कृष्ण बाबु घिमिरे
केही दिन पहिलाको कुरा हो, म कार्यालयको काममा ब्यस्त थिए, त्यत्तिनै बेला झट्ट हेर्दा २४ वर्ष जतिकै देखिने २ जना महिला ग्राहक बैंकमा आउनुभयो र सर नमस्ते भन्दै हाँस्दै मेरो क्याबिनमा छिर्नुभयो ।
ब्यस्त समयको बाबजुद पनि म उहाँहरुलाई समय दिँदै के कति कामले आउनु भएको होला बहिनिहरु भन्दै कुराकानी शुरु गरे । उहाँहरु एक आपसमा हेराहेर गरेर दशैंपनि आउन लाग्यो मात्र के भन्दै हुनुहुन्थ्यो । म अँ गर्दा अलकांर बुज्ने मान्छे, पक्कै पनि नयाँ नोट सटहीको लागि हुनु पर्छ भन्ने अट्कल गरे । र म आफै सोधे नयाँ नोट चाहानु हुन्छ ?
त्यत्तिकैमा हो सर, अघिल्लो वर्ष पनि हामी नँया नोटको खोजीमा कति भौतारियौं, तर कुनै पनि बैंकले दिएनन् र त्यही झुत्रा नोटको प्रयोगबाटै दशैं मनायौं । त्यसैले यो वर्ष चाडै नै नयाँ नोटको जोहो गर्ने भनेर आएका हौं, नयाँ नोट त आए होलानी है सर ?
‘हजुरहरुको हाम्रो बैंकमा खाता छ होला’ भनेको एक जनाले छ भन्नुभयो । उहाँहरु फरक घरको हुनुहुँदो रहेछ । अनि अर्को जनाको पनि बैंकमा खाता खोल्नको लागि आग्रह गरे र खोल्नुभयो पनि । अनि ‘तपाईहरुले मोबाइल बैंकिङ, क्यु आर कोडको बारेमा सुन्नु/बुझ्नु भएको छ ? त्यत्तिकैमा सुनेका छौं, तर त्यसको प्रयोग बारे अनविज्ञ छौं’ भन्नुभयो ।
बैंकदेखि मोबाइल बैंकिङ सेवा सुचारु गर्दिएँँ । उहाँहरुको स्मार्ट फोनमा बैंकको एप्स डाउनलोड गरी एप्स चालू गराइदिए र त्यसमा उपलब्ध सम्पूर्ण अप्सनहरुको प्रयोगको बारेमा बताए । जसमा क्यु आर कोडबाट स्क्यान गरी सेकेण्डमै पैसा दिन लिन सकिन्छ । खाता नम्बर, नाम तथा अन्य कुनै विवरण नै नराखी स्क्यान गरेकै भरमा तपाईं डिजिटल कारोवार गर्न सक्नुहुन्छ । जसले गर्दा खुद्रा पैसाबाट हुने झन्झट, बैंक सम्म जम्मा गर्न जानु पर्ने झन्झट तथा नक्कली नोटको जोखिम हट्छ ।
ए ए कस्तो राम्रो रैछ है,
हो, डिजिटल बैंकिङको सहि सदुपयोग गर्न सकेमा धेरै लाभ लिन सकिन्छ । तपाईं दशैं मनाउन भन्दै नयाँ नोटको खोजीमा भौतारिनु भएको छ, के तपाईलाई थाहा छ दक्षिणा पनि डिजिटल माध्यमबाट दिन सकिन्छ ? कुनै बैंकहरुले त डिजिटल दक्षिणा उत्सवकै रुपमा क्यास ब्याक अफर सहित योजना ल्याएका छन् ।
नेपाल राष्ट्र बैंकले वर्षेनी करिब रु.४ सय मिलियन रकम नयाँ नोट प्रिन्टिङमा खर्च गर्दछ । जुन वर्षेनी हुने भएकोले ठूलो धनरासी यो । विशेषगरी चार्ड पर्वलाई लक्षित गर्दै आम नागरिकबाट नयाँ नोटको माग हुने हुँदा प्रिन्ट हुने गर्दछ, यदि नागरिकहरुले यस्ता पर्वमा नयाँ नोटको सट्टा डिजिटल माध्यमद्वारा दक्षिणा दिने लिने तथा अधिकांश कारोवार डिजिटल माध्यमबाटै गरे मात्र राज्यको उक्त ४ सय मिलियन रकम बचत हुने र आर्थिक भार कम होला ।
त्यसो भए त राज्यको पैसा अनावश्यक खर्च गराइरहेका रहेछौं । हामिले बानी सुधार्न जरुरी छ । यस पालिको दशैं मनाउन नयाँ नोटको जोहो गर्न आएका थियौं । अब हामिहरु लिँदैनौ, र दक्षिणा तथा अन्य वित्तीय कारोबार डिजिटल माध्यमबाट नै गर्छौ र अरुलाई पनि यहि सल्लाह दिन्छौं हजुरले हाम्रो आँखा खोलिदिनु भयो त्यसको लागि धेरै–धेरै धन्यवाद सर भन्दै मुसुक्क हाँसेर फर्कनुभयो ।
तसर्थ, यो वर्ष सम्पूर्ण प्रयोगकर्ताबाट नै डिजिटल दक्षिणाको सुरुवात गरे हुँदैन र ? यस वर्ष परम्परागत दक्षिणा शैलीलाई आधुनिकीकरण गर्दै दक्षिणा खातामा नै रकमान्तर गरेर नयाँ नोटको सटही नगरी डिजिटल कारोबारलाई बढवा दियौं भने पैसाको बचत, नोटको हिफाजत तथा छपाइ खर्च बच्ने हुन्छ । हामिले दिइने दक्षिणा वा अन्य भुक्तानीहरु डिजिटल माध्यमबाट नै सुरुवात यसै वर्षदेखि गरौं ।
डिजिटल भुक्तानीका माध्यमहरु Mobile Banking, Internet Banking, QR Code, / other wallets रहेका छन् । प्रत्येक ब्यक्तिले क्युआर साथमै लिउँ र भुक्तानी गर्दा वा प्राप्त गर्दा त्यसको प्रयोग गरौं । खुद्रा पैसाको झण्झट पनि नहुने, कारोवार गर्ना साथ बैंकको ब्याज शुरु हुने, चोरी हुनबाट बच्ने तथा पैसा जम्मा गर्नकै लागि झोला लिएर हिड्न नपर्ने भरपर्दो र बिस्वासिलो तथा सजिलो माध्यम डिजिटल कारोवार नै हो ।
त्यसैले डिजिटल दक्षिणाको सुरुवात गरौं वा पुराना ताजा नोटको प्रयोग गरी सरकारको ठूलो खर्च बचत गर्न टेवा पुर्याउन सहयोग गरौं ।
नेपालीहरुको आउँदै गरेको महान पर्व विजयादशमी २०८१ को उपलक्ष्यमा सम्पुर्ण देशबासीहरुमा हार्दिक मङ्गलमय शुभकामना ।
(बैंकर घिमिरेका उल्लेखित विचार निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैन)