December 1st, 2016

तीन दिनमै १३६ अंकले बढेको सेयर बजार एक्कासी किन लाग्यो ओरालो ?

stock downतीन दिनभित्रै १३६.६ अंकले बढेर लगानीकर्तालाई उत्साहित बनाएको सेयर बजारमा विहिबार गिरावट आएको छ । नेप्से परिसूचक ८.३७ अंकले घटेर १५९९.९६ अंकमा कायम भएको छ । कारोबार खुलेको झन्डै आधा घण्टासम्म तीब्र गतिमा बढेको सेयर बजार अर्को आधा घण्टामा तीव्र गतिमा घटेर १५८७ अंकसम्म पुगेको थियो । त्यसपछि सम्हालिँदै आएको बजार १६२२ अंकसम्म पुगेर पुनः घटेको हो । 

जलविद्युत्, बीमा, होटल र बैंकिङ समूहले विहिबारको बजार घटाएका छन् । जलविद्युत् समूह ४२.६४ अंकले घट्दा बीमा ३६.८९ अंकले घटेको छ भने होटल र बैंकिङ क्रमशः ३७.६१ र ११.६३ अंकले घटेका छन् । बजार घटाउनमा यी समूहलाई फाइनान्स समूहले सघाएको छ । फाइनान्स ५.०३ अंकले घटेको छ । विकास बैंक, उत्पादनमूलक र अन्य भने क्रमशः ९.२८, ३.४९ र २.०३ अंकले घटेका छन् । सेयर बजारमा यतिबेला राजनीतिक अन्यौलको प्रभाव देखिएको हो । 

बजार घटेपनि कारोबार रकममा भने खासै गिरावट आएको छैन । बजार घटबढ भइरहँदा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिन्छन् । बुधबार एक अर्ब ३२ करोडमाथिको कारोबार भएको बजारमा विहिबार एक अर्ब २० करोडको कारोबार भएको छ । दिनभरिमा १३८ वटा कम्पनीको १६ लाख ४३ हजार छ सय ३५ कित्ता सेयर सात हजार नौ सय २४ पटक खरिदविक्री हुँदा कुल एक अर्ब २० करोड ५५ लाख ५९ हजार छ सय ५४ रुपैयाँ पुँजी परिचालन भएको छ ।

केही सातादेखि नै सबैभन्दा धेरै कारोबार सम्हाल्दै आएको एभरेष्ट बैंक विहीबार धेरै कारोबार गर्ने कम्पनीहरुको दोस्रो स्थानमा झरेको छ । बैंकको नौ करोड ३२ लाख ९० हजारको कारोबार भएको छ । पहिलो स्थानमा विहीबार शिखर इन्स्योरेन्स कम्पनी छ, जसको १० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको बोनस सेयर र एफपिओ घोषणाले लगानीकर्ता तानेको देखिन्छ । त्यस्तै, सिद्धार्थ बैंकको छ करोड ४७ लाख रुपैयाँ, बैंक अफ काठमाण्डू लुम्बिनीको चार करोड ४८ लाख रुपैयाँ र कुमारी बैंकको तीन करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र नेपाल बंगलादेश बैंकको साढे तीन करोडमाथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स, मेगा बैंक, नेशनल लाइफ इन्स्योरेन्स लगायतको पौने तीन करोडको हाराहारीमा कारोबार भएको छ । 

मितरी डेभलपमेन्ट बैंकका सेयरधनीले विहीबार १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । विजय लघुवित्त, वोमी माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, नेपाल ग्रामीण विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र अरुण फाइनान्सका सेयरधनीले क्रमशः ९.९५, ९.९३, ९.९३, ९.८६ र ९.८३, ९.७४ र ९.४३ प्रतिशतका दरले कमाएका छन् । रिडी हाइड्रोपावर, सृजना फाइनान्स लगायतका सेयरधनीले पनि धेरै कमाएका छन् । 

युनियन फाइनान्स, एनएमबि माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रोपावर र ङादी ग्रुप पावरका सेयरधनीले ६ प्रतिशतभन्दा बढीका दरले आफ्नो सम्पत्ति घटाएका छन् । अपि पावर कम्पनी, तिनाउ डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्स, छिमेक लघुवित्त, प्रिमियर इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।