December 19th, 2024

बैंकिङ क्षेत्रको समस्या समाधान गर्न कटिबद्ध हुनेछु : अध्यक्ष कोइराला

बैंकिङ खबर/ नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले नेपालका बैंक तथा वित्तीय संस्था संस्था भित्रैबाट बलियो स्थितिमा रहेको बताएका छन् । उनले तथ्यांकमा बैंकिङ क्षेत्र मध्यमस्तरको देखिए पनि वा समस्यै समस्या रहेको बुझाइ भए पनि आधारभूत रुपमा दृढ स्थितिमा रहेको बताएका हुन् ।

बैंकर्स संघको वार्षिक कार्यक्रममा बोल्दै उनले समस्याहरुलाई चिरेर अघि बढ्नुपर्ने स्थिति रहेको पनि जिकिर गरे । नेपाल राष्ट्र बैंकले गर्दै आएको नियामकीय व्यवस्थाको सराहना गर्दै उनले ती व्यवस्था बैंक तथा वित्तीय क्षेत्र सबल बनाउने उद्देश्य राखेर आउने गरेको विश्वास गरे ।
उनले भने, ‘दक्षिण एशियामै मजबुद बैंकिङ बनाउन भुमिका खेल्ने राष्ट्र बैंकप्रति हामी आभारी हुनै पर्छ ।’ नेपाली बैंकहरुले हामी विवेकी बैंकिङ गर्दै आएको र अनुपालना तथा सुशासनका आधारमा अब्बल बन्दैै आएको उनको भनाइ छ ।

उनले अध्यक्षका रुपमा बैंकिङ क्षेत्रको समस्या समाधानको लागि आफू कटिबद्ध रहने प्रतिबद्धता पनि गरे । ‘आफ्नो कार्यकालमा सबैको अपेक्षालाई पुरा गर्न प्रतिवद्ध छु,’ उनले भने, ‘नियामक र बैंकिङ क्षेत्रबीच एनबीएमा रहेर पुलको भुमिका निर्वाह गर्नेछु ।’