इन्टरनेट विद्युतीय प्रविधिअन्तर्गत विकास भएको एक विश्वव्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो, जसमार्फत संसारभरिका कम्प्युटर र सोसँग सम्बन्धित उपकरणहरूले एक–अर्कासँग सम्पर्कमा रही सूचनाहरू आदान–प्रदान गर्न सक्छन् । सन् २००० को दशकयता सूचना–प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको प्रमुख कारक तत्त्व इन्टरनेट नै हो । सुरूका दिनहरूमा इन्टरनेट सेवा पुरानो टेलिफोन र भू–उपग्रह प्रविधिमार्फत उपलब्ध थियो । इन्टरनेट सेवा एक विशेष तर सानो आकारबाट सुरू भएर हाल सञ्चार, मनोरञ्जन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा अभिन्न अङ्गको रूपमा प्रयोग हुँदै आएको छ । यो सेवालाई अहिले एक अपरिहार्य पूर्वाधारको रूपमा समेत लिने गरिएको छ । कतिपय देशमा त इन्टरनेट सेवा मानवअधिकार नै मानिएको पाइन्छ ।
इन्टरनेटको सुरुवात
इन्टरनेट सन् १९५० को दशकतिर कम्प्युटर नेटवर्क प्रणालीको आविष्कार भएसँगै सुरु भएको हो । सन् १९८२ मा टीसीपी–आईपी मापदण्ड तोकिएलगत्तै इन्टरनेटको विकास भएको हो । विगतमा इन्टरनेटलाई एड्भान्स रिसर्च प्रोजेक्ट एजेन्सी नेटवर्क (अप्रानेट) भनिन्थ्यो । सुरुमा यसको सञ्जाल यूसीएलए, यूसीएसबी, स्ट्यान्फोर्ड रिसर्च इन्ष्टिच्युट र युताह विश्वविद्यालय गरी चारओटा विश्वविद्यालयमा मात्रै सीमित थियो । युद्धकालीन परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सूचना आदान–प्रदान गर्नका लागि इन्टरनेट सञ्जालको परिकल्पना गरिएको थियो । विगतमा इन्टरनेट वैज्ञानिक, इञ्जिनियर र प्राध्यापकहरूमा मात्र सीमित थियो । इन्टरनेटको पूर्ण व्यावसायिकीकरण सन् १९९५ मा आएर मात्र भएको हो ।
संसारकै सबैभन्दा ठूलो सञ्जाल
संसारभरि छरिएर रहेका करोडौं कम्प्युटरहरूबीचको सञ्जाललाई इन्टरनेट भनिन्छ । यी कम्प्युटरहरू एकआपसमा विभिन्न माध्यम, जस्तै– धातुका तार, फाइबर अप्टिकल तार, तारविहीन (वायरलेस) प्रविधिबाट जोडिएका हुन्छन् । यी कम्प्युटरहरूबीच सूचना आदान–प्रदान गर्न विभिन्न प्रोटोकोल प्रयोग भएका हुन्छन् । प्रोटोकोलले भिन्न प्रकारका हार्डवेयरलाई एकै प्रकारको सेवा सञ्चालन गर्न निर्देशन गर्छ । नेटवर्कहरू विभिन्न प्रकारका हुन्छन्, जस्तै– लोकल एरिया नेटवर्क (एलएएन), वाइड एरिया नेटवर्क (डब्यूएएन), मेट्रोपोलिटन एरिया नेटवर्क (एमएएन), स्टोरेज एरिया नेटवर्क (एसएएन) इत्यादि । यस्ता लाखौं सञ्जालहरूबीचको सञ्जाल इन्टरनेट नै संसारकै सबैभन्दा ठूलो सञ्जाल हो ।
यसरी चल्छ इन्टरनेट
कुनै पनि सञ्जाल सञ्चालन हुन त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एकआपसमा जोडिएको हुनुपर्छ । टीसीपी–आईपी प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एकआपसमा सूचना आदान–प्रदान गर्ने गर्छन् । प्रोटोकोल भन्नाले एउटा कम्प्युटरदेखि अर्को कम्प्युटरसम्म जस्ताको तस्तै सूचनाहरू पठाउन दुवैतिर के–कस्तो प्रक्रिया गर्नुपर्ने हुन्छ, त्यसको क्रमबद्ध र व्यवस्थित प्रारूप हो हो । इन्टरनेटको यस्तो प्रारूप एक खुला प्राविधिक मापदण्डमा आधारित भएको र कसैको प्रतिलिपि अधिकारमा नपारिएकाले इन्टरनेटसम्बन्धी उपकरण तथा प्रविधि विकास गर्ने जो कोहिले पनि अनुसरण गर्न र प्रयोग गर्न सक्छन् । यसले गर्दा जोसुकैले बनाएको भए पनि इन्टरनेटका लागि बनेका उपकरण तथा प्रोग्राम कुनै कठिनाइविना नै चल्ने गर्छन् । यसले गर्दा पनि इन्टरनेटको व्यापक विकास र विस्तार सम्भव भएको छ । सञ्जाल चलाउन विभिन्न विद्युतीय उपकरणहरूको प्रयोग हुन्छ, जस्तै– राउटर, स्विच, इथर्नेट कार्ड इत्यादि । यी सबै उपकरण इन्टरनेट मापदण्ड र प्रोटोकोलअनुरूप काम गर्नेगरी निर्माण भएका हुन्छन् ।
सञ्जालमा एकले अर्कोलाई कसरी चिन्छ वा छुट्ट्याउँछ ?
सञ्जालमा एकले अर्कोलाई छुट्ट्याउन आईपी ठेगानाको प्रयोग हुन्छ । सञ्जालमा रहेका हरेक कम्प्युटरको आ–आफ्नो अद्वितीय आईपी ठेगाना हुन्छ । टेलिफोन नम्बर, हुलाक ठेगाना, पत्रमञ्जुषा नम्बर आदि जस्तै इन्टरनेटको यो आईपी ठेगाना पनि एउटा कम्प्युटराइज्ड सङ्ख्या हो, जसमा ३२ ओटा दशमलव (बाइनरी) अङ्क रहन्छन् । यसलाई आईपी संस्करण ४ पनि भनिन्छ । बढ्दो नेटवर्क सञ्जाल र अद्वितीय ठेगाना दिनुपर्ने उपकरणको बढ्दो सङ्ख्याले गर्दा उक्त ठेगाना पद्धतिबाट मात्र सबैलाई ठेगाना दिन नपुग्ने भएकाले आईपी संस्करण ६ को पनि विकास भएको छ, जसमा ३२ को सट्टा १ सय २८ ओटा अङ्क हुन्छन् । यसबाट प्रशस्त ठेगाना प्राप्त हुन्छन् । यद्यपि, इन्टरनेटमा प्रयुक्त पुराना उपकरण तथा कम्प्युटरहरूमा सो नयाँ ठेगानाका लागि आवश्यक प्रावधान नरहेकाले सोको अपेक्षाकृत व्यापक प्रयोग हुन बढी समय लागिरहेको छ ।
इन्टरनेटको व्यवस्थापन कसरी हुन्छ ?
इन्टरनेट एक स्वतः सञ्चालित सञ्जाल भए पनि यसको चुस्त सञ्चालनका लागि आवश्यक पर्ने अनेक स्रोत, साधनहरूको विभिन्न ढङ्गले व्यवस्थापन भएको छ । आईपी ठेगाना, डोमेन नामजस्ता संसारभर दोहोरिन नहुने आयामको व्यवस्थापन केन्द्रीकृत रूपमा सञ्जाल सूचना केन्द्र (एनआईसी) भनिने संस्थाहरूले गर्छन् । त्यसको अलावा आआफ्नो स्वामित्वको नेटवर्कको सम्बन्धित सेवा प्रदायक, व्यावसायिक संस्था वा निकायले नेटवर्कलाई बाह्य संसारसँग जोड्न आवश्यक लिङ्क वा पूर्वाधारको व्यवस्था गर्छन् । यसरी सबैले आआफ्नो नेटवर्क सञ्चालन गर्ने र एकअर्कासँग जोड्ने गरेर नै बृहत् इन्टरनेट सञ्जालको विकास भएको हो ।
खासमा इन्टरनेटको सुरुवात एक सञ्चार माध्यमको रूपमा नै भएको थियो । सुरुका दिनहरूमा कम्प्युटर प्रयोग गरिरहेका यस क्षेत्रका केही अग्रणी संस्थाहरूले आआफ्ना कम्प्युटर एक्लो रूपमा चलाउनुभन्दा तिनीहरूलाई एकअर्कासँग जोडेर चलाउँदा हरेकमा भएको फरक किसिमका जानकारी आदानप्रदान गर्न सहज हुने महशूस गरे, जसअनुसार उनीहरूले कम्प्युटरलाई सीधा एक–अर्कासँग जोडी जानकारी वा डाटा सञ्चार गर्न सक्ने प्रविधिको विकास गरे । त्यही प्रारम्भिक अवस्थाको नेटवर्क वा सञ्जालको अति विस्तृत रूप नै हालको इन्टरनेट हो ।
इन्टरनेट आधारभूत रूपमा कम्प्युटरहरूबीचको सञ्चार माध्यम भए पनि कम्प्युटर मानिसले प्रयोग गर्ने हुँदा स्वतः यो मान्छेको सञ्चार साधनको रूपमा विकास भयो । झन् हालका दिनहरूमा भएको बहुआयामिक विकास र हरेक प्रविधिको विकास इण्टरनेट उन्मुख भएकाले यो एक सञ्चार साधनभन्दा बढी आधारभूत पूर्वाधारको रूपमा स्थापित भइसकेको छ, जसमा सञ्चारबाहेक अन्य विभिन्न सेवाहरू पनि उपलब्ध हुँदै आएका छन् । (एजेन्सीको सहयोगमा)