December 3rd, 2024

आम्दानी हुँदा पनि ऋणको दलदलमा सर्वसाधारणः कारण र समाधानका उपायहरु

कृष्ण बाबु घिमिरे

हिजोआज कतिपय मानिसहरू आफ्नो आम्दानीको प्रवाह जति नै भएपनि त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्दा र उचित बजेटिङ नहुँदा झन् पछि झन् ऋणको दलदलमा परेको देख्न सकिन्छ । यसो हुनुको मुख्य भूमिका तपाईं आफै नै हो ?
जसरी जीवित प्राणीका लागि रगत अति आवश्यक हुन्छ, त्यति नै आवश्यक एक व्यक्ति,परिवार, समाज, देश र पूरा विश्व चलायमानको लागि वित्तको आवश्यक पर्दछ ।

कुनै पनि व्यक्तिले कृषि, नोकरी, व्यावसाय, सेवा तथा अन्य कुनै न कुनै क्षेत्रबाट आम्दानी गरिरहेकै हुन्छन् । सोही आम्दानीबाट आवश्यक शीर्षकमा खर्च गरी शेष रहेको रकम नै बचत हो । सम्पूर्ण व्यक्तिहरूको लागि बचत गर्नु अति नै अपरिहार्य छ किनकि बचतले नै भविष्यमा हुनसक्ने सम्भावित जोखिमहरूको न्यूनीकरण गर्दछ ।

तर केही यस्ता गलत आदतहरूले गर्दा हाम्रो आम्दानीको प्रवाह राम्रो हुँदाहुँदै पनि बचत हुने अवस्थाबाट टाढा रही वित्तीय समस्याहरूसम्म झेल्नुपर्ने हुन्छ । जुन तपाईं हामी देखिरहेका तथा भोगिरहेका छौं । एक अनुसन्धानले भन्छ,‘यदि तपाईं वित्तीय स्वतन्त्रता चाहनुहुन्छ भने आफ्नो आम्दानीको ७० प्रतिशत मात्र खर्च गर्नुहोस् र बाँकी रहेको ३० प्रतिशत बचत गर्नुहोस् । यसो गरेमा वित्तीय समस्याबाट बच्न सकिन्छ ।’

यस लेखमा तपाईं हाम्रा यस्ता गलत बानीहरूको बारेमा लेख्दैछु । जसको कारणले आम्दानी भन्दा बढी खर्च भइ वित्तीय समस्या निम्त्याउन तथा आर्थिक संकट हुनमा भरपुर सहयोग गर्दछन्, ती यस प्रकार छन् ।

१) आफ्नो वास्तविक आयभन्दा बढी आय छ भनि गफ लगाउने तथा सावित नै गर्नको लागि ऋण लिएर भएपनि खर्च गर्ने तथा आफ्नो क्षमता भन्दा बढी खर्च गर्ने बानी ।

२) कसैले तपाईँलाई उक्साएको उचालेको भरमा गहिरो चिन्तन नगरी आवश्यकता भन्दा बाहिरको वस्तु तथा सेवा आवेगमा आइ खरिद गर्ने बानीले आर्थिक संकट निम्त्याउन सक्दछ ।

३) तपाईंको व्यक्तिगत जीवनशैली आवश्यकताभन्दा बढी सरल बनाउँछु भन्दै व्यक्ति तथा संस्थागत कर्जा बढी लिने र विलाशिताका वस्तु किन्नाले आर्थिक समस्या बढ्छ ।

४) उच्च ब्याजदरमा कर्जा उपभोग गर्ने र ब्याज रकम मात्र पनि आम्दानीबाट तिर्न नसक्दा पुन उच्च ब्याजदरमा कर्जा लिने र कर्जाले कर्जाकै ब्याज मिलन गर्ने बानीले तपाईंको जीवनमा ठूलो आर्थिक दुर्घटना निम्त्याउन सक्छ ।

५) उपयोगिताको बिल, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज वा अनौपचारिक निकायबाट लिएको ऋणको ब्याज जस्ता कुरा समयमा नबुझाएमा अन्तिममाफाइन हर्जनासहित एकमुष्ट रकम बुझाउनुपर्ने अवस्था आइपर्दछ । एकमुष्ट रकम बुझाउन नसक्दा ठूलो आर्थिक दुर्घटना निम्तिन सक्छ ।

६)आफ्नो आम्दानीको आधारमा महिनाको सुरुमा बजेट तयार नगर्दा आफूले के कति कुन शीर्षकमा खर्च गरिरहेको छु भन्ने थाहा हुँदैन । जसले गर्दा आफ्नो बजेट अनुसार चल्न नसक्दा आर्थिक भार बेहोर्नु पर्दछ । प्रत्येक वर्षको जेठ १५ आयो भने सरकारले कस्तो बजेट ल्याउँछ भनेर सुन्छौं हेर्छौं तर आफ्नो जिन्दगीको बजेट भने हामीले कसैले कहिले पनि बनाएनौं ।

७) घर जग्गाको कारोबार वा सेयर बजारको कारोबारमा गहिरो दखल नराखी अरुको देखासिखिमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर हात हाल्दा चुर्लुम्म डुबेको देख्न सकिन्छ । बजार भाउ घट्दो क्रममा भएको पत्तो नपाउने तर लगानी थप्दै जाँदा अन्तिममा घर न घाटको भइ ऋणको चपेटामा परेको हेर्न सकिन्छ ।

अहिले लिएको ऋणले उत्पादन गरेर भविष्यमा ऋण तिर्ने पैसा निकाल्न सक्नुपर्छ नत्र त्यस्ता परियोजनाले ऋणको फन्दामा पार्ने गर्छ, नेपालमा सरकार र निजी क्षेत्र दुवैले ऋण लिएर गरिरहेको लगानीले अपेक्षित प्रतिफल नदिएको जसले गर्दा ऋण बोझमा परिणत भएको देख्न सकिन्छ । सरकार होस् वा निजी क्षेत्र दुवैको ऋण धेरैजसो अनुत्पादक काममा खर्च भइरहेकोमा शंका छैन।

ऋण बढ्ने तर त्यसले प्रतिफल नदिए ऋणको भार थप चुलिन्छ । त्यसको परिणाम उम्कनै कठिन पर्ने दलदल सिर्जना हुन्छ । तसर्थ, तपाईका यी माथि उल्लेखित बानिहरु समयमै हटाउँ, आफ्नो भावनालाई नियन्त्रणमा राखौं, हरेक हिसाब किताबको लेखाजोखा राखौं, भड्किलो जीवन भन्दा सादा जीवन जिउन सिकौं त्यसले मानसिक शारीरिक तथा आर्थिक स्वस्थ्यता कायम राख्न सहयोग गर्दछ ।

यो पनि जानिराखौं ।

ऋण लिनु पूर्व के कति कुरामा ध्यान राख्ने त ?

यदि तपाई बैंकसँग ऋण लिँदै हुनुहुन्छ भने कति ऋण लिने ? किन ऋण लिने ? ऋण लिनुअघि के–के कुरा बुझ्ने ? के–के कुरा गर्ने र के नगर्ने ? तपाईंले बैंक अथवा अरु संस्थाबाट लिएको ऋण तिर्नुभएन भने के हुन्छ ? वित्तीय संस्थासँग लिएको ऋण कस्ताखालका उद्यम/व्यवसायमा लगाउने भन्नेबारे पहिल्यै चनाखो हुनुपर्छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको पहुँच बढ्दै जाने, कर्जा लिनेको संख्या पनि बढ्ने तर कर्जाको ठीक सदुपयोग नभएपछि आर्थिक अवस्था झन् बिग्रिएर घरवारविहीन हुनुपरेका उदाहरण पनि प्रशस्त छन् ।

त्यसैले कर्जा लिँदा स्पष्ट व्यावसायिक योजना बनाएर मात्र अघि बढ्नुपर्छ । मुख्यतः उपभोगका लागि ऋण लिने बानीलाई घटाउँदै जानुपर्छ । अर्थात् पछि आम्दानी दिने काममा लगानी गर्नका लागि मात्र ऋण लिनु उपयुक्त हुन्छ ।

बैंकबाट ऋण लिनुअघि ऋण लिएको पैसा के काममा खर्च गर्ने, उक्त काम ऋण नलिई गर्न सम्भव छ कि छैन, ऋण तिर्नका लागि कति समय लाग्ला जस्ता कुराहरुमा ध्यान दिनुपर्दछ ।

समयमा ऋण तिर्न नसकेमा हर्जाना तिर्नुपर्ने, धितो लिलाम हुन सक्ने र अन्ततः कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत पर्न जाने र ऋण लिने व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने हुुँदा समयमै कर्जाको किस्ता बुझाउनेतर्फ सधैं सजग रहनुपर्छ ।

हामीकहाँ बैंकबाट ऋण लिने कुरालाई गरिब हुनु वा कमजोर हुनुसँग जोडिन्छ, यो एकदम गलत कुरा हो । बैंकबाट लिएको ऋणले जीवनस्तर परिर्वतन गर्नुपर्छ । उत्पादशील कार्यमा लगानी गरी मुनाफा आर्जन गरी आफनो परिवार मात्र होइन, देशको अर्थतन्त्रमा समेत योगदान पु¥याउनु हो भन्ने कुरा बुझाउन सक्नुपर्छ ।

ऋण लिने व्यक्तिले पनि प्राप्त ऋणको सही सदुपयोग गर्न सक्नुपर्छ र ऋण प्राप्ति तथा समयमा कर्जा भुक्तानी नगर्दा के हुने जस्ता विषयहरुमा सचेत हुनुपर्छ ।

उत्पादनशील क्षेत्रमा लगानीको सही सदुपयोग हुँदा देशको अर्थतन्त्र बलियो बन्छ । नागरिकको उन्नती देशको अर्थतन्त्रसँगै जोडिएको हुन्छ । आज संसारमा पैसालाई परिचालन गर्न सक्नेहरु थोरै पैसाले पनि धेरै काम गर्न सक्षम भएका छन् । त्यस कारण पर्याप्त सोच, विचार गरेर मात्र ऋण लिनका लागि प्रोत्साहित बन्नुपर्छ । यसले ऋण लिने ब्यक्तिलाई सधैं ऋणी होइन, उसको जीवन समृद्ध बन्न मद्दत हुन्छ ।

(लेखक कृष्ण बाबू घिमिरे (बैंकर) हुन् । उल्लेखित विचार लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैन)