October 29th, 2024

बैंकिङ क्षेत्रमा खुम्चियो रोजगारः के–के हुन् यसका कारण ?

बैंकिङ खबर/ हेर्दा चिटिक्क टाईसुटमा सजिएको दैनिकी अनि आकर्षक सेवासुविधा र सुरक्षित भविष्य । यही देखेर अहिलेका युवा पिँढी बैंकमा करिअर बनाउन भौतारिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्ने वित्तीकै आर्थिक हैसियत उकासिने भएकाले पनि यसको आकर्षण अझ बढ्दो छ । अन्य पेसा तथा व्यवसायका तुलनामा बैंकको जागिर सानै पद भएपनि जीवनयापन गर्न थप संघर्ष गर्नु नपर्ने बैंकका जागिरेहरू बताउँछन् ।

तर पछिल्लो समय युवाहरुको आकर्षक क्षेत्र बैंकिङ क्षेत्रको रोजगारी विस्तारै खुम्चिँदै गएको अवस्था छ । बढ्दो डिजिटल, राष्ट्र बैंकको मर्जर नीति लगायतका कारण बैंकिङ रोजगारी खुम्चिन पुगेको हो । केही समय अघि बैंक तथा वित्तीय संस्थाहरुको संख्या झण्डै ३ सयको हाराहारीमा थियो ।

नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याएसँगै बैंक तथा वित्तीय संस्थाहरुको संख्या क्रमशः कमी हुँदै आएको छ ।
बैंकवित्तको संख्या घटेको छ । जसका कारण रोजगारीको क्षेत्र समेत खुम्चिएको छ । बैंकिङ रोजगारीको क्षेत्र खुम्चिनुका केही कारणहरु तल प्रस्तुत गरिएको छ ।

बढ्दो डिजिटल बैंकिङ

बढ्दो डिजिटल बैंकिङसँगै रोजगारीको क्षेत्र पनि खुम्चिँदै गएको छ । बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवा सुविधा परिष्कृत गर्दै परम्परागत रूपमा चल्दै आएको कागजी र भौतिक शाखामा निर्भर बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैंकिङ सुविधा प्रदान गरिरहेका छन्। सरल, सहज र सुलभ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत डिजिटल प्रविधिमा आधारित सेवाहरू नयाँ–नयाँ खोज, अनुसन्धान र अनुभवले अझै परिष्कृत हुँदै गएका छन् ।

डिजिटल बैंकिङ संस्थाको आन्तरिक अटोमेसन मात्र नभएर पेमेन्ट सिस्टमको स्तरोन्नति पनि हो। नेपालमा वित्तीय पहुँच र समावेशिता अभिवृद्धिका लागि प्रविधिले उपलब्ध गराएको डिजिटल बैंकिङ सेवाको उच्चतम प्रयोगमा लागिएको छ । जसले गर्दा कर्मचारीहरुले गर्ने काम विस्तारै प्रविधिको माध्यमबाट छिट्टो र सहज रुपमा गर्न थालिएको छ । यस कारण पनि कर्मचारीहरु कटौती हुन थालेका छन् ।

मर्जर

राष्ट्र बैंकको मर्जर नीतिका कारण ३२ वटाको संख्यामा रहेको वाणिज्य बैंकहरुको संख्या घटेर २० वटामा झरिसकेको छ । मर्जरका कारण बैंकका कर्मचारी कटौतीमा परेका छन् भने कतिपय घटुवामा परेका छन् । अर्कोतर्फ ठूला भनिएका बैंकहरुमा समेत कर्मचारीबीच समान व्यवहार नहुँदा कर्मचारीहरु विदेश नै पलायन हुनुपर्ने अवस्था आएको छ ।

विशेषगरी मर्जर वा प्राप्ति भएर आउने कमजोर संस्थाका कर्मचारीले यस्तो व्यवहार सहनुपरेको छ । जसका कारण पनि बैंकका कर्मचारीहरु पेसा नै छोड्नुपर्ने बाध्यतामा पर्ने गरेका छन् ।

बिग मर्जर गरेका अधिकांश बैंकहरुमा आवश्यक भन्दा बढी कर्मचारी (ओभरस्टाफ) को समस्या देखिएको छ । एउटै विभागमा दुई/तीन जना प्रमुख हुने समस्या छ । बैंकहरुलाई यो विषयको समस्या भइरहेको छ । यसको समाधान गर्न अधिकांशले भिआरएस सुविधा ल्याइरहेका छन् ।

 वाणिज्य बैंकमा मर्जर हुँदा विकास बैंकका केही कर्मचारीहरु कटौती हुनुका सार्थ कर्मचारी समायोजन हुँदा भइरहेको पदभन्दा घटेर मर्जर भएर गएको वाणिज्य बैंकमा विकास बैंकका कर्मचारीहरु नियुक्त हुन्छन् ।

आफ्नो सस्था मर्जर भएर वाणिज्य बैंकमा जाँदा त्यहाँ तल्लो तहमा काम गर्दा हिनताबोध हुनको साथै वाणिज्य बैंकका पुराना कर्मचारी र नयाँ आएका कर्मचारीमा भेदभाव गरिने मर्जर भएका विकास बैंकका कर्मचारीहरुको अनुभव छ ।

पछिल्लो समय बैंकहरुले नयाँ कर्मचारीमा लगानी गर्नुभन्दा पुराना कर्मचारीलाई नै राम्रो तलब भत्ता दिएर आफ्नो बैंकमा ल्याइरहेको धेरै पाइन्छ । यसै कारणले गर्दा कुनै एक संस्थामा लामो समयसम्म काम गर्ने कर्मचारी न्यून मात्रामा भेटिन्छन् ।

आर्थिक अवस्था

कोभिड महामारीपछि नेपालको अर्थतन्त्रमा समेत प्रभाव पर्यो । जसको असर बैंकवित्तमा पनि परे । कोभिडका कारण देशको अर्थतन्त्र खस्किएसँगै बैंकवित्तीय क्षेत्रमा पनि यसको असर परेको छ ।

कोभिडका कारण कति बैंकले कर्मचारीहरु कटौती गरेका थिए भने कतिले बिदामा बस्न समेत आग्रह गरेका थिए । जसका कारण कोभिडपछिको समय बैंकवित्तको रोजगारी क्रमिक रुपमा खस्कदै गएको अवस्था छ ।

स्थायित्वको अर्को समस्या

बैंकहरुमा कर्मचारीको अर्को समस्या स्थायित्वको रहेको छ । विकास बैंकबाट दक्ष कर्मचारी वाणिज्य बैंकमा स्थान्तरणको प्रक्रिया राष्ट्र बैंकले मर्जरको नीति र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्नुपर्ने नीतिका कारण बढेको छ ।

विकास बैंकबाट कर्मचारी पलायन वार्षिक रुपमा बढेको छ । वाणिज्य बैंकमा जागिरे हुन आउने १० जना नयाँ कर्मचारीमध्ये ६ जना अर्थात् ६० प्रतिशत विकास बैंकका कर्मचारी हुन्छन् ।

बैंकिङ क्षेत्रमा कर्मचारी अभावको समस्याभन्दा धेरै अस्थीर कर्मचारीको समस्या बढी छ । माथिल्लो तहका कर्मचारीभन्दा मध्यम तह र तल्लो तहका कर्मचारीको स्थान्तरण धेरै हुने गरेका छन् ।

केही समय अगाडिसम्म विकास बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु बैंकमा राम्रो तलब, सेवा सुविधाका कारण वाणिज्यमा जान लालयित हुन्थे । तर यो विस्तारै परिवर्तन हुँदै गइरहेको छ ।