December 10th, 2024

नेपालको बैंकिङ क्षेत्रमा भ्रष्टाचारः कर्जा अनियमिततादेखि घुसखोरीसम्म

बैंकिङ खबर/ बंगलादेशमा हालै सार्वजनिक भएको एक श्वेतपत्रले भ्रष्टाचारले बैंकिङ क्षेत्रमा नराम्रोसँग प्रभाव पारेको उल्लेख गरिएको छ । उक्त श्वेतपत्रमा सन् २०१७ यता बैंकिङ क्षेत्रबाट बढी मात्रामा भ्रष्टाचार मौलाएको देखाएको छ । बंगलादेशमा मात्र होइन् विश्वका अन्य ठूला–ठूला बैंकहरुमा समेत भ्रष्टाचारले थिचेको छ ।

हनोई विश्वविद्यालय, भियतनामका डा. गुयेन डक हानले गरेको एक अध्ययनमा बैंकहरुमा मुख्यगरी जालसाजीपूर्ण कार्यहरू गर्ने जस्तै परियोजनाको कागजातहरू झूटो बनाउने, ठेक्काहरू किर्ते गर्ने, नक्कली गर्ने धितो, शेयर, बन्ड, व्यापार योजना वा ऋण योजना आदि हुने गरेको पाएका थिए ।

बैंकहरुमा विशेष गरी कर्जा र सञ्चालन जोखिममा भ्रष्टाचारको प्रभाव, फर्महरूमा बैंक भ्रष्टाचारको प्रभाव, बैंक भ्रष्टाचारमा राजनीतिक सम्बन्धको प्रभाव, बैंक भ्रष्टाचारमा संस्थागत सुशासन र नियमहरूको प्रभाव, अन्तर–बैंक प्रस्तावित दरको हेरफेर लगायतका कार्यहरु भएको देखिन्छ ।

नेपालका बैंकिङ क्षेत्रमा भ्रष्टाचार

केही वर्ष अघि नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी १० हजार घुससहित पक्राउ परे । स्वीकृत भइसकेको ऋण रकम निकाल्न नमिल्ने गरी रोक्का राखेर १० हजार रुपैयाँ घुस लिएको आरोपमा करिष्ट सहायक अञ्चल सुनारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबलस्थित कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

यस्तै नक्कली चेक प्रयोग गरी सेवाग्राहीका ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा राबा बैंक बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलाञ्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल रहेकी थिइन् ।

पक्राउ परेका दुबै जनाले महोत्तरी साँढा– २ घर भई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इञ्जिनियर श्रीप्रकाश नारायण सिंहको नाउँमा उक्त बैंकमा रहेका बचत खाता नम्बर ८०३९४ बाट नक्कली चेक प्रयोग गरी २० लाख झिकेर हिनामिना गरेका थिए ।

यी त नेपालका बैंकिङ क्षेत्रका भ्रष्टाचारका केही उदाहरण मात्रै हुन् । नेपालमा भ्रष्टाचारले बैंकिङ क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ ।

यसले वित्तीय प्रणालीमा विश्वास घटाउने, लगानीकर्ताको मनोबल कमजोर पार्ने, र आर्थिक स्थिरतामा खलल पु¥याउने काम गरेको छ । बैंकमा हुने अनुचित कर्जा प्रवाह, अपारदर्शी नीतिहरू, र नियामक निकायको कमजोर अनुगमनले वित्तीय जोखिम बढाएको अवस्था छ ।

बैंकिङ क्षेत्रमा भ्रष्टाचार बनाउने काम मुख्यतः गैरकानूनी र अनैतिक गतिविधिहरू मार्फत गरिन्छ । यसमा मुख्यतः निम्न गतिविधिहरू समावेश हुन्छन्:

कर्जा अनियमितता

प्रभावशाली व्यक्तिहरूलाई बिना सुरक्षा मापदण्ड ठूलो कर्जा प्रवाह गरिनु ।

भित्री मिलेमतो

बैंकका कर्मचारी र बाहिरी व्यक्तिहरूबीचको साठगाँठले फर्जी खाता खोल्ने वा मनि लन्ड्रिङ गर्ने।

घुसखोरी

सेवाग्राहीले छिटो काम गर्न वा अनुकूल निर्णयका लागि पैसा दिनु ।

अपारदर्शी लेनदेन

नियमन निकायलाई सही तथ्यांक नदिइ गतिविधि लुकाउनु।

यसले वित्तीय संस्थाको विश्वसनीयता घटाउँछ, निक्षेपकर्ताको विश्वास कम हुन्छ, र देशको आर्थिक प्रणालीमा अस्थिरता आउँछ ।
बैंकिङ क्षेत्रमा भ्रष्टाचारको असर न्यूनीकरण गर्नका लागि केही महत्वपूर्ण कदमहरू चाल्नु आवश्यक छ ।

पहिलो, प्रभावकारी नियामक प्रणाली लागू गरेर बैंकहरूको गतिविधिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्छ ।

दोस्रो, कर्जा प्रवाह र वित्तीय लेनदेनमा प्रविधिको प्रयोग, जस्तै डिजिटल सिस्टम र ब्लकचेन, अपनाउन सकिन्छ।

तेस्रो, कर्मचारीहरूको नैतिकता र क्षमता विकास गर्न तालिम दिनुपर्छ, साथै दण्डहीनताको अन्त्य गर्न कडा कानूनी कारबाही लागू गर्नुपर्छ।