बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ। तीन महिनादेखि एक वर्ष भन्दा बढी समय किस्ता तिर्ने भाका नाघेका ऋणीहरूको सङ्ख्या बढेसँगै खराब कर्जाको अनुपात बढको हो ।
यो सँगै बैंकले ऋण उठाउन लिलामीमा राखेका धितोबापतका घरजग्गाहरू समेत बिक्री हुन छाडेका छन् । धितोबापत लिलामीमा राखिएका सवारी साधनको विक्री त ठप्पै छ ।
असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा अनुपात ४.४२ प्रतिशत छ । जसले पछिल्ला दिनमा वाणिज्य बैंकहरूको लाभांश क्षमता कमजोर बन्दै गएको देखाउँछ ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा लिएको धितो ती कर्जा नउठेको खण्डमा लिलाम गर्छन् । लिलामीको बेला पनि नबिकेको खण्डमा बैंकले गैरबैंकिङ सम्पत्तिको रुपमा सकार्छन् । यसरी सकारेको सम्पत्ति बैंकहरुका लागि घाँडो बन्ने भएका हुन् ।
वाणिज्य बैंकहरु तर्फ सबैभन्दा धेरै गैर बैंकिङ सम्पत्ति ग्लोबल आईएमई बैंकको छ । ग्लोबल आईएमई बैंकको यस्तो सम्पत्ति डेढ वर्षको अन्तरमा तेब्बर भएको हो ।
२०८० असारमा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति १ अर्ब ७३ करोडमात्र थियो । गत कात्तिक मसान्तसम्म यस्तो सम्पत्ति ५ अर्ब १३ करोड रुपैयाँ पुगेको हो ।
गैरबैंकिङ सम्पत्तिका आधारमा एनआईसी एसिया दोस्रो स्थानमा छ । एनआईसी एसिया बैंकसँग ४ अर्ब २२ करोड रुपैयाँ बराबरको यस्तो सम्पत्ति छ ।
एनआईएमबी र हिमालयन बैंकसँग ३ अर्ब बढीको गैरबैंकिङ सम्पत्ति छ भने नबिल र कुमारी बैंकसँग २ अर्ब बढी यस्तो सम्पत्ति छ । अन्य ५ बैंकसँग १ अर्ब बढीको निष्क्रिय कर्जा हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक अन्यसँग १ अर्बभन्दा कमको निष्क्रिय कर्जा छ ।
यता सबैभन्दा बढी दरले गैर बैंकिङ सम्पत्ति बढ्ने बैंक नेपाल एसबीआई बैंक हो । डेढ वर्ष अघि एक रुपैयाँ पनि गैरबैंकिङ सम्पत्ति नभएको एभरेष्टसँग यस्तो सम्पत्तिको आकार ५१ करोड पुगेको छ ।
ठूला बैंकमध्ये हिमालयन बैंकको निष्क्रिय कर्जा ६ गुणाले बढेको छ भने कुमारीको २.२ गुणाले र एनआईएमबीको २.६ गुणाले बढेको हो ।
यता गत कात्तिकको तुलनामा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ७७ प्रतिशतले विस्तार भएको छ । ठूला बैंकमध्ये एक वर्षको तुलनामा सर्वाधिक दरले गैरबैंकिङ सम्पत्ति बढ्ने बैंक हिमालयन र ग्लोबल आईएमई नै हुन् ।
एक वर्षको अन्तरमा ग्लोबलको गैरबैंकिङ सम्पत्ति ३ अर्ब २९ करोडले बढ्दा हिमालयनको २ अर्ब ८० करोडले विस्तार भएको छ । एक वर्षको अवधिमा प्राइम कमर्सियल बैंकले मात्रै गैरबैंकिङ सम्पत्ति घटाएको छ ।
पछिल्ला दिनहरूमा बैंकहरुले प्रकाशित गर्ने धितो लिलामीका सूचनाहरू पत्रपत्रिका र अनलाइनमा प्रशस्त देखिन थालेका छन् । खराब कर्जाको अनुपात चुलिएजस्तै लिलामीमा राखिएका धितोबापतका सम्पत्ति समेत विक्री नहुनु बैङ्कहरूका लागि अर्को टाउको दुखाइको विषय बनेको बैंकरहरुको भनाई छ ।