December 15th, 2024

बैंकवित्तमा कर्जाको माग नबढ्नुका प्रमुख कारणहरु

 

बैंकिङ खबर/ बैंकहरुमा अधिक तरलता भएसँगै कर्जाको ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ । तर पनि कर्जाको माग नबढ्दा बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ । अहिले बैंकहरुको कर्जाका ब्याजदर एकल अंकमा झरेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मका तथ्यांक अनुसार कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ । यो कोभिड पछिको सबैभन्दा सस्तो ब्याजदर हो।

अहिले बैंकहरुको औसत आधा दर ८ प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो एक वर्षभन्दा अगाडिदेखि नै बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रुपमा घट्दो अवस्थामा छ। पछिल्ला महिनाहरूमा नेपालका बैंकहरुमा पैसा थुप्रिएको र कर्जाको माग नभएको भन्दै अर्थशास्त्री, बैंकर तथा नीतिनिर्माताहरू चिन्ता व्यक्त गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल करिब ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको छ । मंगलबारसम्मको विवरण हेर्दा अहिले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप रकम साढे ६६ खर्ब रुपैयाँ रहेको देखिन्छ । त्यस्तै कर्जा प्रवाह भने ५३ खर्ब रुपैयाँभन्दा केही बढी मात्र भएको छ । कर्जाको माग धेरै भएका अवस्थामा बैंकहरूले निक्षेप तथा कर्जा अनुपात ९० प्रतिशतसम्म पु¥याउने गरेका थिए।

कर्जाको माग नहुनुका कारण

कर्जाको माग नहुनुको मुख्य कारण सरकारले लिइरहेको ‘कसिलो र अस्थिर नीति’ रहेको उद्योगी–व्यवसायीहरू बताउँछन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल उद्योगीले हेर्ने भनेको नीतिगत स्थिरता रहेको भन्दै त्यो आउन नसकेको बताउँछन् ।

आज पैसा थुप्रिएको छ र ब्याज घटेको छ। उनी भन्छन्,‘मैले अहिलेको ब्याज हेरेर उद्योगमा लगाए भने छ महिनापछि यो ब्याजदर कायम रहन्छ भन्ने छैन। हिजोकै जस्तो ब्याजदर बढेर धेरै भयो भने मैले के गर्ने ?’ स्थिर नीति भएको ठाउँमा यसरी ब्याजदर बढाउने चलन हुँदैन। हाम्रोमा ब्याजदर स्थिर नहुँदा लगानीका लागि कर्जा लिने अवस्था भएन।

त्यस्तै उनी सरकारले र राष्ट्र बैंकले ‘जोखिमको भार कम गर्ने’ उद्देश्यले कडा नीतिहरू लिँदा त्यसको असर निजी क्षेत्रमा परेको बताउँछन्। नेपाल उद्योग वाणिज्य महासंघका सुरकृष्ण वैद्यले सरकारले ‘आर्थिक मन्दी आउन लाग्यो’ भन्दै कसिलो नीति लिएकाले समस्या उत्पन्न भएको बताए। उनले भने, ‘आर्थिक मन्दी आउन नदिने भन्दै लिइएको कसिलो नीतिले बजारमा माग यसरी घटाइदियो कि त्यो माथि उठ्नै नसक्ने भएको छ ।’

अब आर्थिक अवस्था सुधार गर्न नीतिगत रूपमा कोभिडपछि जस्तै कर्जा पुनः तालिकीकरण गर्ने र छुट दिने अवस्था आइसक्यो। मानिसहरू व्यवसायबाट पलायन भइरहेका छन्। अहिलेकै अवस्था रहेमा कसैले पनि कर्जा लिन सक्दैन।