बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ। तीन महिनादेखि एक वर्ष भन्दा बढी समय किस्ता तिर्ने भाका नाघेका ऋणीहरूको सङ्ख्या बढेसँगै खराब कर्जाको अनुपात बढको हो ।
यो सँगै बैंकले ऋण उठाउन लिलामीमा राखेका धितोबापतका घरजग्गाहरू समेत बिक्री हुन छाडेका छन् । धितोबापत लिलामीमा राखिएका सवारी साधनको विक्री त ठप्पै छ । असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा अनुपात ४.४२ प्रतिशत छ । जसले पछिल्ला दिनमा वाणिज्य बैंकहरूको लाभांश क्षमता कमजोर बन्दै गएको देखाउँछ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०–८१ को असोज मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकहरूले परिपक्व भएर उठाउन नसकेको ब्याज करिब १ खर्ब ३६ अर्ब पुगेको छ । असोज २०८० मा १ खर्ब २० अर्ब ३८ करोड ९४ लाख थियो । यो भनेको एक वर्षमा १२.८ प्रतिशत बढी हो ।
आउँदो पुसमा खराब ऋण एकदेखि डेढ प्रतिशत विन्दुले बढ्ने प्रक्षेपण बैंकरहरुले गरिसकेका छन् । यसले बैंकहरू झन् प्रेसरमा देखिएका छन् । देशको करिब ८० प्रतिशत ऋण हिस्सा जोडिएका वाणिज्य बैंकहरूको ब्याज नउठ्दा समस्या देखिएको छ । बैंकको खराब कर्जा बढ्दै जानु अर्थतन्त्रका लागि चिन्ताको विषय रहेको विज्ञहरुको भनाई छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार चार वाणिज्य बैंक सञ्चित नोक्सानीमा छन् भने गत वर्ष र चालु आर्थिक वर्षमा पनि करिब आधा वाणिज्य बैंकले शेयर धनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्था छ । निष्क्रिय कर्जा धेरै हुन थालेपछि समयमा ऋण नतिरेर कालोसूचीमा पर्नेको सङ्ख्या पनि बढ्न थाले पनि धितो लिलामी हुने क्रम बढ्ने तर लिलामीमा राखिएका घरजग्गाको कारोबार नुहुनुले बैङ्कहरूका लागि जटिल सङ्केत गर्दछ ।
पछिल्ला दिनहरूमा बैंकहरुले प्रकाशित गर्ने धितो लिलामीका सूचनाहरू पत्रपत्रिका र अनलाइनमा प्रशस्त देखिन थालेका छन् । खराब कर्जाको अनुपात चुलिएजस्तै लिलामीमा राखिएका धितोबापतका सम्पत्ति समेत विक्री नहुनु बैङ्कहरूका लागि अर्को टाउको दुखाइको विषय बनेको बैंकरहरुको भनाई छ ।