November 10th, 2024

सजिलो छैन बैंकिङ रोजगारी : सबैभन्दा धेरै समय, धेरै मिहिनेत

 

बैंकिङ खबर । सर्वसाधारणले खाइनखाई बचत गरेको पैसाको जम्मा गरी सही ठाउँमा लगानी गर्ने सोको प्रतिफल बचतकर्तालाई समेत दिने जिम्मेवारी बैंकको हो । यस्तो संवेदनशील कार्य गर्ने बैंक तथा वित्तीय संस्थामा रोजगारी गर्नु त्यत्ति सजिलो छैन । यसका लागि धेरै समय, मिहिनेत, धैर्यता र लगनशीलता आवश्यक पर्दछ । वित्तीय संस्थामा आउने कर्मचारी भनेको मेनेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरु हुन् ।

तर, किताबी ज्ञानले मात्रै हुँदैन । अहिलेका विद्यार्थीहरुमा इनर्जी छैन । बैंकको सिस्टम मात्रै जानेको भरमा इगो लिएर बसेका छन् । यस्ता व्यक्तिहरुले बैंकमा जोखिम सिर्जना गर्न सक्ने भएकाले बैंकहरु कर्मचारी छनौटमा एकदमै संयम् हुन्छन् । बैंक तथा वित्तीय संस्थामा काम गर्ने आउने कर्मचारीहरु इमान्दार, मेहनती, लगनशिल र क्षमता भएको हुनु जरुरी छ ।

बैंकको कर्मचारी हुन धैर्यता पनि आवश्यक हुन्छ, जुन आजका मानिसमा कम पाइन्छ । कुनै गन्तव्यमा पुग्न समय र मिहिनेत लाग्छ । यो कुरा सँधै ध्यानमा राख्नुपर्छ । सानो पदबाट बैंकमा प्रवेश गर्न हिच्किचाउनु हुँदैन । किनकि, ससनो कुराको अनुभवबाट नै हिम्मत, आत्मविश्वास र अनुभव बढ्छ ।

मेनेजर बन्नका लागि पहिले कर्मचारी बन्नुपर्छ, तबमात्र उसले कर्मचारीको भावना बुझेर राम्रोसँग व्यवस्थापन गर्न सक्छ । शैक्षिक योग्यताकै आधारमा सीधै ठूलो पद ताक्ने वा सानो पदमा काम गर्न हिच्किचाउने गर्नु हुँदैन । बैंकमा नै करिअर बनाउने सोचमा हुनुहुन्छ भने मनमा इगो राखेर हुँदैन । सिक्ने मनशाय हुनुपर्छ । सानो पदबाट अनुभव लिँदै पोख्त बन्नुपर्छ ।

शैक्षिक योग्यताका साथमा बाह्य ज्ञान

शैक्षिक योग्यता आवश्यकताको कुरा हो । तर, बैंक चलाउन शैक्षिक योग्यताका साथमा बाहिरी ज्ञानहरुको पनि आवश्यकता पर्दछ । बैंकमा जागीर खान चाहनेले पहिले बैंकभित्र केके कुरा हुन्छन् ? बैंकिङ जोखिम के हो ? बैंकिङ क्षेत्रका अवसरहरु केके हुन् ? लगायतका विषयमा पनि राम्रोसँग जानकारी हासिल गर्नुपर्दछ । बैंकमा जागीर खाने मेनेजमेन्ट विद्यार्थीहरुले नै हो । तर, यस्ता कुराहरु कोर्समा हुँदैनन् ।

कुनै पनि बैंकमा अन्तर्वार्ताका लागि जाँदा उक्त बैंकको बारेमा सबै जानकारी हुनुपर्छ । साथमा, बैंकिङ क्षेत्रमा पछिल्ला खबरहरु अध्ययन गर्नुपर्छ । नयाँ नीतिनियमहरु थाहा भएको हुनुपर्छ । कतिपय व्यक्तिलाई बैंक के हो ? के काम गर्छ ? बैंकले फाइनान्सिङ कसरी गर्छ ? लगायतका सामान्य कुराहरुमा पनि ज्ञान हुँदैन । यस्ता कुराहरुमा ध्यान दिनुपर्छ ।

इनर्जेटिक व्यक्तित्व

अहिलेका विधार्थीहरुमा इनर्जी छैन, मैले केही गरेर देखाउछु भन्ने धारणा छैन, म जागिर गर्छु भनेर आँट गरेर आउन सक्ने क्षमता छैन । उनीहरुले एकैचोटी ठूलो पोस्टमा जागिर खान्छु र धेरै पैसा कमाउँछुु भन्ने धारणा राखेका हुन्छन् । त्यस्तो मानसिकताले गर्दा मानिसहरुले केही प्रगती गर्न सक्दैनन् । हरेक कुरा जान्न खोज्ने, मिहनेती, लगनशील र जागरिँला मानिस मात्र बैंकले राख्ने गर्दछ ।

पैसातिर भन्दा पनि नैतिकतालाई ध्यानमा राखेर काम गर्ने व्यक्तिले बैंकमा जागीर पाउँछ । बैंकमा जागिरका लागि जाने विद्यार्थीहरु उत्सुक, क्षमतावान र बैंक तथा वित्तीय क्षेत्रमा ज्ञान भएका हुनुपर्छ । लगनशील भएर काम गर्यो भने बैंकिङ क्षेत्रमा राम्रो भबिष्य छ ।

वित्तीय अनुशासन

वित्तीय अनुशासन नभएका कर्मचारीले बैंक डुबाउँछन्, पैसाको हिनामिना गर्छन् र बैंकको छवि विगार्छन् । बैंकले आफ्नो बदनामी पक्कै चाहँदैन । त्यसैले, वित्तीय अनुशासन भएको कर्मचारी खोज्छ । बैंकले जागीरका लागि अन्तर्वार्तामा बोलाउँदा यस विषयमा बुझ्ने कोशिस गर्छ । पैसा कमाउनका लागि उ कत्तिको आतुर छ भन्ने कुरामा बैंकले चासो राख्छ । किनकि, छिटो समयमा धेरै पैसा कमाउन बैंक छिर्नेहरुले नै हो वित्तीय अनुशासन गुमाउने ।

स्वनिर्णायक क्षमता

आफ्नो जिम्मेवारीभिको विषयमा आफैँ निर्णय लिन सक्ने कर्मचारी बैंकले खोज्छ । उक्त कर्मचारीले कति छिटो र कस्तो निर्णय लिन्छ भन्ने कुराले महत्व राख्छ । साथमा आफ्नो निर्णयप्रति जवाफदेही पनि हुन सक्नुपर्छ ।

नातागोताबाट चल्दैन बैंक

बैंक तथा वित्तीय संस्थामा आफ्नो मान्छे भन्दा पनि बैकलाई बैंक चलाउन सक्ने मानिसको खाँचो हुन्छ । त्यसकारण नाताबाट भन्दा पनि क्षमताबाट नै बैंक तथा वित्तीय संस्थामा जागिर खान सकिन्छ । कसैका दाईभाई, साली भेना र अरु नातागोताहरुलाई जागिरमा राखेर सम्भव हुँदैन । स्वच्छ क्वालिटी भएको मानिसलाई राखेर मात्रै बैंक अघि बढ्न सक्छ ।

अर्धज्ञानको समस्या

अहिलेका विद्यार्थीहरुमा अर्धज्ञानको समस्या रहेको छ । मानिसहरु न त पूर्ण रुपमा नेपाली जान्छन् न त अंग्रेजी नै । बोलाई र लेखाई दुबैमा यो समस्या छ । उच्च तहको अध्ययन गरेका व्यक्तिहरु टाइपिङ जान्दैनन् ।

नेपाली टाइपिङ जानेका व्यक्ति त भनै कम छन् । त्यसैले, पहिले आफूलाई हरेक तर्फबाट दक्ष बनाएर मात्रै बैंकमा जागीरका लागि एप्लाई गर्नुपर्छ । दक्ष मानिसलाई बैंकले सँधै प्राथमिकतामा राख्छ ।