December 8th, 2024

नेपालका बैंकिङ क्षेत्रका कर्मचारीका समस्याहरु


बैंकिङ खबर/ हेर्दा चिटिक्क टाईसुटमा सजिएको दैनिकी अनि आकर्षक सेवासुविधा र सुरक्षित भविष्य । यही देखेर अहिलेका युवा पिँढी बैंकमा करिअर बनाउन भौतारिरहेका छन् । बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्ने वित्तीकै आर्थिक हैसियत उकासिने भएकाले पनि यसको आकर्षण अझ बढ्दोछ । अन्य पेसा तथा व्यवसायका तुलनामा बैंकको जागिर सानै पद भएपनि जीवनयापन गर्न थप संघर्ष गर्नु नपर्ने बैंकका जागिरेहरू बताउँछन् । तर पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका कारण बैंकरहरु समस्यामा पर्ने गरेका छन् । जसलाई तल प्रस्तुत गरिएको छ ।

बैंकिङ कसुरको डर

प्रायजसोः बैंकिङ कसुरका घटनामा बैंकका कर्मचारीकै संलग्नता हुने गरेको छ । बैंकिङ कसुरको आरोपमा बैंकका कर्मचारीहरुनै पक्राउ पर्नेक्रम बढ्दो छ । यस्ता थुप्रै घटना छन्, जसमा बैंकका कर्मचारीहरुसहित सञ्चालक एवम् व्यवस्थापकीय टिमकै संलग्नता पाइएको छ । यसरी बैंकिङ क्षेत्रका कर्मचारीका मुख्य समस्याको रुपमा बैंकिङ कसुरको डर हो । गएको जेठमा मात्रै तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बैंकिङ कसुरको आरोपमा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो । यस अघि पनि बैंकिङ कसुरमा बैंककै कर्मचारीहरु संलग्न हुने गरेका छन् ।

उच्च कार्यदबाब

बैंकहरूबीच देखिँदै गएको कडा प्रतिस्पर्धाको कारण बैंकका कर्मचारीको काममा उच्च दबाब छ । अर्कोतर्फ लक्ष्यअनुसारको कर्जा प्रवाह नहुँदा र कर्जा नउठ्दा बैंकिङ्ग क्षेत्र ‘स्ट्रेस’मा छ । समग्र बैंकिङ्ग क्षेत्र नै लक्ष्यअनुरुपको लगानी नहुँदा स्ट्रेसमा भएपछि यसमा आवद्ध बैंकर्समाथि उच्च कार्य दबाब रहेको छ ।

लामो कामकाज घण्टा

काममा दबाब पर्दा उनीहरु लामो समय काममा खटिनुपर्ने बाध्यता रहेको छ । दैनिक गर्नुपर्ने कामहरु रिकभरी, वित्तीय जोखिमहरूको व्यवस्थापन लगायतका कार्यहरू पूरा गर्ने दबाबले बैंकरहरू लामो समय काम गर्न बाध्य छन् ।

बढ्दो डिजिटल बैंकिङसँगै रोजगारीको क्षेत्र पनि खुम्चिँदै गएको छ । बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवा सुविधा परिष्कृत गर्दै परम्परागत रूपमा चल्दै आएको कागजी र भौतिक शाखामा निर्भर बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैंकिङ सुविधा प्रदान गरिरहेका छन्।

सरल, सहज र सुलभ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत डिजिटल प्रविधिमा आधारित सेवाहरू नयाँ–नयाँ खोज, अनुसन्धान र अनुभवले अझै परिष्कृत हुँदै गएका छन् । डिजिटल बैंकिङ संस्थाको आन्तरिक अटोमेसन मात्र नभएर पेमेन्ट सिस्टमको स्तरोन्नति पनि हो। नेपालमा वित्तीय पहुँच र समावेशिता अभिवृद्धिका लागि प्रविधिले उपलब्ध गराएको डिजिटल बैंकिङ सेवाको उच्चतम प्रयोग आवश्यक छ ।

तलब वृद्धिको अभाव

बैंकहरूमा तुलनात्मक रूपमा राम्रो पारिश्रमिक र सुविधा भएपनि अपेक्षा अनुसार तलब वृद्धि हुन नसकेको कर्मचारीहरु गुनासो गर्दछन् ।

रोजगार स्थिरताको निश्चितता

नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याएसँगै बैंक तथा वित्तीय संस्थाहरुको संख्या क्रमशः कमी हुँदै आएको छ । बैंकवित्तको संख्या घटेको छ । जसका कारण रोजगारीको क्षेत्र समेत खुम्चिएको छ ।

विदेशीनुपर्ने बाध्यता

बढ्दो युवा जनशक्ति विदेश पलायन हुने क्रममा बैंकमा जागिर गरिरहेकाहरू पनि थपिन थालेका छन् । बैंकरहरूका अनुसार पछिल्लो समय बैंक छाड्नेमध्ये करिब ७० प्रतिशत विदेश पलायन भइरहेका छन् भने करिब ३० प्रतिशतले अर्को कुनै बैंक तथा वित्तीय संस्थामा गइरहेका छन्। बैंकमा वरिष्ठ तहकादेखि नवप्रवेशीहरू समेत बैंक छाडेर विदेश गइरहेका छन् । बैंकिङ क्षेत्रमा पनि जनशक्ति व्यवस्थापन चुनौती बनिरहेको छ ।