November 13th, 2024

विकास ऋणपत्रमार्फत थप १० अर्ब आन्तरिक ऋण लिँदै सरकार

बैंकिङ खबर/ सरकारले विकास ऋणपत्रको बोलकबोलमार्फत थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सो रकम बराबरको आन्तरिक ऋण उठाउन विकास ऋणपत्र २०८७ नामको ऋणपत्र जारी गरेको छ । सरकारले ६ वर्ष अवधिका लागि उक्त ऋण लिन लागेको हो ।

विकास ऋणपत्र २०८७ को कात्तिक २८ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ भने कात्तिक २९ गते बिहीबार निष्कासन हुने जनाइएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।

ऋण बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, अन्य संगठीत संस्था र नेपाली नागरिकले दिन पाउनेछन् । सरकारले लिने यो ऋणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी ६–६ महिनामा हुनेछ । सो ऋणपत्रको २०८७ कात्तिक २९ गते सावाँ भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

इच्छुक संस्था तथा नेपाली नागरिकले घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५ लाखले निःशेष भाग जाने रकम बराबरको ऋणपत्र किन्न पाउनेछन् । सरकारलाई दिएको यो ऋणको प्रमाणपत्र अर्थात् ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाइनेछ भने धितोपत्रको दोस्रो बजारमा पनि खरिदबिक्री हुनेछ ।

चालु आर्थिक वर्षको हालसम्म सरकारले १ खर्ब ३४ रुपैयाँ बराबरको आन्तरिक ऋण लिइसकेको छ । जसमध्ये ८९ अर्बको विकास ऋणपत्र हो भने ४५ अर्बको ट्रेजरी बिल्स हुन् । बुधबार जारी हुनेसमेत गरेर सरकारले लिएको आन्तरिक ऋणको आकार १ खर्ब ४४ अर्ब पुग्नेछ ।

Bikash-rinpatra