नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ताहरुलाई हतोत्साहित नभई सतर्कता पूर्वक लगानी गर्न आह्वान गरेको छ । बोर्डले सोमबार एक प्रेस विज्ञप्तिमार्फत बजारको हालको स्थितिलाई सूक्ष्मरुपले हेरिरहेको जानकारी गराउँदै भनेको छ, ‘धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको आधारभूत तथा प्राविधिक पक्षको जानकारी लिई हतोत्साहित नभई हल्लाको पछि नलागी सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन बोर्ड अनुरोध गर्दछ ।’
बोर्डले आफ्नो ध्यान पूँजी बजारको सुधार तथा बिस्तारमा केन्द्रित रहेको भन्दै विगत केही समय यता स्टक मार्केटको विकास तथा सुधारका लागि विभिन्न कार्यहरु अगाडि बढाईरहेको उल्लेख गरेको छ । बोर्डले नेप्सेलाई क्लियरिङ्ग बैंक थप्न तथा काठमाडौं उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार गर्ने वा दलाल व्यवसायी थप गरी क्षमता विस्तार गर्न पुनः निर्देशन दिएको स्पष्ट पारेको छ । वास्तविक क्षेत्र का संगठित संस्थाहरुले जारी पूँजीको दश प्रतिशत सार्वजनिक निष्काशन गर्न सक्ने, निश्चित मूल्यको को सट्टा स्वतन्त्र मूल्यमा निष्काशन गर्न सकिने, आईएफसी, एडीबी जस्ता अन्तराष्ट्रिय वित्तिय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने र स्वार्थ बाझिने लाई सम्बोधन हुने आदि व्यवस्था भएको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लाई नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई लागू गरेको लगायतका सुधारका फेहरिस्त प्रस्तुत गरेको छ । यसबाटवास्तविक क्षेत्र का संगठित संस्थाहरुको बजारमा प्रवेश सहजिकरण भई दोस्रो बजार व्यापक भई बजारको संरचनात्मक सुधार हुने बिश्वास बोर्डले ब्यक्त गरेको छ ।
त्यस्तै, सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटो छरितो बनाई सार्वजनिक निष्काशन लागतलाई समेत न्यून गर्न बोर्डले यही माघदेखि आश्बा प्रणाली लागू गर्ने निर्णय गरेको र यो प्रणाली लागू भएपश्चात धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने अपेक्षा रहेको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बोर्डले बजार सुधार कार्यक्रम अन्तर्गत गत माघदेखी पूर्ण अभौतिकिकरण गरी पूर्ण स्वचालित धितोपत्र कारोबार, बजारको गहिराई (मार्केट डेब्थ) हेर्न सक्ने, धितोपत्र दलाल व्यवसायीको शुल्कलाई उल्लेख्य रुपमा घटाइएको, हकप्रद तथा बोनस सेयर सिधै आफ्नो डिम्याट खातामा जम्मा हुने व्यवस्था गरी लगानीकर्ताहरुलाई कारोवार गर्न सहजीकरण गर्दै आइरहेको समेत स्पष्ट पारेको छ ।
बोर्डले बजार सुधार गर्दे लगिएको, समग्र अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको र धेरै जसो सूचिकृत संगठित संस्थाहरुको कार्य सम्पादनको स्थिति सन्तोषजनक रहेकोले लगानीकर्ताहरु बजारको अवस्था प्रति हतोत्साहित हुने अवस्था नदेखिने बताएको छ ।