December 11th, 2024

बैंकहरूको नाफा ७.५६ प्रतिशतले वृद्धि

बैंकिङ खबर/वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.५६ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका अधिकांश बैंकले गत वर्षको सोही अवधिको तुलनामा मुनाफा बढाएका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

बैंकहरूको खुद मुनाफा अघिल्लो महिनाको तुलनामा पनि ३७.७४ प्रतिशतले बढी हो । चालु आवको असोज मसान्तसम्म बैंकले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । तथ्याङ्क अनुसार गत वर्षको तुलनामा चालु आवको कात्तिकसम्ममा १३ वटा बैङ्कको मुनाफामा बढोत्तरी आएको छ भने बाँकी सात बैंकको मुनाफा घटेको छ ।

नबिलको अग्रता

समीक्षा अवधिमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नबिल बैंक आएको छ । नबिलले दुई अर्ब ६९ करोड १० लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा नबिलले दुई अर्ब १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नबिललाई पछ्याउँदै ग्लोबल आइएमई बैंकले दुई अर्ब ११ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ग्लोबल बैंकले एक अर्ब ९४ करोड ६९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

एक अर्बमाथि नौ वटा बैंक

नबिल र ग्लोबल आइएमई बैंक दुई अर्बको लाइनमाथि लागेका छन् भने एक अर्बको लाइन माथि लाग्ने नौ वटा बैंक छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम बैंक, कुमारी बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकले आफ्नो मुनाफा एक अर्बको लाइनमाथि लगेका छन् ।

सनराइज र सिद्धार्थको शतप्रतिशत

समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकले सबैभन्दा धेरै १०७.२६ प्रतिशतले नाफा बढाएको छ । बैंकले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा एक अर्ब छ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको मुनाफा पाँच करोड १५ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सिद्धार्थ बैंकले शतप्रतिशतले मुनाफा बढाएको छ । बैंकले चालु आवको कात्तिक मसान्तसम्ममा छ करोड ६७ लाख ८० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको मुनाफा तीन करोड ३३ लाख ८६ हजार रुपैयाँ रहेको थियो । यसै गरी कुमारी बैंकको ७९.०९ प्रतिशत र नेपाल एसबिआई बैंकको नाफा पनि ६६.३० प्रतिशतले बढोत्तरी आएको छ ।

एनआइसी एसियाको नाफा सर्वाधिक घट्यो

चालु आवको कात्तिक मसान्तसम्ममा एनआइसी एसिया बैंकको मुनाफा सर्वाधिक ७१.८३ प्रतिशतले घटेको छ । यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ५४.१९ प्रतिशत, हिमालयन बैंकको ३९.०१ प्रतिशत, सिटिजन्स बैंकको २४.६९ प्रतिशत, कृषि विकास बैंकको १८.३२ प्रतिशत, सानिमा बैंकको १६.२७ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २.४६ प्रतिशतले घटेको छ ।