बैंकिङ खबर/ बैंकिङ क्षेत्र र शेयर बजार बीच एकापसमा सम्बन्ध रहेको हुन्छ । बैंकिङ क्षेत्र वित्तीय सेवा प्रदायकहरू (जस्तै, बैंक, फाइनान्स कम्पनीहरू) हुन् । जसले कर्जा, बचत, निक्षेप, र अन्य वित्तीय सेवाहरू प्रदान गर्छन् । यस क्षेत्रको मुख्य उद्देश्य आर्थिक गतिविधिहरूलाई सहयोग पुर्याउनु र मुद्राको सञ्चालन सुनिश्चित गर्नु हो ।
शेयर बजार धितोपत्रको कारोबार हुने प्राथमिक तथा दोस्रो बजार हो । यसलाई समष्टिगत रूपमा पूँजी बजार समेत भन्ने गरिन्छ । जहाँ विभिन्न तरिकाबाट पूँजीहरूलाई एकत्रित गर्ने तथा एकत्रित गरिएका पूँजीहरूलाई शेयरको रूपमा कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ ।
शेयर बजारलाई अझ स्पष्टसँग व्यक्त गर्नुपर्दा धितोपत्रको दोस्रो बजार अर्थात् स्टक एक्सचेन्जको रूपमा समेत व्यक्त गर्ने गरिन्छ । तर यो दोस्रो बजारको रूपमा मात्रै सीमित नरहेर अझै व्यापक रूपमा रहेको हुन्छ ।
जसअन्तर्गत प्राथमिक शेयर निष्काशन तथा खरिद–बिक्री, सूचीकृत संस्थाहरूको विभिन्न प्रकारका धितोपत्र तथा वित्तीय औजारहरूको खरिद–बिक्री, सूचीकृत हुने क्रममा रहेका तथा विभिन्न कारणले सूचीकरणबाट बाहिरिएका कम्पनीहरूलाई ओटिसी बजार मार्फत कारोबार गरिने पूर्ण रूपको पारिस्थितिक प्रणाली रहेको हुन्छ । शेयर बजारले कम्पनीहरूलाई पूँजी संकलन गर्न मद्दत पुर्याउँछ र लगानीकर्ताहरूलाई लाभ प्राप्त गर्न अवसर दिन्छ ।
यी दुई क्षेत्र बीचको यस्तो छ सम्बन्ध
१.बैंकिङ र शेयर बजारको आपसी निर्भरता
बैंकहरूले कम्पनीहरूको ऋण दिन्छन् जसले उनीहरूको कार्यक्षेत्रमा विकास गर्न मद्दत पुर्याउँछ । जसको परिणामस्वरूप कम्पनीको शेयर मूल्य बढ्न सक्छ ।
२.बैंकहरूले शेयर बजारमा लगानी गर्न सक्छन्
बैंकहरू आफ्ना पुँजीलाई शेयर बजारमा लगानी गर्ने तरिकामा प्रयोग गर्न सक्छन्। यसले बैंकलाई जोखिम र लाभको सन्तुलनमा मद्दत पुर्याउँछ ।
३. पुँजी बजारको पहुँच
बैंकहरूले शेयर बजारको माध्यमबाट पुँजी संकलन गर्न सहयोग पु¥याउन सक्छन्, र यसरी दुई क्षेत्रहरू बीचको तालमेल बढ्न सक्छ ।
४.बजारको उतारचढाव
नेपालमा शेयर बजार प्रायः उतार चढाव भइरहेको छ । यसको अर्थ के भने, बजारको मूल्य द्रुत गतिमा माथि र तल जान सक्छ । यसले गर्दा छिटो लाभ कमाउने अवसरहरू पनि आउँछन् र जोखिम पनि बढ्छ । तर केही समयको पछाडि यदि सही समयमा शेयर किनिएको छ भने लगानीकर्ताहरूको मुनाफा बढ्न सक्छ ।
५. कम ब्याज दर
नेपालका बैंकरहरूको ब्याजदरहरू निरन्तर घटिरहेको छ । यस्तो अवस्थामा, बैंकका निक्षेपकर्ताहरूले थोरै ब्याज प्राप्त गर्छन्, जसले उनीहरूलाई शेयर बजारमा लगानी गर्न उत्साहित गर्न सक्छ । यसबाट शेयर बजारमा लगानी बढ्छ र कम्पनीहरूलाई पूँजी प्राप्त हुने अवसर मिल्छ ।
६. कम्पनीहरूको लाभ र आर्थिक वृद्धिको असर
नेपालमा बैंकिङ क्षेत्रसँग सम्बन्धित कम्पनीहरू, निर्माण, ऊर्जा, र अन्य उद्योगहरू आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यदि यी कम्पनीहरू राम्रो प्रदर्शन गर्दै छन् भने, यसले शेयर बजारमा लगानी गर्न इच्छुक व्यक्तिहरूलाई आकर्षित गर्छ र यसबाट मुनाफा कमाउन मद्दत मिल्छ ।
७. नियामक वातावरण
नेपालमा शेयर बजारलाई नियमन गर्ने विभिन्न निकायहरू (जस्तै, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज) छन् । यदि यी निकायहरूले बजारको पारदर्शिता र विश्वासको सुनिश्चितता गर्छ भने, लगानीकर्ताहरूको विश्वास बढ्छ र बजारलाई स्थिरता प्राप्त हुन्छ ।
८. सार्वजनिक विश्वास र मनोविज्ञान
नेपालमा शेयर बजारमा बुझ्दै नबुझि लगानी गर्ने प्रवृत्ति छ । खासगरी जब लगानीकर्ताहरूले अरुले धेरै कमाइ रहेको देख्छ । यसले मनोविज्ञानलाई असर गर्छ र बजारको वृद्धि बढाउँछ, जुन लामो समयसम्म टिक्न सक्दैन।
त्यसैले, नेपालका शेयर बजारमा लाभ कमाउने र हानिको कारण विभिन्न आर्थिक, व्यावसायिक, र सामाजिक तत्वहरूसँग सम्बन्धित छन् । लगानी गर्दा बजारको भोलि वा भविष्यको प्रवृत्तिका बारेमा सोचेर गर्नुपर्ने देखिन्छ ।
लगानीकर्ताले यी विषयमा ध्यान दिन अत्यन्त आवश्यक
कतिपय नयाँ लगानीकर्ताहरूलाई बजारमा कसरी लगानी गर्ने, कसरी प्रोफिट बुक गर्ने, कसरी शेयर बजारबाट मनग्ये कमाउने, घाटा हुनबाट कसरी बच्ने लगायतबारे थाहा नहुन पनि सक्छ ।
किनभने पछिल्लो समय हल्लाको भरमा बजारमा लगानी गर्नेहरू बढी छन् । यस्तै लगानीकर्ताका कारण नेपालको शेयर बजारमा राम्रा र नराम्रा दुवै खाले हल्लाले बढी प्रभाव पार्दै आएको देखिन्छ । यसरी हल्लाले बढी प्रभाव पार्ने बजारमा जोखिम पनि बढी हुन्छ । त्यसैले शेयर बजारमा लगानी गर्नुपूर्व धेरै कुरामा विचार पुर्याउनुपर्ने हुन्छ । लगानीकर्ताले यी विषयमा ध्यान दिन अत्यन्त आवश्यक रहेको छ: –
१. देशको अर्थतन्त्र तथा राजनीतिक अवस्था, तरलताको स्थिति एवं व्याजदरजस्ता पक्षहरुको प्रभाव धितोपत्र बजारमा पर्ने हुँदा लगानी सम्बन्धी निर्णय लिँदा आर्थिक, सामाजिक तथा राजनीतिक पक्षहरुलाई ध्यानमा राखी लगानी निर्णय लिनुहोस् ।
२. लगानी क्षमता र प्रतिफलमा समग्र मुद्रास्फीतिको समेत प्रभाव पर्ने भएकोले मुद्रास्फीतिको असरलाई ध्यान दिँदै लगानीको प्रतिफल मूल्यांकनका लागि लगानीको वास्तविक प्रतिफल दरलाई आधार बनाउनुहोस् ।
३.विशेषगरी एकल वा अप्रत्याशित घटना एवम् असरबाट हुने घाटाबाट आफ्नो लगानीलाई सुरक्षित राख्न लगानी विविधिकरणको महत्वलाई पहिचान गर्नुहोस् ।
४.इन्टरनेट लगायत अन्य सामाजिक सन्जालबाट लगानी सम्बन्धी प्राप्त सूचना, जानकारी तथा विवरणहरुलाई सम्बन्धित आधिकारिक पक्षबाट प्रमाणित गरी लगानी निर्णय गर्नुहोस् ।
५.धितोपत्रमा गरिने लगानीमा प्रतिफलसँगै जोखिम समेत रहने हुँदा जोखिमलाई न्यूनीकरण गर्न आफ्नो लगानी क्षमता अनुरुप लगानी विविधिकरणमा ध्यान दिनुहोस् ।
६. धितोपत्र कारोवारमा हुने जोखिमलाई व्यवस्थापन गर्न, अनपेक्षित वित्तीय तथा आर्थिक प्रभावहरुबाट सुरक्षित रहन लगानी सम्बन्धी रणनीतिक योजना तयार गर्नुको साथै आपतकालीन कोषको व्यवस्था गर्ने गनुहोस् ।
७. धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुले धैर्यता, लगनशीलता, तथा दुरदृष्टि कायम राखी लगानीलाई दिगो एवं प्रतिफलमूखी बनाउनुहोस् ।
८. धितोपत्र कारोवारमा धोका, जालसाजी तथा छलकपटबाट बच्न स्वयं सचेत रही स्वतन्त्र रुपमा आफ्नो स्व–विवेकी निर्णय गर्ने गर्नुहोस् ।
९.कुनै पनि धितोपत्रमा लगानी गर्नु अगाडि हतार नगरी लगानीका सम्बन्धमा स्वतन्त्र रुपमा अध्ययन तथा अनुसन्धान गर्ने गर्नुहोस् ।
१०.हतारमा लगानी निर्णय गर्न दवाव दिने जो कोहीलाई पनि अविश्वास गर्ने गर्नुहोस् ।
११.धितोपत्र बजारमा विभिन्न प्रकृतिका धितोपत्र उपकरणमा लगानी गर्न सकिने अवसर रहने हुँदा आफुले लगानी गर्न लागेको धितोपत्र कुन प्रकारको हो (जस्तैः संस्थापक सेयर, साधारण सेयर अग्राधिकार सेयर, ऋणपत्र, सामूहिक लगानी योजना, आदि) र त्यसको विशेषता, फाइदा वा बेफाइदा, अर्न्तनिहीत जोखिम, मूल्य अस्थिरता, र लगानी अवधिको बारेमा जानकारी लिएर मात्र लगानी सम्बन्धी निर्णय लिनुहोस् ।
१२.लगानीबाट प्राप्त प्रतिफललाई दिगो र सन्तुलित बनाउन लगानी गरिने लगानीका औजारहरु वातावरणीय, सामाजिक र सुशासन अनुकुल रहने गरी लगानीकर्ताको लगानी लक्ष्य, उद्देश्य, जोखिम वहन गर्ने क्षमता र प्राथमिकता बमोजिम लगानी गर्नुहोस् ।
१३.छिटो धनी बन्ने उद्देश्यलाई कम प्राथमिकता दिई धितोपत्र बजारमा लगानी गर्दा तथ्यगत, यथार्थपरक र उचित सूचना लिई संयमित एवं विवेकशील भई लगानी सम्बन्धी निर्णय लिने गर्नुहोस् ।
१४.दीर्घकालीन, नियमित तथा अल्पकालीन लगानी अवधि सम्बन्धमा जानकार रही लगानी सम्बन्धी निर्णय लिनुहोस् ।
१५. धितोपत्र बजारसम्बन्धमा सामाजिक सञ्जाल (जस्तैः फेसबुक, क्लब हाउस, युटयूब तथा टिकटक, आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले उक्त अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय नलिनुहोस् ।
१६. विद्यमान ऐन, नियम तथा नियमन परिधि बाहिर रही नयाँ उपकरण तथा प्रविधिको प्रयोग गरी हुने जोखिम पूर्ण तथा गैर कानूनी कारोवारका सम्बन्धमा सचेत रहनुहोस् ।
१७.धितोपत्रको कारोवारमा प्रयोग गरिएको नयाँ प्रविधिको सम्बन्धमा सचेत रहनुहोस् । प्रविधिको प्रयोगको सम्बन्धमा पर्याप्त ज्ञान हासिल गर्नुको साथै प्रविधिको सुरक्षाका लागि विशेष व्यवस्था गर्न आफ्नो युजर परिचय तथा पासवर्ड लगायत अन्य विवरणहरु अन्य कसैलाई जानकारी दिने नगर्नुहोस् ।
१८. धितोपत्र बजारमा उतारचढाव भइरहने हुँदा बजार हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका विषयमा जानकारी लिएर मात्रै स्वविवेकमा आफ्नो जोखिम बहन गर्ने क्षमता अनुसार लगानीका उपकरण, लगानीको सीमा पहिचान गरी लगानी सम्बन्धी निर्णय लिनुहोस् ।
१९.विशेषगरी धितोपत्र बजारमा नवप्रवेशी लगानीकर्ताले धितोपत्रको प्राथमिक बजारमा निष्काशन भएका धितोपत्र खरिदका लागि आवेदन दिई लगानी सम्बन्धी ज्ञान तथा अनुभव हासिल गर्दै लगानी प्रारम्भ गर्नुहोस् ।
२०.धितोपत्रको प्राथमिक निष्काशन भएका धितोपत्रमा लगानी गर्दा निष्काशन कम्पनी सम्बन्धी पर्याप्त जानकारी हासिल गर्न सम्बन्धित कम्पनी वा निष्काशनकर्तामार्फत प्रकाशित गरिने आव्हानपत्र, विवरणपत्र एवं सूचनाको अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता समग्र पक्षहरुको विश्लेषण गरी उपयुक्त लागेमा मात्र लगानी निर्णय लिनुहोस् ।
२१. धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा पर्याप्त ज्ञान र यथार्थ सूचना लिई आफ्नो जोखिम बहन क्षमताका आधारमा लगानी सम्बन्धी निर्णय लिनुहोस् । सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा प्रकाशन गरेको वित्तीय विवरण, कार्य सम्पादन स्थिति, मूल्य संवेदनशील सूचना, कम्पनीको भावी योजनाहरु, आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, मूल्य प्रवृत्ति र सम्बन्धित उद्योग÷क्षेत्रको अवस्था लगायत पक्षहरुको निरन्तर अध्ययन गर्नुहोस् ।
२२.नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक मार्फत आफ्नो नाममा विप्रेषण बचत खाता खोली सिआरएन नम्बर लिई बोर्डबाट गरिएको व्यवस्थाको परिपालना गरी सार्वजनिक रुपमा निष्काशन भएका सेयरमा आवेदन गर्नुहोस् ।
२३.धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर गर्नुहोस् ।
२४.धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई (२) दिन (त् + द्द) भित्रमा कारोबार को राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुहोस् ।
२५.धितोपत्र कारोवारमा रकमको लेनदेन गर्दा बैंकमार्फत गर्नुहोस । धितोपत्र कारोबार वापत लाग्ने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिने गर्नुहोस् ।
२६.धितोपत्रको दोश्रो बजारमा कारोबार गर्दा नेपाल धितोपत्र बोर्ड (बोर्ड) बाट अनुमतिपत्र प्राप्त र नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) को सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत मात्र कारोबार गर्नुहोस् ।
२७. धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, नेपाल सरकार, अर्थ मन्त्रालय, विद्युत नियमन आयोग तथा नेपाल बीमा प्राधिकरणको वेबसाइट हेर्ने गर्नुहोस् ।
२८.धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएस एण्ड क्लियरिङ कम्पनी (सिडिएससी), नेप्से वा बोर्डमा सम्पर्क राख्नुहोस् ।
२९.बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नियमित रुपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम संचालन एवं विभिन्न प्रकाशन गरी सचेतना अभिबृद्धि गर्ने गरेकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी हुने एवं प्रकाशित सूचना तथा जानकारीको अध्ययन गरी धितोपत्र बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुहोस् ।
३०.लगानीकर्ताहरुले आफ्ना लगानी सम्बन्धी विवरण लगायत अन्य व्यक्तिगत विवरणहरु सुरक्षित राख्नको लागि विशेष सुरक्षा व्यवस्था अपनाउनुका साथै यस्ता विवरणहरु अपरिचित व्यक्ति वा समूहहरुलाई कुनै पनि माध्यमबाट प्रदान गर्ने नगर्नुहोस् ।
३१.वित्तीय बजारसँग सम्बन्धित कानूनी व्यवस्था र लगानीकर्ताको हक अधिकारका सम्बन्धमा जानकारी हासिल गर्ने गर्नुहोस् ।