट्नाले भ्याट चुहावटमा देशलाई आर्थिक नोक्सानी हुन्छ ।
न्युन विजिकरणको कारणले शुरुवात भएका यस्ता ब्यापारिक अपराधहरुले उत्पादन, वितरण, उपभोग तथा बैकिंग संयन्त्र जस्ता ब्यापारका सम्पुर्ण सञ्जालमा समेत नराम्ररी असर गरिरहेका हुन्छन् । हुण्डी गैरकानुनी ब्यापार रहेकोले सो ब्यापारमार्फत आयातित बस्तुहरुको बास्तविक तथ्यांकमा आउन नसकी विदेशी नीति निर्धारण तथा कार्यान्वन्यनमा अपठ्यारो हुन्छ ।
हुण्डीको बिकल्पको रुपमा मान्छेले विभिन्न किसिमका जाली प्रज्ञापनपत्र प्रयोग गरी बैंकलाई ठगी गरी विदेशी मुद्रा अपचलन गर्ने, एटीएम कार्डको दुरुपयोग लगायतका वित्तीय आतंक खडा गरी बैंकिङ प्रणालीमा नै समस्या खडा हुने गरेको देखिन्छ ।
हुण्डी सम्पुर्ण कारोबजारीलाई प्रोत्साहन गर्ने माध्यम रहेको हुनाले देशमा वित्तीय अस्थिरता हुन गई देशको आर्थिक पहिचान अन्तराष्ट्रिय क्षेत्रमा जोखिममा पर्न सक्ने हुन्छ । यस्ता वित्तीय आतंकबाट बच्नका लागि राष्ट्र बैकले विभिन्न नीति नियम लागु गर्ने गरेको छ । यसले गर्दा उचित कारोबारमा समेत अनावश्यक झन्झट हुन गई उचित कारोबार गर्ने ब्यापारीको मनोबल खस्कने हुन्छ र उचित कारोबार गर्ने ब्यापारी पनि हुण्डीको बाटो अपनाउन बाध्य देखिन्छ । हुण्डीका बिकल्पका रुपमा सुन तस्करी ब्यापक रुपमा हुने गरेको पाईन्छ । नेपालमा तेस्रो मुलुकबाट आयातित सुन भारतमामा गैरकानुनी रुपमा निर्यात हुने गरेको देखिन्छ ।
हुण्डी न्यूनीकरणमा राज्यले चाल्नुपर्ने कदमहरु
हुण्डी ठूूलठुला सरकारी अधिकारी, ब्यापारीक फर्महरु, राजनीतिक नेताहरु लगायतका सहयोगबाट संचालन हुने गरेको छ । त्यसैले, यो बन्द गराउनु निकै चुनौतिपूर्ण कार्य हो । तापनि तपशीलका केही वित्तीय साधन प्रयोग गरी नियन्त्रण भर्ने गर्न सकिने देखिन्छ ।
भन्सारमा आयत हुने बस्तुका खरिद गरेका मुल्यमै भन्सारदर कायम गराउने रणनितिको ब्यवस्था, कार्यान्वन्यन तथा नियन्त्रण गर्ने ।
भन्सारका दरमा केही कटौती गरी ब्यापारीहरुलाई सम्पूर्ण कारोवार कानुनी बाटो अपनाई गर्नका लागि प्रोत्साहन गर्ने ।
भन्सारका कर्मचारी, भन्सार अभिकर्ता, ब्यापारी लगायतका अधिकारीहरुलाई विशेष निगरानीका साथ दुरुस्त नीति नियमहरु पालन गर्न गराउनमा प्रोत्साहन तथा कारबाहीको ब्यवस्था बनाई कार्यान्वयन गर्ने ।
हरेक ब्यापारीको आयात भएका बस्तुहरुका मौज्दात विल भौचर अनुसार भए नभएको नियमित अनुगमन गरी उचित उपचारको समेत बन्दोवस्त गर्ने ।
देशका हरेक ठाउँहरुमा हुण्डी ब्यापार गरी बसेका आर्थिक माफियाहरुको सूचना लगभग सबै सम्बन्धित निकायसँग भएकै हुन्छ । ती माफियाहरुलाई कानुनी दायराभित्र ल्याई कारबाही गर्ने ।
हुण्डीका कारोबार गर्नेमा सहयोग गर्ने सरकारी कर्मचारी, नेता, ब्यापारिक फर्महरु, सहयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्ने ।
हरेक ब्यापारीलाई लेखा साक्षरता, कर साक्षरता र बैकिंग साक्षरता लगायतका चाहिने ज्ञानको लागि नेपाल सरकारद्वारा शिक्षाको ब्यवस्था गरी सरल कर प्रणाली अवलम्बन गर्ने ।
समग्रमा भन्ने हो भने, हुण्डी देशको लागि अत्यन्तै घातक संजाल हो, जसले देश र जनताको हरेक आर्थिक क्रियाकलापमा नराम्ररी असर गरिरहेको हुन्छ । हुण्डीको जन्म भन्सारको न्युनविजिकरणवाट हुन्छ, जसलाई रोक्नु राज्यको दायित्व हो । नत्र यसले आर्थिक कारोबार संचालन गर्ने अधिकांश ब्यक्ति तथा निकायहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्पति शुद्धिकरणको घेराभित्र पार्ने खतरा रहिरहन्छ ।