बैंकिङ खबर/ वाणिज्य बैंकहरुले लिने कर्जाको ब्याजदर औसत ९.०७ प्रतिशतमै झरेको छ । एक वर्षको अवधिमा वाणिज्यहरुले लिने कर्जाको ब्याजदर २.८९ प्रतिशत विन्दुले घटेको हो ।
अघिल्लो कात्तिकमा वाणिज्य बैंकहरुले लिने कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत थियो । गत असारमा वाणिज्य बैंकहरुले जारी गर्ने कर्जाको ब्याजदर औसत ९.९३ प्रतिशत कायम भएको थियो ।
त्यसयता औसत ब्याजदर निरन्तर घट्दै कात्तिकसम्म आइपुग्दा ९.०७ प्रतिशतमा झरेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार ओभर ड्राफ्टबाहेक सबै कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । ओभर ड्राफ्ट कर्जाको ब्याजदर भने १०.०६ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यो १३.९१ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर सबैभन्दा कम ८.०४ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा वर्गमा प्रवाह हुने कर्जाको १०.८६ प्रतिशत थियो । यस्तै, आवासीय कर्जाको ब्याजदर गत वर्षको कात्तिकमा १२.३१ प्रतिशत रहेकोमा यो वर्ष ९.४२ प्रतिशतमा झरेको छ । यस्तै, रियल स्टेट कर्जाको ब्याजदर ९.६० प्रतिशत रहेको छ ।
यसैगरी, सेयर धितो कर्जाको ब्याजदर पनि निरन्तर घट्दो क्रममा छ । कात्तिकसम्म यो कर्जाको ब्याजदर ९.१३ प्रतिशतमा झरेको छ । गत आवको कात्तिकमा सेयर धितो कर्जाको ब्याजदर १२.९२ प्रतिशत थियो । गत असारमा भने यस्तो कर्जाको ब्याजदर १०.५० प्रतिशत रहेको थियो । कात्तिकमा हायर पर्चेज कर्जाको ब्याजदर पनि ९.५८ प्रतिशतमा आएको छ। अन्य प्रोडक्टको ब्याजदर साउनमा ९.६७ प्रतिशत छ ।
चालु आर्थिक वर्षको कात्तिक महिनामा आवधिक कर्जा ब्याजदर ९.३९ प्रतिशत कायम भएको छ । गत वर्षको कात्तिकमा यस्तो कर्जाको ब्याजदर १२.२६ प्रतिशत रहेको थियो । चालु पुँजी कर्जाको ब्याजदर पनि ९ प्रतिशत तल झरेको छ । गत वर्षको कात्तिकमा १२.४७ प्रतिशत रहेको चालु पुँजी कर्जाको ब्याजदर यो कात्तिकमा घटेर ८.७३ प्रतिशत कायम भएको छ ।
यस्तै, क्यास क्रेडिट कर्जाको ब्याजदर असारमा ९.२१ प्रतिशतमा झरेको छ । बिल खरिदतर्फको ब्याजदर पनि घटेर ९.२२ प्रतिशतमा आएको छ । क्षेत्रगत रुपमा सबैभन्दा कम ब्याजदर माछापालनको ८.२२ प्रतिशतमा झरेको छ । कृषि, वन र पेय पदार्थ उत्पादन, माछापालनको कर्जाको ब्याजदर ९ प्रतिशत तल छ । क्षेत्रगत रुपमा सबैभन्दा धेरै ब्याजदर रहेको उपभोग्य कर्जाको ब्याजदर समेत ९.९५ प्रतिशतमा झरेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको कात्तिकमा बैंकहरुको औसत आधार दर घटेर ७.०३ प्रतिशतमा झरेको छ । गत वर्षको कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.९९ प्रतिशत थियो । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्।
कात्तिकसम्म बैंकहरुको स्प्रेडदर ३.९४ प्रतिशत छ । गत आवको कात्तिकमा यस्तो दर ४.१९ प्रतिशत थियो । कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) हो । यस्तै, २०८१ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर बचतमा ३.३४ प्रतिशत, मुद्दतिमा ७.०८ प्रतिशत छ । गत आवको कात्तिकमा बचतको औसत ब्याजदर ५.५८ प्रतिशत तथा मुद्दतिको १०.२५ प्रतिशत रहेको थियो ।