December 17th, 2024

भविष्य पैसाको : के पैसाको मृत्यु सम्भव होला ?

बसन्त बहादुर शाक्य

वस्तु विनिमय प्रणालीका अप्ठेराहरुबाट वाक्क भएका मानिसहरुले त्यसको विकल्पको रुपमा विकास गरेका मुद्राले भुक्तानी प्रणालीमा आमुल परिवर्तन मात्र ल्याइदिएन, विश्व अर्थतन्त्रमा नै यसको महत्वपूर्ण भूमिका रहन गएको तथ्य हामी सबैलाई थाहा भएकै विषय हो । आज हामी पैसा बिनाको जिन्दगी कल्पना नै गर्न सक्दैनौं ।

बिहान उठेदेखि नै पैसाको खेल शुरु भै हाल्छ । साधारणतया कुनै पनि चीजको भविष्य निक्र्यौल गर्नु निकै नै कठिन कार्य हो । त्यसमा पनि सदियौंदेखि मानिसले चलाउँदै आएको पैसाको भविष्यको कुरा गर्नु त झन चुनौतीपूर्ण नै हो । तर केही विद्वान्हरुले पैसाको मृत्युको परिकल्पना गर्न थालेको पाइन्छ । (यहाँ पैसालाई मुद्रा (money) को अर्थमा नभै नगद (cash) को अर्थमा परिभाषित गर्न खोजिएको कुरालाई स्पष्ट गर्न चाहन्छु ।)

कुनै पनि आर्थिक कारोवार गर्नको लागि मुद्राको कुनै न कुनै रुप आवश्यकतालाई नकार्न सक्ने अवस्था भने रहने देखिँदैन । तर मुद्राको रुपमा हामीले अहिले प्रयोग रहेको कागजी मुद्रा (पैसा) को अस्तित्वको विषयमा भने अनेक अड्कलवाजी आउन थालेको देखिन्छ । तसर्थ पैसाको मृत्युको विषयमा कुरा गर्दा यहाँ “नगद विनाको समाज” (cashless society) को परिकल्पनालाई विश्लेषण गर्न खोजिएको हो । यस्तो पैसा विनाको समाजको परिकल्पना करिब ५० वर्ष पहिले “पहिलो भुक्तानी कार्ड”(Payment card) को प्रयोग भए पश्चात् गरिएको देखिन्छ । त्यस पश्चात् भुक्तानी प्रणालीमा निकै परिवर्तनहरु देखा
परेका छन् ।

गएको २० वर्षमा प्रविधिमा भएको विकासक्रमलाई नियाल्ने हो भने डेविट कार्ड, क्रेडिट कार्ड, ई–पेमेण्ट, मोबाइल पेमेण्ट हुँदैहुँदै अहिले आएर अभौतिक मुद्राको प्रयोगसम्म आइपुगेको छ । यी विकासक्रमलाई हेर्ने हो भने त “पैसाको मृत्यु” हुने दिन नजिक आइरहेको हो कि भन्ने पनि बुझिन्छ । आजको विश्वमा पैसा बिनाको भुक्तानी प्रणाली निकै नै चलनचल्तीमा छ । कतिपय अवस्थामा “कार्ड” विनाको किनमेल कल्पना गर्न पनि नसकिने अवस्था छ भने ई–व्यवसाय, ई–बैंकिङ जस्ता नयाँ नयाँ उपकरणहरु बजारमा आइरहेका छन् जसले समाजलाई “अबकजभिककू मा परिवर्तन गर्न सघाउ पुर्‍याइरहेका छन् ।

के अब पैसाको मृत्यु अवश्यंभावी छ त ? हामीलाई दैनिक आवश्यक पर्ने बस्तुको खरिदको लागि पहिला जस्तो बिटाका बिटा पैसा बोकेर हिँड्नु आवश्यक छैन आजकल । तपाईंलाई मन पर्ने बस्तुहरु आफूलाई चाहे जति किन्नुस् भुक्तानीको लागि तपाइसँग भएको एउटा प्लास्टिकको कार्ड काफी छ । कार्डलाई मेसिनमा घोटिदिनुस् बस्, पुगिहाल्यो । न पैसा बोक्ने झन्झट, न बाटोमा झर्ने पीर, न बढी भुक्तानी गयो कि भन्ने डर । सामान किन्न मात्र होइन, पानी, बत्ती, टेलिफोनको बिलको पैसा तिर्न ती कार्यालयहरुको भुक्तानी काउण्टरमा गएर लाइन बस्नुपर्ने दिन गए अब । अनलाइन भुक्तानी प्रणालीको विकासले त्यस्ता सेवा सुविधा उपभोग गरे बापतको भुक्तानीलाई सहज तुल्याइदिएको छ ।

नेपालको हकमा भलै यसको प्रयोग भैनसकेको होस्, सार्वजनिक यातायातमा यात्रा गर्दा पैसा भुक्तानी गर्ने प्रणालीमा आमुल परिवर्तन आइसकेका छन् । अब बस चढ्दा होस् या रेल चढ्दा होस् पहिला जस्तो काउण्टरमा गएर टिकट काट्ने वा बस कण्डक्टरलाई पैसा तिरिरहनु जरुरी छैन । त्यस्ता साधनमा जडान गरिएका मेसिनमा गएर तपाईंको कार्ड छुवाइ दिनुस्, बस पुगिहाल्यो । न तपाईंलाई चानचुन पैसा बोक्ने झन्झट, न कण्डक्टरले चानचुन पैसा फिर्ता नदिने भन्ने पीर । त्यत्ति मात्रै होइन विदेशमा भएका तपाईंका आफन्तलाई तपाई यहीँ बस्दा बस्दै विदेशकै बजारबाट उपहार उपलब्ध गराइ दिन चाहनु हुन्छ ? अनलाइन सपिंग । तपाईंको समस्याको समाधान भै हाल्यो । यी सबै कुराहरुलाई नियाल्ने हो भने अबका केही समय पछि पैसाको अवसान हुने कुराको अनुमान लगाउन गाह्रो पर्दैन ।

प्रविधि विकासका केही कुराहरु

 पैसा (नगद) को सट्टामा प्रयोग गर्न सकिने अनेक प्रकारका प्रविधिहरुको विकासक्रम बढ्दै गैरहेका छन् । विगतमा भुक्तानी प्रणालीमा प्रयोग हुने डाफ्ट, टि.टि. जस्ता कतिपय उपकरणहरु नयाँ पुस्ताले नामै सुनेका छैनन् होला । २० औं शताब्दीको शुरु शुरुमा विकास भएको डेबिट कार्ड र क्रेडिट कार्ड जस्ता उपकरणहरु पनि अहिले पुराना भैसकेका छन् ।

अहिलेका पुस्ताले भुक्तानीका लागि प्रयोग गर्न थालेका नयाँ उपकरणहरु भनेका mobile wallet, contactless card, online payment हुन् । जसले तपाईलाई पैसा बोक्नै पर्ने झंझटबाट मुक्ति मात्र दिएको छैन केही विकसित मुलुकहरुमा त पैसाको प्रयोगमा र नगदको मागमा नै ह्रास आइरहेको देखिन्छ ।

 पैसाको मागलाई प्रभावित तुल्याउन अनलाइन व्यापार र अनलाइन भुक्तानीले मानिसको व्यवहारमा निकै परिवर्तन ल्याएका छन् । सबैभन्दा रमाइलो त मनोरञ्जनको क्षेत्रमा देखिएको छ । अब तपाईलाई मन पर्ने सिनेमा हेर्नको लागि उक्त सिनेमा लागेको हलमा धाउन जरुरी छैन, न त टि.भि. मा उक्त सिनेमा प्रसारण हुने सेड्युल पर्खन जरुरी छ, न त भिडियो पार्लरमा गएर त्यस्तो सिनेमाको चक्का भाडामा लिन वा किन्न जरुरी छ । बस तपाईं कम्प्युटरको अगाडि बस्नुस् अनलाइनमा नै त्यस्ता सिनेमा, टि.भि. शो आदिलाई इन्टरनेटमा कतचभबmष्लन गर्नुस् अनि अनलाइन नै बसी पैसाको भुक्तानी गर्नुस् । भएन त मज्जा ।  न फिल्म हल धाउनु प¥यो, न सि.डि., डिभिडि चक्का किन्नु प¥यो, न बजार नै जानु पर्‍यो !

बाटोमा हिँड्दा हिँड्दै तपाईंलाई कुनै रेष्टुरेण्टमा खाना खान मन लाग्यो? अथवा अचानक तपाईलाई प्रेमी/प्रेमीकाले रेष्टुरेण्टमा ट्रिट दिन अनुरोध ग¥यो तर त्यही बेला तपाईंको खल्तीमा पैसा छैन भने चिन्ता नलिनुस्, तपाईंसँग भएको कार्डले त्यस्तो समस्याको समाधान गरिदिन्छ । नेपाली समाजमा रेष्टुरेण्टमा गएर खाने चलनमा वृद्धि आएको छ ।

पाइलैपिच्छे भेटिने रेष्टुरेण्टहरुले पनि त्यसको पुष्टि गर्दछ । तर कार्डको प्रयोगकै कारणले चैं त्यस्तो रेष्टुरण्टमा जाने प्रवृत्तिमा कत्तिको वृद्धि भएको छ भन्ने विषयमा कुनै अध्ययन भने भएको देखिँदैन । तर बेलायतको अध्ययनले देखाएको तथ्याङ्क भने चाखलाग्दो छ । उक्त अध्ययनले बेलायतमा सन् २००५ मा रेष्टुरेण्टमा कार्डको प्रयोग ८.६ अर्व स्टर्लिंग पाउण्ड बराबरको भएकोमा सन् २०१४ मा यस्तो भुक्तानीमा कार्डको प्रयोग २२.२ अर्व स्टर्लिंग पाउण्ड पुगेको तथ्याङ्क प्रकाशित गरेको छ ।

प्रविधिको विकासक्रममा पैसाको आवश्यकतालाई चुनौती दिने नविनतम उपकरणमध्ये बिटक्वाइनको प्रयोग चुनौतीपूर्ण रुपमा अगाडि आइरहेको छ । हुन त बिट्क्वाइनको प्रयोगमा धेरै कुराले प्रभावित पार्ने भए पनि भुक्तानी प्रणालीको विकासक्रममा यो एक नयाँ उपकरणको रुपमा आएको कुरामा भने दुईमत हुन सक्दैन ।

पछिल्ला केही समयदेखि विश्व अर्थतन्त्रमा cashless society को निकै चर्चा हुन थालेको छ । यो समयावधिमा केही स्केन्डेनेभियन मुलुकले सफतापूर्वक सञ्चालन गरेको non-cash तरिकाको भुक्तानी प्रणालीको निकै चर्चा हुन थालेको छ । ती मुलुकहरुमा पैसा (नगद) को प्रयोग बिना नै मानिसहरुको दैनिकी चलेको तथ्यले पनि पैसाको अवसानको चर्चालाई निकै बल पुगेको देखिन्छ ।

विभिन्न मुलुकहरुले नगदमा भुक्तानी गर्न सक्ने क्षमतामा लगाएको सीमाले पनि पैसाको मागमा प्रभावित तुल्याएको मानिन्छ । अर्थात् निश्चित रकम भन्दा माथिको भुक्तानीमा नगदको प्रयोगमा लगाएको बन्देजले पैसाको मागलाई प्रभावित तुल्याउने देखिन्छ । Money laundering बिरुद्ध लड्नको लागि जर्मनीको सोसल डेमोक्रेट पार्टीले युरो ५०० दरको बैंक नोटको निष्काशनलाई बन्द गर्ने प्रस्ताव गरेका छन् । जर्मनी युरोपको एक यस्तो मुलुक हो जहाँका अत्यधिक मानिसहरु भुक्तानीको लागि बैंक नोट नै प्रयोग गर्न रुचाउँछन् । उक्त मुलुकमा जम्मा १८.५ प्रतिशत जनताले मात्र भुक्तानीको लागि कार्डको प्रयोग गर्ने गरेको तथ्यांक छ जबकि अन्य युरोपियन मुलुकहरुमा कार्डबाट हुने भुक्तानी ६० प्रतिशतको हाराहारीमा रहेको तथ्यांक छ ।

विश्व परिदृष्यमा नगद (पैसा) प्रयोगको अवस्था

भुक्तानी प्रणालीमा संसारभर नै सबैभन्दा बढी प्रयोग हुने उपकरण भनेको “नगद” नै हो । World Payment Report, 2011अनुसार विश्वका हरेक १० वटा आर्थिक कारोवारमा ८ देखि ९ वटा कारोवारको भुक्तानी “नगद” बाट नै हुने गरेको छ । तर पनि आर्थिक कारोवारमा विभिन्न किसिमको कार्ड वा अन्य भुक्तानी उपकरणको प्रयोगमा पनि उत्तिकै वृद्धि भैरहेको छ । यस अर्थमा हेर्ने हो भने विस्तारै भए पनि नगदको प्रयोगमा ह्रास आइरहेको देखिन्छ ।

AGIS भन्ने संस्थाको सन् २०१२ को तथ्याङ्क अनुसार युरो क्षेत्रमा “नगद” को प्रयोग कुल गार्हस्थ्य उत्पादनको ९.२५ प्रतिशत रहेको पाइन्छ । यस्तै गरेर उक्त क्षेत्रमा सन् २००२–२०११ को अवधिमा चलनचल्तीमा रहेको मुद्राको परिमाण १०.६ प्रतिशतले वृद्धि भएको देखाउँदछ । यही अवधिमा युरो क्षेत्रमा “नगद” पैसाको मागमा तेब्बरले वृद्धि भएको मानिन्छ । यसरी मागमा वृद्धि हुनुमा मुख्यतः सन् २००८ को “आर्थिक सङ्कट” ले पनि मुख्य भूमिका खेलेको पाइन्छ । AGIS अनुसार संयुक्त राज्य अमेरिका मात्र यस्तो मुलुक हो जहाँ भुक्तानी प्रणालीको सन्दर्भमा ४० प्रतिशत भन्दा बढी कारोवारको भुक्तानी “कार्ड” बाट हुने गरेको छ ।

भुक्तानी प्रणालीको क्षेत्रमा जतिसुकै प्रविधिको विकास भए पनि पैसा (नगद) लाई पूर्ण विस्थापन गर्न सक्ने क्षमताको विकास भने भैसकेको छैन । विश्व अर्थतन्त्रमा चलनचल्तीमा रहेको मुद्राको मात्रामा हरेक वर्ष भैरहेको वृद्धिले पनि त्यसको पुष्टि गर्दछ । विश्व अर्थतन्त्रमा यस्तो चलनचल्तीमा रहेको मुद्राको वृद्धिदरको परिमाण सात प्रतिशतको हाराहारीमा रहेको तथ्याङ्क पाइन्छ ।

विश्व अर्थतन्त्रमा प्रमुख भूमिका खेल्ने अमेरिकी डलरको चलनचल्तीमा रहेको मुद्रा (currency in circulation) सन् २००७ देखि सन् २०१२ को अवधिमा ४२ प्रतिशतले वृद्धि भएको देखिन्छ । यस अवधिमा विश्व अर्थतन्त्रमा देखिएको संकटको कारणले यस्तो वृद्धि हुन सघाएको भए तापनि सामान्य अवस्थामा पनि अमेरिकी डलरको चलनचल्तीमा रहेको मुद्रा पाँच प्रतिशतले वृद्धि हुने गरेको तथ्याङ्क पाइन्छ ।

हुन त अमेरिकी डलरको माग अमेरिकामा हुने नगदको मागमा मात्र आश्रित छैन । विश्व अर्थतन्त्रमा यसको मागले पनि यसको वृद्धिदरलाई असर पारिरहेको हुन्छ । त्यस्तै गरी युके पेमेण्ट काउन्सिलबाट जारी गरिएको एक प्रतिवेदन अनुसार पनि बेलायतमा हुने कुल आर्थिक कारोवार मध्ये पचास प्रतिशत भन्दा बढी कारोवारको भुक्तानी नगद पैसाबाट हुने गरेको तथ्य प्रकाशमा आएको छ ।

“नगद” को प्रयोगको फाइदा र बेफाइदाहरु

प्रविधिमा भएका द्रुत विकासक्रमले भुक्तानी प्रणालीमा पनि निकै किसिमका वैकल्पिक उपकरणहरुको विकास भएका छन् । तर पनि भुक्तानी प्रणालीमा सबैभन्दा बढी प्रयोग हुने उपकरण भनेको “नगद” नै हो । निम्न कारणहरुले गर्दा मानिसहरुले आर्थिक कारोवारमा “नगद” को प्रयोगमा बढी महत्व दिने गरेको पाइन्छ ।

सर्वस्वीकार्य : “नगद” मात्र यस्तो सर्वस्वीकार्य भुक्तानीको उपकरण हो जसको प्रयोग जुनसुकै ब्यक्ति अर्थात् बुढो, बच्चा, अशिक्षित, शिक्षित, बैंक खाता नभएका ब्यक्ति आदिले आवश्यकतानुसार प्रयोग गर्न सक्दछ । कुनै पनि बस्तु वा सेवा खरिद गर्नको लागि “नगद” को प्रयोग गर्न कुनै प्रविधि र प्राविधिक ज्ञानको आवश्यकता पर्दैन–

एकदमै सरल र सजिलो । सानो रकमको भुक्तानीदेखि ठुलो रकमको भुक्तानी जस्तोसुकैमा पनि “नगद” को प्रयोग सजिलो मानिन्छ, कार्डबाट गरिने भुक्तानीमा जस्तो कुनै सीमा हुँदैन । तर हाल केही मुलुकहरुले निश्चित रकम भन्दा बढी रकमको भुक्तानी “नगद” बाट गर्न नपाउने नीतिगत व्यवस्था पनि अंगालेको पाइन्छ ।

अन्जान (Anonymity) : भुक्तानी प्रणालीका विभिन्न उपकरणहरु मध्ये “नगद” यस्तो माध्यम हो जसको प्रयोग गर्नको लागि प्रयोगकर्ताले आफ्नो परिचय खुलाउन जरुरी हुँदैन अर्थात् कुनै पनि कारोवार ब्यक्तिगत र गोप्य हुने गर्दछ । “कार्ड” को प्रयोगमा जस्तो आफ्नो परिचय, ब्यक्तिगत गोप्यता लगायतका सूचना दिनु पर्ने हुँदैन र प्राविधिक त्रुटिको कारणले बैंक खाताबाट आफ्नो रकम हराउने जस्ता समस्याको सामना गर्नु पर्दैन । तर विश्वमा कालो धनको नियन्त्रण, मुद्रा निर्मलीकरण, कर छली जस्ता अपराधको नियन्त्रण गर्ने प्रयोजनको लागि “नगद” कारोवारमा “सीमा” तोक्ने प्रवृत्तिको विकास भैरहेको छ ।

विश्वसनीयता (Trust) : नगद– खासगरेर कुनै पनि देशको मुद्राको निष्काशन त्यस देशको सरकारको प्रत्याभूतिमा केन्द्रीय बैंकले मात्र गर्ने हुनाले मुद्राको विश्वसनीयता सर्वोपरि हुन्छ । कुनै पनि देशको मुद्रा सरकारले बाहेक अन्य कुनै पनि निकायले जारी गर्न पाउँदैन । तर मुद्राको विश्वसनीयता त्यसको गुणस्तरीयता र नक्कली बनाउन सक्ने सम्भाव्यतामा पनि निर्भर गर्दछ । यही कारणले मुद्रा निष्काशनकर्ताले यसको गुणस्तरीयता र security features मा विशेष ध्यान पुर्याएका हुन्छन् । “कार्ड” मा जस्तो नक्कली बनाएर आफ्नो बैंक खाताबाटै रकम गायव हुने सम्भावना रहँदैन ।

नियन्त्रण : सर्वसाधारण मानिसले आफ्नो दैनिक कारोवारमा नगदको प्रयोगबाट आफ्नो खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सक्दछ । जबकि “कार्ड” ले मानिसलाई आफ्नो क्षमता भन्दा बढी खर्च गर्न प्रेरित गर्दछ । “कार्ड” जारी गर्ने कम्पनीले विभिन्न स्किम मार्फत् बोनस आदिको लोभमा खर्च गर्न उत्प्रेरित गर्ने गरेको पाइन्छ । “नगद” को यही गुणले नै वयस्क मानिसहरुले अरु भुक्तानी उपकरणहरुको तुलनामा नगदको प्रयोगमा जोड दिने गरेको पाइन्छ । भुक्तानी प्रणालीको सन्दर्भमा प्रविधिमा जतिसुकै विकास भएको भए पनि “नगद” को प्रयोगमा हुने उपर्युक्त गुणहरुको कारणले नै यसको प्रयोगमा अपेक्षित कमी आउन नसकेको हो ।

“नगद” का मागका कारणहरु

मनोविज्ञान : मानिसहरुले आफूसँग “नगद” नै किन राख्दछ ? जबकि बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप बराबरको रकम पनि नगद जत्तिकै “तरल” मानिन्छ । निक्षेपको रकम जतिसुकै तरल भए पनि मानिसले केही परिमाणसम्म नगदलाई नै प्राथमिकतामा राख्ने गर्दछ । सबैभन्दा महत्वपूर्ण विषय भनेको मानिसको “मनाविज्ञान” हो । धेरैजसो मानिसको लागि धन सम्पत्तिको रुपमा “नगद” सबैभन्दा महत्वपूर्ण कुरा हो । “नगद” नै शक्ति हो, खुसी हो इत्यादि । मानिसलाई उसका अन्य धन सम्पत्तिले भन्दा “नगद” पैसाको उपलब्धताले अत्यधिक महत्व राख्दछ ।  आफूसँग नगद भएको मानिसले अरुको तुलनामा आफूलाई बढी सुरक्षित, विश्वसनीय र आफूले चाहेका कुरा हासिल गर्न सक्ने कुरामा विश्वस्त हुने बताउँछन् ।

सैद्धान्तिक रुपमा हेर्ने हो भने पैसाको माग खास गरेर दैनिक कारोवारको लागि, सट्टेवाजीको लागि र भविष्यको सुनिश्चितताको लागि हुने गर्दछ । जेसुकैभए पनि अर्थतन्त्रमा चलनचल्तीमा रहने नगदको परिमाणको सम्बन्ध opportunity cost अथवा व्याजदरसँग ऋणात्मक हुने गर्दछ भने उपभोग अथवा transaction cost  को रुपमा घनात्मक हुने गर्दछ ।

यसको साथै, अर्थतन्त्रमा उपलब्ध भुक्तानी प्रणालीका उपकरणहरु डेविट कार्ड, क्रेडिट कार्ड, ATM, POS आदिमा पनि निर्भर हुने गर्दछ । भुक्तानी प्रणालीका विभिन्न उपकरणहरुको उपलब्धता र “नगद” को माग सम्बन्धी गरिएका विभिन्न अनुसन्धानका परिणामहरु पनि विविध प्रकारका पाइएका छन् ।

मुख्यतः युरोपियन मुलुकहरुमा गरिएको अध्ययनले भुक्तानी प्रणालीमा वैकल्पिक उपकरणहरुको उपलब्धताले “नगद” को मागमा ऋणात्मक असर देखिएको पाइयो भने OECD मुलुकमा गरिएको अध्ययनले वैकल्पिक उपकरणको उपलब्धताले खासै असर पारेको देखिएन ।

छाँया अर्थतन्त्र : छाँया अर्थतन्त्रले खास गरेर अर्थतन्त्रमा गैर कानुनी कारोवारको अवस्थालाई इंगित गर्दछ । छाँया अर्थतन्त्रको परिभाषालाई विविध किसिमले ब्याख्या गर्ने गरिएको पाइए पनि मुख्यतः यसलाई विद्यमान कानुनको परिभाषालाई तोडमरोड गरी आफू अनुकुल ब्याख्या गर्न खोज्नु र विद्यमान कानुनको परिधि भन्दा बाहिर बसेर गरिने आर्थिक कारोवार नै मुख्य रुपमा लिने गरेको पाइन्छ । यसरी कानुनको परिधि भन्दा बाहिरबाट हुने कारोवारको भुक्तानी खास गरेर“नगद” बाट नै हुने गरेको अनुमान गर्ने गरिन्छ ।

यस अर्थमा अर्थतन्त्रमा छाँया अर्थतन्त्रको आकार जति ठुलो हुन्छ “नगद” को मागमा पनि त्यत्तिकै असर गर्दछ भन्ने बुझ्नु जरुरी हुन्छ । छाँया अर्थतन्त्रको अर्को प्रभाव मुलुकको राजश्वमा पर्ने गर्दछ । साधारणतया छाँया अर्थतन्त्रको कारोवारले नियमानुसार तिर्नु पर्ने “कर”छल्ने प्रवृत्तिलाई प्रोत्साहन गर्ने गरेको अनुमान गरिन्छ ।

प्रविधिको विकास : “पैसा” (नगद) को भविष्यको कुरा गर्दा भुक्तानी प्रणालीमा अहिले भैरहेको प्रविधिको विकासलाई पनि नियाल्नु पर्ने हुन्छ । भुक्तानी प्रणालीमा सबैभन्दा पछिल्लो प्रविधिको रुपमा biometric authentication प्रणालीको विकासलाई महत्वपूर्ण प्रविधिको रुपमा लिइएको छ । जुन “cashless society”को वकालत गर्नेहरुको लागि एक प्रमुख औजार हुन गएको छ । वायोमेट्रिक प्रणालीले कारोवारकर्ताको पहिचानलाई भौतिक गुण (physical tributes) जस्तै : औंला छाप, हस्तरेखा, iris pattern आदि र व्यावहारिक गुण (behavioural tributes)  जस्तै : hand-writing, स्वर को पहिचान आदिको माध्यमबाट गर्न सकिने आर्थिक कारोवारको प्रविधि हो ।

वैकल्पिक भुक्तानी प्रणालीमा वायोमेट्रिक प्रणालीको विकासका कतिपय फाइदाहरु रहेका छन् । उदाहरणको लागि यस प्रणालीको विकासको कारणले आफ्नो मात्र जानकारीमा रहेको पिन कोड  र आफूसँग मात्र रहने स्मार्ट कार्डको प्रयोगबाट आर्थिक कारोवार गर्दा भुक्तानी प्रणालीमा हुने अन्य कतिपय समस्याहरुलाई हटाउन निकै हदसम्म सहयोग पुर्याउँदछ । यसको प्रयोगले अर्कोतिर “नगद” बाट कारोवार गर्दा लाग्ने कतिपय “लागत” लाई घटाइदिएको छ । तर यो प्रणालीमा हरेक कारोवार विद्युतीय रेकर्डमा रहने हुँदा मानिसको ब्यक्तिगत गोप्यता कहीँ कतै नरहने अवस्था पनि रहेको छ । के मानिसहरु आफ्ना सबै ब्यक्तिगत “गोप्य” कारोवारलाई “खुला” गर्न चाहलान् ?

मुख्य प्रश्न यही हो । जेसुकै भए पनि भुक्तानी प्रणालीमा वायोमेट्रिक प्रणालीको विकासले “नगद” र ““cashless society”को वकालत गर्नेहरुवीचमा एक प्रतिस्पर्धा भने निम्त्याएको छ ।

वैकल्पिक भुक्तानी प्रणालीका चुनौतीहरु

जतिसुकै विकसित र प्रविधियुक्त मुलुक भए पनि सङ्कटको बेला मानिसले विश्वास गर्ने उपकरण भनेको नगद नै हो । त्यहाँ डेबिट कार्ड, क्रेडिट कार्डको कुनै महत्व रहँदैन । पछिल्लो विश्व आर्थिक सङ्कटको समयमा विश्वका कतिपय विकसित मुलुकका जनताले प्रयोग गर्दै आइरहेको वैकल्पिक भुक्तानीका उपकरणहरु अस्वीकृत भए र नगद भुक्तानी मात्र स्वीकार्य भयो । अझ कतिपय ठाउँहरुमा cash only लेखेको बोर्ड नै झुण्ड्याइए ।

कतिपय अवस्थामा तपाईंले विकल्परहित रुपमा कार्डमात्र प्रयोग गर्न खोज्दा निकै अप्ठेरो अवस्थामा पुग्न सक्ने हुन सक्छ । त्यस्तो अवस्था भनेको त्यस्तो उपकरणको system failure प्रमुख हो । केही वर्ष अघि युरोपको एक
मुलुकमा क्रिसमसको समयमा कार्ड प्रणाली फेलर हुँदा सपिंगको लागि आएका मध्ये नगद बोकेका बाहेक अन्य ब्यक्ति जिल्ल पर्नु परेको समाचार हामीले सुनेकै हो ।

त्यस्तै अवस्था बेलायतको सार्वजनिक यातायातको क्षेत्रमा पनि देखिएको थियो । कार्डबाट भुक्तानी गर्न यातायातको साधनमा जडान गरिएको उपकरणको सिस्टम फेलर हुँदा सर्वसाधारणलाई सित्तैमा यात्रा गर्न दिन बाध्य हुनु प¥यो त्यसको घाटा संस्थाले ब्यहोर्नु बाहेक अन्य विकल्प बाँकी रहेन ।

प्राविधिक ज्ञानको कमीले हुने आफ्नो खाताबाट रकम हराउने, खातावालाले थाहै नपाउने गरी ह्याकरहरुले खाताबाट रकम चोरिदिने जस्ता चुनौतीको सामना गर्नु पर्ने अवस्था अझै विद्यमान रहेकै छ । खोज्दै जाने हो भने यस्तो लिस्ट अझै लामो हुनेछ । उपसंहार साधारणताया नगदको अवस्था झल्काउने अवस्था भनेको चलनचल्तीमा रहेको मुद्राको परिमाणको तथ्याङ्क हो । विश्व अर्थतन्त्रमा यस्तो तथ्याङ्क केलाउने हो भने कमै मुलुकमा मात्र यस्तो मुद्राको परिमाण घट्दो दरमा रहेको देखिन्छ ।

नेपालको सन्दर्भमा सन् २००७ देखि २०१५ सम्मको तथ्याङ्क केलाउने हो भने वार्षिक औषत २१ प्रतिशतको हाराहारीमा चलनचल्तीमा रहेको नोटको मात्रामा वृद्धि भैरहेको छ । यस अवधिमा नेपालमा पनि वैकल्पिक भुक्तानीमा विभिन्न
उपकरणहरुको प्रयोगमा वृद्धि भएकै देखिन्छ । तर उक्त उपकरणकै कारणले नगदको मागमा कत्तिको असर ग¥यो भन्ने तथ्याङ्क उपलब्ध भएको नदेखिए तापनि देशको आर्थिक गतिविधि र मौद्रिकीकरणको अवस्थाको कारणले नगदको मागमा तुरुन्तै ह्रास आउने सम्भावना पनि कमै देखिन्छ ।

नेपालमा मात्र होइन कि नेपाल जस्तो विकासोन्मुख मुलुकमा वैकल्पिक भुक्तानी उपकरणहरुको प्रयोगले आर्थिक गतिविधिलाई बढाउनुको साथसाथै नगदको मागमा पनि वृद्धि गराउने हुन्छ किनभने ती उपकरणको प्रयोग पश्चात् अन्तिम हिसाव मिलानको समयमा नगदको मागमा नै चाप पर्ने हुन्छ ।

सदियौंदेखि मानिसले भुक्तानीको लागि प्रयोग गर्दै आइरहेको नगद पैसाको मनोवैज्ञानिक प्रभाव, नगदमा अन्तर्निहित गुणहरु लगायत अत्याधुनिक उपकरणहरु प्रयोग गर्न चाहिने प्राविधिक ज्ञानको अभाव, त्यस्ता उपकरणहरु प्रतिको मानिसको विश्वसनीयता आदिको कारणले केही विकसित मुलुकहरुमा नगद विनाको जिन्दगी केही हदसम्म कल्पना गरिए पनि विश्व मानचित्रबाट नगदको अवसान हुने समयको सम्बन्धमा तुरुन्तै सोच्नु अझै हतारै हुन्छ ।

राष्ट्र बैंकको वार्षिकोत्सव विशेषाङ्कबाट