नवराज कुँवर – बीमा भनेको तपाईलाई आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । तर बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । तपाईँ हामी सबै भोलीका बारेमा अनभिज्ञ हुन्छौँ । तर अचानक भोली जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । त्यही हुन सक्ने जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता बीमा हो ।
बीमाको शाब्दिक अर्थ
‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ त्यसैले पन िवभिन्न विश्लेषकहरुले बीमालाई जोखिम हस्तान्तरणको रुपमा व्याख्या गर्ने गरेका छन् ।
बीमा दुई प्रकारमा बीमा गर्न सकिन्छ :
१. जीवन बीमा
बीमा समितिले बीमा भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । जीवन बीमा पनि मुख्य गरी तीन वर्गका हुन्छन् ।
क) आजीवन जीवन बीमा
बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमामा निर्धारित अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि बिमितले बीमा शुल्क तिर्नुपर्दैन र मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम भने पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।
ख) सावधिक जीवन बीमा
निश्चित अवधिसम्ममा बिमित जीवित रहेको अवस्थामा एकमुस्ट रकम प्राप्त गर्ने, यदि बिमितको मृत्यु भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवालाले प्राप्त गर्छ । त्यस्तै दोहोरो दुर्घटना लाभसमेत योजनामा समेटिएको भएमा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।
ग) म्यादी जीवन बीमा
सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानी गर्छ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन । यस्तो योजनाको बीमाशुल्क पनि कम हुन्छ ।
२. निर्जीवन बीमा
जीवन बीमा बाहेक चल–अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदीको बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषिअन्तर्गत पशुबीमा पनि ल्याएको । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ ।
नेपालमा बीमा व्यवसायको सुरुवात
नेपालमा बीमा व्यवसायको सुरुवातका सम्बन्धमा बीमा विज्ञ चन्द सिंह साउद लेख्छन–नेपालको आधुनिक बीमा व्यवसायको सुरुवातको इतिहास धेरै पुरानो छैन । आरम्भमा भारतीय बीमा कम्पनीहरुले खुलारुपमा कार्यालय खोली बीमा अभिकर्ता वा इन्सपेक्टरमार्फत नेपालमा बीमा व्यवसाय चालएका थिए । स्वदेशी बिमकको स्थापना पूर्व ६ वटा भारतीय बीमा कम्पनीले नेपालमा काम गरेको अभिलेख भेटिन्छ । बैंकिङ कारोबारको वृद्धिसँगै बीमाको महत्व र आवश्यकता बढ्यो । नेपाल बैंक लिमिटेडले वि.सं. २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गर्यो । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ । उक्त माल चलानी कम्पनी अहिले नेपाल इन्स्योरेन्स कम्पनीको नामले क्रियाशील छ ।
वि.सं. २०२४ साल पुस १ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा राष्ट्रिय बीमा संस्थान स्थापना भयो । संस्थानले आफ्नो कारोबार २०२४ साल फागुन ११ गतेदेखि चालू गरेको थियो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ पारित भएपछि २०२५ साल पुस १ गतेदेखि राष्ट्रिय बीमा संस्थानले जीवन तथा निर्जीवन दुवै बीमा गर्दै आएको छ । बीमा व्यवसायलाई व्यवस्थित गर्न बीमा नियामक निकाय स्थापना गर्न २०२५ सालमा छुट्टै बीमा ऐन जारी भयो । यसले बीमा समितिको स्थापना गरायो । सोही ऐनअनुसार बीमा नियम २०२६ समेत पारित भई कार्यान्वयन भएको हो । उद्योग, व्यापार तथा यातायात क्षेत्रको विकास हुँदै गएपछि थप बीमा कम्पनीहरु खुल्दै गए । २०४४ सालमा जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बिमकको रुपमा नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीको स्थापना भयो ।
वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि नेपाल सरकारले अंगीकार गरेको आर्थिक उदारीकरणको नीतिको परिणामस्वरुप हाल २५ वटा कम्पनीलाई जीवन र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न बीमा समितिबाट अनुमति प्राप्त छ । बीमा ऐन, २०२५ लाई संशोधन गरी बीमा ऐन, २०४९ आयो । हाल उक्त ऐनका विभिन्न दफामा आवश्यक संशोधन भइसकेको छ । बीमा नियमावली, २०४९ र बीमा ऐनलाई थप संशोधन गर्न बीमा समितिले अहिले पनि पहल गरिरहेको छ ।
नेपालको बीमा बजारप्रति बहुराष्ट्रिय बीमा कम्पनी, पुनर्बीमा कम्पनीलगायत अन्तर्राष्ट्रिय बीमा संगठनले समेत सरोकार राख्दै आएका छन् । बीमा समितिले २०५६ साल चैतमा बीमासम्बन्धी अन्तर्रा्ष्ट्रियस्तरको सम्मेलनसमेत गरिसकेको छ । यसले नेपालको बीमा बजारलाई विश्वसामु परिचित गराउन सहयोग पुर्यायो । हाल नेपालमा पुनर्बीमा कम्पनी नभएकोले नेपालको पुनर्बीमा व्यवसाय विदेशी पुनर्बिमकमा भर परेको छ । केवल निर्जीवन बीमा व्यवसायको आतंकवाद समूहअन्तर्गत पर्ने हुलदंगा, हडताल, दैषपूर्ण कार्य तथा आतंकको बीमाको लागि आकस्मिक बीमा कोष स्थापना गरिएको थियो, जसको पुनर्बीमा पनि विदेशी कम्पनीमै भर परेको छ । त्यसैले आकस्मिक बीमा कोषलाई पुनर्बीमा कम्पनी बनाउन गृहकार्य सुरु भइसकेको पनि छ ।
बीमाको महत्व एवम् फाइदाहरु
बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बिमितलाई कहिले पनि घाटा हुँदैन । बुँदागत रुपमा हेरौँ बीमा गर्दाका फाइदाहरुलाई ।
सर्वोत्तम बचत
जीवन बीमालाई सर्वोत्तम बचतका रूपमा लिन सकिन्छ । तर, यसप्रकारको बचत जुनसुकै समयमा झिक्न सकिँदैन । बैङ्क तथा वित्तीय संस्थामा रकम राख्दा जुनसुकै समयमा रकम झिक्न सकिने भएकाले अनावश्यक खर्च हुने सम्भावना पनि हुन्छ । तर, जीवन बीमाबापत सङ्कलन गरेको बचत तुरून्तै निकाल्न नसकिने भएकाले यसलाई सर्वोत्तम बचत भनिएको हो । बीमामा निर्धा्रित समयमा बीमा कम्पनीलाई बीमाशुल्क तिर्नुपर्ने हुन्छ । तोकिएको समयमा बीमाशुल्क नतिरेमा जरीवानासमेत तिर्नुपर्ने हुन्छ । त्यसैले, निर्धा्रित समयमै बीमाशुल्क भुक्तानीमार्फत अनावश्यक खर्च कटौती गरी बीमाशुल्कका रूपमा बचत गरिन्छ ।
सर्वाेत्तम बचतलाई अनिवार्य वा बाध्यात्मक बचत पनि भन्न सकिन्छ । जीवन बीमामा बीमितले पटक–पटक गरेर थोरै–थोरै रकम तिर्दै गए पनि बीमा परिपक्वता हुँदा धेरै रकम सङ्कलन हुन्छ । साथै, बीमा अवधि नसकिँदै बीमितको मृत्यु भएमा सोही समयमा भविष्यमा तिर्नुपर्ने रकम वा बीमाङ्क तथा सो अवधिसम्मको बोनससमेत निजको हकवालाले प्राप्त गर्छ ।
आर्थिक सुरक्षा
जीवन बीमाको चर्चा हुनेबित्तिकै आर्थिक सुरक्षाको पनि कुरा आउँछ । बीमा नै यस्तो साधन हो, जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको कवचका रूपमा काम गरेको हुन्छ । बीमामा बीमितको धेरै ठूलो रकमको जोखिम वहन भएको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमाङ्क तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई प्रदान गर्छ । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।
कर छूट
आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।
ऋण सुविधा
बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नुपर्दैन ।
परनिर्भरता उन्मूलन
जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन ।
मानसिक शान्ति
मानिसलाई आफ्नो जीवनमा हुन सक्ने अनिश्चितताले सताइरहेको हुन्छ । आफ्नो मृत्युपछि घरव्यवहार सञ्चालन, सन्तानको शिक्षा, बुढेसकालको सहारालगायत विविध कारणले गर्दा मानिसहरू त्रसित भएका हुन्छन् । जीवन बीमाले यस्ता समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले मानसिक शान्ति प्रदान गर्छ ।
भविष्यको योजना निर्माण
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा माथि नै हुन्छ । हामीसँग भविष्यका योजनाहरु पनि हुन्छन् । सोही अनुसार हामी काम गरिरहेका हुन्छौँ । उदाहरणका लागि ३ वर्षपछि एउटा स्कार्पियो किन्छु वा ८ वर्षपछि घर बनाउँछु । यस्ता योजनामा हामीले आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । यसका लागि हामीले बचत गर्न थाल्नुपर्छ, काम गर्नुपर्छ यस्तै यस्तै । कुनै पनि व्यक्तिका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।
मुलुकको विकासमा भूमिका
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि सानो योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी पुँजी जीवन बिमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।
छोराछोरीको शिक्षा
हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ ।
बीमा कम्पनीहरु
नेपालमा जम्मा २७ वटा बीमा कम्पनीहरु छन् । जसमा ९ वटा जीवन बीमा कम्पनीहरु छन् । १७ वटा निर्जीवन बीमा कम्पनीहरु छने भने एउटा पुनर्बीमा कम्पनी रहेको छ ।
नियामक निकाय
नेपालमा हाल बीमा कम्पनीहरुको नियामक निकायका रुपमा बीमा समिति रहेको छ । समितिले नेपालभर रहेका बीमा कम्पनीहरुको नियमन गर्नुका साथै बीमा क्षेत्र सुधारका विभिन्न योजना तथा निर्देशनहरु जारी गर्ने गर्दछ ।
अन्य सान्दर्भिक तथा महत्वपुर्ण विषयहरु
बीमा अभिकर्ता : बीमा कम्पनीको तर्फबाट काम गर्ने अभिकर्ता हो ।
बीमा सर्भेयर : बीमा गरिएको कारणले कुनै क्षति भएमा सो को मूल्यांकनकर्ता हो ।
बीमांकी : बीमांकीय बिज्ञानमा स्नातक गरेको ब्यक्ति हो ।
बीमांकीय बिज्ञान : दायित्व मूल्यांकन सम्बन्धी उच्च प्राबिधिक तथा ब्यावसायिक विषय हो ।
दाबी मूल्यांकनकर्ताहरु : बीमा गरिएको कारणले भएको क्षतिको मूल्यांकनकर्तालाई दाबी मूल्यांकनकर्ता भनिन्छ ।