बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३४.८२ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो ।
यसअनुसार सोमबार एक अमेरिकी डलरको विनिमय दर १३४.८१ रुपैयाँ थियो । मंगलबार सामान्य बढेर १३४.८२ रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिद मूल्य १३४.४२ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंकका अनुसार ०८१ असार मसान्तको तुलनामा गत भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.४ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.२ प्रतिशतले अवमूल्यन भएको थियो । ०८१ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३३.९३ रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ थियो ।
पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको जानकार बताउँछन् । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यससँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।
यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । सोमबार राति ८ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८४.०७ पुगेको छ । पछिल्ला केही सातायता डलरको तुलनामा भारु पनि अवमूल्यन हुँदै आएको छ । यद्यपि गत असोज २७ (१३ अक्टोबर, २०२४) मा यस्तो दर ८४.०७ प्रतिशत थियो ।
डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ ।