September 29th, 2024

कस्तो अवस्थामा डुब्न सक्छन् बैंक तथा वित्तीय संस्था ?(रमेश दाहालको लेख)

रमेश दाहाल

नेपालमा औपचारिक बैंकिङ प्रणालीको सुरुवात भएको करिब ८ दशक भन्दा बढी भइसकेको छ । वि.स १९९४ कार्तिक ३० गते नेपाल बैंकका लिमिटेडको स्थापना भइ बैंकिङ प्रणालीको पार्दुभाव भएको पाइन्छ । तत्कालिन समयमा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल बैंक लिमिटेडले आम नागरिकसम्म वित्तीय सेवा पुर्‍याउन सम्भव भने थिएन ।

मूलतः सरकारी कारोबार त्यससमयमा नेपाल बैंक लिमिटेडको मुख्य कार्य थियो । क्रमश: औधोगिक विकास बैंक,राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र संयुक्त लगानीमा नेपाल अरव बैंक हुँदै बैंकिङ व्यवसायले गति लिएको देखिन्छ ।

बैंक वित्तीय संस्थाहरुले मुख्यतः निक्षेप संकलन, कर्जा लगानी गर्ने, साख सिर्जना गर्ने लगायतका कार्य गर्ने गर्दछन् । सवल वित्तीय प्रणाली हुन त्यहाँ आम नागरिकको बैंक वित्तीय संस्थाप्रति गहिरो विश्वास हुनु अत्यन्तै जरुरी छ, आफुले कमाएको रगत र पसिनाको कमाई लगानी,प्रतिफल र सुरक्षाका दृष्टिकोणले मानिसहरुले बैंक वित्तीय संस्थाहरुलाई रोज्दछन् ।

बैंक वित्तीय संस्थाहरु पनि वित्तीय मध्यस्थकर्ताहरु हुन् । अर्थात् निर्मम भएर भन्दा एक हिसावले वित्तीय कारोबार गर्ने दलाल हुन भन्न पनि सकिन्छ ।

जब आर्थिक उदारीकरणपछि निजी तथा संयुक्त लगानीमा बैंक वित्तीय संस्थाहरु स्थापना हुन थाले । त्यसपछि यो पनि भन्न सकिन्छ की यो वित्तीय व्यवसाय पनी हो ।

बलियो नियमन, नियमित सुपरीवेक्षणकाबीच बैंक तथा वित्तीय संस्थाहरुलाई आर्थिक विकास, अर्थतन्त्रको मौद्रिकीकरण, बचत परिचालन, वित्तीय साक्षरता अभिवृद्धि लगायतका महत्वपूर्ण अभिभारा दिएको हुन्छ, तर वित्तीय कारोवार गर्ने संस्थाहरु पनि व्यवसायि हुन् ।

उसो त व्यवसायीहरु अथवा मध्यस्थकर्ताहरु स्वभावैले लाभको लागि कार्य गर्ने गर्दछन् । त्यसो त वित्तीय संस्थाहरुले अर्थतन्त्रको बचत इकाई (Surplus Unit) बाट लगानीयोग्य रकम संकलन गरी अर्थतन्त्रको घाटा इकाई (Deficit Unit) मा प्रवाह गरि वित्तीय आवश्यकता परिपूर्ति गराई अर्थतन्त्रको मौद्रिकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

सवल, दरिलो र बलियो प्रणाली निमार्ण गर्ने वा वित्तिय प्रणालीलाई चलायमान गराउने मुख्य चालकहरु बैंक वित्तीय संस्थाहरु नै हुन् ।

अब हामी सजिलै अनुमान लगाउन सक्छौं कि एउटा चालकको भूमिका कति संवेदनशिल हुन्छ भन्ने यस्तै भूमिका प्रत्येक बैंक वित्तीय संस्थाले वित्तीय प्रणालीमा निवार्ह गरेको हुनुपर्दछ ।

वित्तीय क्षेत्र यति संवेदनशिल छ कि भनिन्छ यहाँ सियोले सानो प्वाल खोप्यो भनेपनि ठूलो भ्वाङ पर्छ । त्यसो त वित्तीय क्रियाकलाप पनि व्यवसाय भएकोले व्यवसायमा प्रतिस्पर्धा हुन्छ ।

उस्तै प्रकृतिका कारोबार गर्ने व्यवसायीहरु आफ्नो व्यवसायमा आकर्षित गर्न वा अरुलाई कमजोर बनाउन कुनै कसर बाँकी राखेका हुँदैनन् । यस्तो समयमा ती वित्तीय क्रियाकलापमा संलग्न हुने आम नागरिकहरु अन्यौलमा पर्ने गर्दछन ।

विभिन्न खालका बैंक तथा वित्तीय संस्था धरासायी भए, टाट पल्टिए, डुब्दैछन् भन्ने खालका समाचारहरु पनि आइरहेका हुन्छन, हामीलाई लाग्न सक्छ कुन बैंक तथा वित्तीय संस्था चै राम्रो हुन त ? यसको लागि सम्बन्धित बैंक वित्तीय संस्थाको वित्तीय स्वास्थ्यबारे जानकारी हुनुपर्दछ ।

त्यसा त हाम्रो देशमा वित्तीय साक्षरता त्यो तहसम्म अझैपनी पुगेको छैन । आफुले कारोबार गरेको संस्थाको सम्बन्धमा पूर्ण वित्तीय अवस्थाको विश्लेषण गर्ने कुरा सबैका लागी सहज पनी हुँदैन । त्यसकारण पनि हल्ला सत्य हुन वा गलत भन्न भने सकिन्न ।

त्यसका लागि बैंकहरुले गरेको लगानी कति सुरक्षित छ भन्ने जान्नु पर्दछ । हो यिनै विषयका सम्बन्धमा निरीक्षण अनुगमन र सुपरिवेक्षण गर्ने महत्वपूर्ण जिम्मेवारी अभिभावकको हुन्छ ।

यसरी हेर्दा सन्तानको प्रतिस्पर्धालाई अभिभावकले नियालेर बसेको हुन्छ । जति सन्तानहरु स्वस्थ प्रतिस्पर्धा गरेर क्षमता अभिवुद्धि गर्दछन् त्यति बेलासम्म अभिभावक खुसी हुन्छन् ।

भनिन्छ जित्ने दुई तरिकाहरु हुन्छन् एक आफु अब्बल र सक्षम भएर अर्को अरुलाई कमजोर बनाएर यसरी हेर्दा पहिलो तरिकाबाट बैंक वित्तीय संस्थाहरु प्रतिस्पर्धा गरी सकरात्मक सिनर्जी प्राप्त गर्न सके अतिउत्तम तर दोस्रो तरिकाले आफुलाई राम्रो देखाउन प्रयत्न भयो भने यो अत्यन्त घातक पनि हुन्छ ।

हो यी अवस्थाहरु समयमै पहिचान गरेर सकरात्मक प्रतिस्पर्धा गराउँन नियमनकारी निकाय उद्धत्त भएको हुन्छ ।

वित्तीय प्रणालीलाई सबल सक्षम बनाउन आम नागरिकको पनि उत्तीकै महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीहरु सहि ढंगले व्यवसाय गर्न नसक्दा वा विभिन्न समस्याहरुसँग जुध्न नसक्दा टाट पल्टन वा डुब्न पनि सक्दछन् । अब यहाँ एउटा बैंक तथा वित्तीय संस्था डुब्नु भनेको आम नागरिकको घरको चुल्हो निभ्नु पनि हो ।

त्यसैले वित्तीय क्रियाकलाप नभै पनि नहुने हुँदा जोखिम भइरहने अवस्थाबाट मुक्ती पाउन सही ढंगले वित्तीय शिक्षा ग्रहण गरेर सधैं सुरक्षाको उपाय खोजेर ढुक्क भएर बस्नु पर्दछ । विश्वासको अभावले एउटा यस्तो खाडल पनि बन्न सक्छ । जस्तो कि आम नागरिकमा आय आर्जनका प्रशस्त सम्भावनाहरु छन् तर वित्तीय स्रोत जुटाउन नसकिरहेको एउटा अवस्था र अर्को वित्तीय मध्यस्तकर्ताहरुसँग प्रशस्त स्रोत छ तर आम नागरिकलाई विश्वास गर्न सकिने वातावरण छैन ।

यि दुवै अवस्थाहरु विश्वासको संकटका कारणले उत्पन्न हुने गर्दछन हो यहाँ चै कुनै तेस्रो पक्षले ती जोखिम हामी उठाउँछौं तपाईहरु ढुक्क भएर बैंक वित्तीय संस्थाको विश्वास गर्नुहोस् भनिदिए पो आनन्द हुने थियो भन्ने मनमा तपाई हामीलाई लागेको हुनुपर्दछ । यस्तो कुनै न कुनै निकाय पक्कै हुन्छ ।

वित्तीय क्रियाकलाप गर्ने वित्तीय संस्थाहरु अत्यन्त अनुशासित मर्यादित र नियमनकारी निकायले जारी गरेका निति निर्देशनहरुलाई सकारात्मक तवरले परिपालन गरी आफ्नो वित्तीय अभिभारा पूरा गर्नुपर्ने अवस्था रहँदा रहँदै पनि विभिन्न घटना परिघटना वित्तीय क्षेत्रमा देखिएको सुशासनको चुनौती, समयमै समस्याको पहिचान गरी समाधान गर्न नसकेको वित्तीय क्षेत्रको एक महत्वर्पूण क्षेत्र सहकारी क्षेत्रको समस्या यि र यस्तै उदाहरणहरु हेर्दा यस्तै विषयहरु ठूलो समस्या बन्ने कारणहरुका रुपमा देखापर्दछन् ।

निर्मम भएर भन्दा कुनै न कुनै निकायको कमजोरीकै कारण समस्या देखिएको भएतापनि हामी त्यसको जिम्मेवारी कसैले वहन गरेको पाउँदैनौ ।

सजाय त आम नागरिक जसको चुल्हो निभेको छ, परिवारका सदस्यको उपचार नभएर ज्यान गुमेको छ, सन्ततीको उच्च शिक्षा गुमेको छ हो यस्तै परिणामहरुको सामना गर्नु पछाडिका चित्रहरु अनेक भएता पनि केवल हामी आरोप प्रत्यारोपमात्र भएको देख्छौं ।

‘नेपालको वित्तीय प्रणालीमा बैंक तथा वित्तीय संस्थाहरू बीमा, पुँजी बजार, गैर बैंकिङ क्षेत्र र सहकारी क्षेत्र रहेका छन् । त्यसो त अर्थन्त्रको सन्तुलीत विकासमा सबै क्षेत्रको उत्तीकै भूमिका रहने भएतापनि प्रमुख त बैंक तथा वित्तीय संस्थाहरू नै महत्वपूर्ण अंगका रूपमा देखिँदै आएका छन् ।’

यस्तो हुनुको विभिन्न कारणमध्ये एउटा महत्वपूर्ण कारण सहकारी क्षेत्रको नियमन,सुपरीवेक्षण साथै बचत र कर्जाको सुरक्षण गर्ने बलियो निकाय नहुनु पनि हो ।

त्यसो भए वित्तीय क्षेत्रलाई सुरक्षित गराइ आम नागरिकको बचतको सुरक्षा गर्ने जिम्मेवारी कस्को त ? अर्थतन्त्रको समग्र विकासका लागि सरकारी निजी र सहकारी अर्थतन्त्रका तिनै खम्बाहरु जिम्मवार रहनुपर्दछ ।

आर्थिक उदारीकरणमा मुलक गइ सकेपछि सरकारको भुमिका संरक्षकको मात्र हुने हो त्यसैले वित्तीय क्षेत्रलाई सृदृढ गराउने अहम भुमिका वित्तीय मध्यस्थकर्ता र आम नागरिकको पनी हो ।

वित्तीय प्रणालीमा हाल भइरहेको अवान्चित गतिविधिमा सबैभन्दा बढी जिम्मेवार को छ त ? भन्ने प्रश्न तपाई हाम्रो मनमा रहन सक्छ । सबैभन्दा महत्वपूर्ण र कठिन प्रश्न नै यही हो यसमा सबैभन्दा जिम्मेवार आम नागरिक हुन सकिएन भने त्यसको ठुलो दोषी आफै हुनपर्दछ ।

भनिन्छ नि दशा बाजा बजाएर आउँदैन् त्यसैले हाम्रो वित्तीय प्रणाली सवल सृदृढ बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्दछ एउटा अभिभावकको दृढ चाहना आफ्ना सन्तानहरुको उन्नती, प्रगती, इमानदारिता र आत्मनिर्भरता होस भन्ने हुन्छ तर कहिले कहीँ यस्ता हरामी छोराछोरी जन्मन्छन् जो आफ्नै बाबुआमालाई ठग्ने गर्दछन हो यस्तै खराब प्रकृतीबाट कुनै एक बैंक वित्तीय सस्थाहरु अभिभावकले दिएका आचरण नियम कानुन नमान्ने र आफ्नै किसिमले हिँड्दा दुर्घटनामा पर्ने सम्भावना हुन्छ ।

यहाँ एउटा व्यक्ति दुर्घटनामा पर्दा त एउटा परिवारलाई कठिनाई पर्छ तर एउटा बैंक वित्तीय संस्था समस्यामा रहँदा हजारौ परिवारहरु पिर चिन्तामा पर्दछन यसले ठुलो विश्वासको संकट पैदा गरि हाम्रो वित्तीय प्रणालीप्रती सर्वसाधारणले गर्ने विश्वास भएन भने हामीले अर्थतन्त्रको मौद्रिकीकरण कसरी गर्न सक्छौ त ? त्यसका लागि अर्काको छोरो विग्रियो भनेर समाजमा रमाएर बस्दा भोली आफ्नो छोरो पनी उस्तै सँगत सिकेर विग्रन सक्छ भने झैं हेरौ त अभिभावक विहीन नेपालको वर्तमान सहकारी क्षेत्र कुन अवस्थामा छ ? त्यसैले सवै पक्ष समयमै सजक भएनौं भने यसबाट निम्तन सक्ने समस्याहरु हामीले सामान्यतया कल्पना गरे भन्दा पनि जटिल हुन सक्दछन् ।

वित्तीय क्षेत्रले अर्थतन्त्रमा मानव शरिरमा रक्तसञ्चार प्रणालीको जस्तै भूमीका निवार्ह गरेको हुन्छ अब हामी सोचौ त हाम्रो रक्त सञ्चारमा समस्या भयो भने हामी स्वस्थ भएर बाँच्न सक्छौ त ?

कस्तो कस्तो अवस्थामा बैक तथा वित्तीय संस्थाहरु डुब्न सक्छन त ?

कुनैपनि क्षेत्रमा समस्या आउनुमा धेरै पक्षहरु जिम्मेवार हुन्छन् कहीँ कतै कुनै न कुनै एक पक्षको भूमिका बढी भने अवश्य हुने गर्दछ । मुलतः आर्थिकमन्दी, युद्ध, प्राकृतिक विपद, रोगका महामारी, आर्थिक गतीविधि सुस्त हुँदा ऋणीहरुको दायित्व चुक्ता गर्ने क्षमतामा ह्रास आउँछ । यसरी त्यस्तो अवस्थामा अलि अलि जम्मा गरेको बचतको जरुरी पर्दछ ।

हो बैंक वित्तीय संस्थाले लगानी गरेको रकम उठन नसक्नु र बचतकर्ताहरुलाई बचत बापतको रकम फिर्ता गनुपर्ने बाध्यता यिनै दुई अवस्थाका बीचमा सन्तुलन मिल्न नसक्दा बैंक वित्तीय संस्था धरासायि हुन्छन् ।
मानौं कुनै बैंक वित्तीय संस्थासँग पर्याप्त दायित्व चुक्ता गर्न सक्ने अचल सम्पत्ती छ तर तरल सम्पत्ती नहुँदा हाहाकार उत्पन्न भइ तरलताकै कारण पनि बैंक डुब्न सक्छ ।

कुनै पनि व्यक्ति वा संस्था बलियो हुन आन्तरिक रुपमा नै बलियो हुनुपर्दछ यसो त आन्तरिक र वाह्य कारण दुवै बैंक वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा असर गर्ने तत्वहरु हुन् ।

१९९० को दशकमा एसियाका बैंक वित्तीय संस्थामा आएको संकट, २००७ –०८ मा भएको विश्वव्यापी आर्थिक संकट यि नै परिस्थितीको सिकाईले बैंकिङ प्रणालीमा वासेलले जन्म पायो र निरन्तर संकटसँग जुध्ने सामथ्र्य विकास पनि गर्दै गयो ।

मूलतः अन्य कारणहरु जे भएतापनि अन्तिम असर भने तरलतामै हुने हो अब भनौ वित्तीय प्रणालीमा आउने समस्याको संकेत तरलताबाट सजिलै अनुमान लगाउन सकिन्छ ।

मूलतः बचतकर्ता,ऋणी, उपभोक्ता, व्यवसायि,उद्यमी र बैंक एक आपसमा अन्तरसम्बन्धित पक्षहरु हुन् । यिनिहरु आपसी लाभको लागि दौडिरहेका हुन्छन् । यसरी कुनै न कुनै एक पक्षमा समस्या देखिता त्यसको असर रोजगारी, गरिबी, सुस्त आर्थिक गतीविधि हुँदै वित्तीय संकटको रुपमा देखा पर्दछन् ।

कही विश्वयुद्ध कहीँ महामारी,कहीँ आन्तरिक द्वन्द्व, मुद्रास्फिर्ती यस्तै यस्तै कारणहरु मुख्यत: वित्तीय संकटमा देखिँदै आएका छन् । यसरी संस्थागत सुशासन नहुँदा पनि एकाध बैंक वित्तीय संस्थाहरु धरासायी भएका पाइन्छन् ।

वित्तीय क्षेत्रको नियमकीय निकाय (अभिभावक) को हो त ?

कुनैपनि देशमा वित्तीय प्रणालीको नियमन र सुपरीवेक्षणका लागि एउटा निकाय गठन गरिएको हुन्छ । नेपालमा भने वि.स.२०१३ बैशाख १४ गते स्थापित भएको नेपाल राष्ट्र बैंकलाई नै बैंक वित्तीय संस्थाको नियमकीय जिम्मेवारी प्रदान गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०१२ अन्तर्गत स्थापित यस नियमनकारी निकाय हाल नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत सञ्चालीत छ ।

अभिभावकीय संस्था नेपाल राष्ट्र बैंकले केकस्ता कार्यहरु गर्दछ त भन्ने जान्न नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ५ मा लाई हेर्नुपर्छ जसमा बैंक नोट तथा सिक्का निस्कासन गर्ने, मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गरी ति नीतिको कार्यान्वयन गर्ने, विदेशी विनिमय नीति निमार्ण गरी ति नीति कार्यान्वयन गर्ने र गराउने, विनिमय पद्धतीदर निर्धारण गर्ने,विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने, गराउने,विनिमयदर पद्धति निर्धारण गर्ने,विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने,वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैंकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने,वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने,भुक्तानी, फरछयौट (क्लियरिङ्ग) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतीको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने, र तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने, लगायतका महत्वपूर्ण जिम्मेवारी निर्वाह नियमनकारी निकायले गरिरहेको हुन्छ तर यि सबै भुमिका अभिभावकको रुपमा नेपाल राष्ट्र बैंकले गर्दा पनि वित्तीय संकट भने देखिरहेका हुन्छन् ।

अब समग्र प्रणालीमै समस्या आउँदा त धेरै जटिल हुन्छ तर कुनै एक वा सो भन्दा बढी बैंक वित्तीय संस्थामा समस्या आउँदा त्यसको उपचारका प्रक्रिया पनी चरणबद्ध रुपमा ऐनमा व्यवस्था हुन्छ । यि नै व्यवस्थाको कार्यान्वयन गर्नु नेपाल राष्ट्र बैंकको दायित्व हो अब कस्तो कस्तो भूमिका रहन्छ त कुन अवस्थामा बैक वित्तीय संस्थामा समस्या आएको भनेर बुझ्ने त ?

कस्तो अवस्थामा बैंक वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिन्छ ?

नेपाल राष्ट्र बैंक बैंकहरुको वित्तीय स्वास्थ्य जाँच गर्ने चिकित्सक हो । एउटा चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरिसकेपछि लक्षणका आधारमा रोगको पहिचान गरी हरसम्भव उपचारको प्रयास गरेको हुन्छ हो ।

यस्तै भूमिका नेपाल राष्ट्र बैंकको हुन्छ, यसरी निक्षेपकर्ता, शेयरधनी, साहू वा सर्वसाधारणको हित विपरित हुने गरी कुनै कार्य गरेको देखिएमा,आफूले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेमा वा गर्न सक्ने सम्भावना नभएमा वा भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न नसकेमा,दामासाहीमा परेको वा पर्न लागेको वा उल्लेखनीय रुपमा आर्थिक कठिनाई भोगिरहेको भएमा, वाणिज्य बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून, अन्य प्रचलित कानून, इजाजतपत्र प्रदान गर्दा तोकिएका शर्त वा बैंकको नियमन, निर्देशन वा आदेशको अवज्ञा वा उल्लंघन गरेको देखिएमा,झुट्टा, जालसाज, गलत कागजात या तथ्य पेश गरी इजाजत प्राप्त गरेको देखिन आएमा, प्रचलित कानून बमोजिम कुनै वाणिज्य बैंक वा वित्तीय संस्थाको खारेजी (लिक्विडेशन) वा फरफारख वा दामासाही सम्बन्धी कानूनी कारबाही अघि बढाइएको भएमा, वाणिज्य बैंक वा वित्तीय संस्थाले आफूले गर्नुपर्ने भुक्तानी वा पूरा गर्नुपर्ने दायित्व या काम कर्तव्यमा प्रतिकुल असर पार्ने अवस्था विद्यमान भएको कुरामा बैंक विश्वस्त भएमा नियमनकारी निकाय नेपाल राष्ट्र बंैकले समस्याग्रस्त घोषणा गर्दछ अर्थात त्यो बिरामी कोमामा छ अव हामी के सहज अनुमान लगाउन सक्छौं भने कोमामा रहेको बिरामी निको हुने सम्भावना अत्यन्त कम हुन्छ त्यसो त सास रहँदा सम्म आस हुन्छ भने झै उपचार भने निरन्तर गरिन्छ र पुरानै अवस्थामा फर्काएर नयाँ जीवन दिनु चिकित्सकको मुल जिम्मेवारी नै हो ।

समस्याग्रस्त अथवा विरामी बैंक वित्तीय संस्थाको उपचारको प्रक्रिया कस्तो हुन्छ त ?

समस्या ग्रस्त बैंक वित्तीय संस्थालाई  नेपाल राष्ट्र बैंकले विभिन्न चरणमा सुधारात्मक कदम चाल्दछ  व्यवस्थापनलाई कारवाही गरेर सम्बन्धीत बैंकको व्यवस्थापन नियन्त्रणमा लिएर उपचारात्मक प्रक्रिया अपनाएर त्यसलाई सुधार गर्न सचेत वा निर्देशन बैंकलाई दिन्छ ।

जस्तै कुनै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष पु¥याउन सकेन भने भने बैंकको अवस्थालाई मध्यनजर गरेर बैंकलाई शीघ्र सुधारात्मक कारबाही प्रक्रिया अगाडि बढाउँछ । जसअन्तर्गत बैंकका उच्च व्यवस्थापनसँग छलफल गर्ने, पुँजीकोष पुर्‍याउन निर्देशन दिने, पुँजीकोष योजना माग्ने र सोही अनुसार कार्यान्यवन भए नभएको यकिन गर्ने, नयाँ शाखा विस्तारमा रोक लगाउने, नगद तथा बोनस सेयरमा वितरणमा रोक लगाउने, सम्बन्धित संस्थाको सञ्चालक तथा उच्च व्यवस्थापकको भत्ता, तलब तथा सुविधा वृद्धिमा रोक लगाउने, थप निक्षेप स्वीकार गर्न नदिने, नयाँ व्यावसायिक क्रियाकलापमा रोक लगाउने, कर्जा विस्तारमा रोक लगाउने, कर्मचारीको तलब वृद्धिमा रोक लगाउने लगायत अन्य निर्देशनहरु दिनुको साथै नेपाल राष्ट्र बैंक आफैले बैंकको व्यवस्थापन नियन्त्रणमा लिने आदि कदम चाल्न सक्छ भने निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा बढी भयो शाखा विस्तारमा रोक लगाउने, नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने सुविधाहरु रोक्ने जस्ता कार्यहरु गर्नसक्छ  सके सम्म बैक वित्तिय संस्थालाई पुरानै अवस्थामा ल्याउन हरसम्भव प्रयास नेपाल राष्ट्र बैंकले गर्दछ ।

भनिन्छ नि कुलतमा फसेको मानिसर्लाइ पुन स्थापना गर्न सुधार केन्द्रमा हालिन्छ नी हो त्यही भुमीका नेपाल राष्ट्र बैकको हुन्छ  तर यस्तो अवस्थाबाट बैंकको वित्तीय स्वास्थ्य सुधार गर्न सकिएको अवस्थामा निक्षेपकर्ताको बचत सुरक्षित नै रहन्छ  तर यि सबै प्रक्रिया पुरा गर्दा पनी बैंकले दायित्व भुक्तानी गर्न नसक्ने लागेमा फरफारकको प्रक्रियामा जान्छ ।

यसपश्चात बैंक वित्तिय संस्था खारेजी जान सक्छ त्यस्तो अवस्थामा अदालत ले लिक्युडेटर  नियुक्त गरी  खारेजीको प्रक्रियामा जान्छ, यसरी खारेज भएको बैक वित्तीय संस्थाले  सम्पुर्ण निक्षेपकर्ताकोे दायित्व पुरा गर्न सक्ने अवस्था नहुनु सक्छ ।

विभिन्न समयमा बैंक तथा वित्तीय संस्था डुब्दैछन् भनि आउने भन्ने हल्लामा कति सत्यता छ ?

कुनैपनि संस्थामा कुन समयमा समस्या आउँछन् भन्न सकिन्न । कहिले काँही आफ्नै कारणले त कहिलेकाँही विभिन्न प्राकृतिक मानविय, राजनीतिक, विश्वको विभिन्न युद्ध महामारी आर्थिक संकट जुनुसुकै कारणले पनि वित्तीय प्रणालीमा समस्या आउन सक्दछ ।

अब बलियाहरु समस्यासँग जुध्छन् निर्दाहरु मर्छन् । यो त सामान्य प्रक्रिया नै हो । व्यवसायको पनि जीवनचक्र हुन्छ, जहाँ विभिन्न जटिलताहरु आइरहेका हुन्छन् ।

अब यो पनि भन्न सकिन्छ कि आर्थिक रुपले सुविधा सम्पन्न देशमा पनि बैंक वित्तीय संस्थाहरु डुबेका छन् । केही महिना यता मात्र संयुुक्त राज्य अमेरिकामा २ वटा बैंकहरु डुवेको समाचार त हामी सबैले सुनेकै छौं ।

अब दुईमत छैन कि जँहा जुनसुकै अवस्थामा पनि बैंक वित्तीयहरु डुब्न सक्छन् । मानिस पनि एक दिन अवश्य मर्छ तर एक्कासी दुर्घटना भएर मर्छ वा लामो समय उपचार गर्दा पनि निको नभएर मर्छ ।

हो अब हामी कुनै बैंक वित्तीय संस्था बिरामी छ भन्ने कुरा बजार हल्लाबाट भन्दा नियमनकारी निकाय नेपाल राष्ट्र बैंक जो बैक वित्तिय संस्थाको वित्तीय स्वास्थ्यको निगरानी राख्ने डाक्टर हो उसैको विश्वास गर्नुपर्दछ ।

नेपाल बैंकको स्थापना भएदेखि ८७ वर्षको इतिहासमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा समस्या आएको र समस्याग्रस्त भएतापनि अहिलेसम्म निक्षेपकर्ताहरुको निक्षेप डुबेको भने छैन तर यो पनी होइनकी नेपालमा बैंक वित्तीय संस्था डुब्दैनन र हाम्रो पैसा सुरक्षित छ । यति चै भन्न सकिन्छ नेपालमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकदमै नजिकबाट नियमन र सुपरीवेक्षण गरिरहेको छ ।

बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको पैसा सुरक्षित गराउने कुनै उपाय छैन त ?

अभिभावकको वा नियमनकारी निकायको बल बुत्ताले सबै परिस्थितिमा निक्षेपकर्ताको रकम सुरक्षित गराउन सक्दैनन् । यसरी वित्तीय संस्थामा राखेको रकम सुरक्षित नहुँदा वित्तीय प्रणालीप्रति नै विश्वासको वातावरण हटेर वित्तिय प्रणालीनै ध्वस्त हुने अवस्था सिर्जना हुन पनि सक्दछ ।

यस्तो अवस्थामा आम निक्षेपकर्ताले पुकार गर्ने भनेकै हे भगवान हो । यहाँ आम निक्षेपकर्ताका लागी भगवान बनेर देशमा यस्ता संस्थाहरु पनि रहेका हुन्छन् । तीनले निश्चित हदसम्मको निक्षेपकर्ताको बैंकमा भएको रकमको सुरक्षाको प्रत्याभुती दिने गर्दछन् ।

नेपालमा भने २०३१ साल असोज ४ गते स्थापित भएको निक्षेप तथा कर्जा सुरक्षण कोषले आ.व २०६६।६७ बाट प्राकृतिक व्यक्तिको नाममा प्रति बैंक वित्तीय संस्थामा रहेको रु २ लाख रकम सुरक्षित हुने गरी शुरु भएको निक्षेप सुरक्षण र्कायक्रममा आ.व २०७९।८० बाट रु.५ लाख सम्मको निक्षेपको सुरक्षण हुने गरी सीमा बढाइएको हो । विश्वमा हालसम्म ११३ देशमा निक्षेप सुरक्षण गर्ने संस्थाहरु छन् ।

कतिपय देशमा निक्षेप र कर्जा दुवै सुरक्षण एउटै संस्थाले त कतिपयमा फरक–फरक संस्थाले यस्तो कार्य गदै आएको पाइन्छ । यि सबै कुरा जानी सकेपछि हाम्रो मनमा जम्मा ५ लाखसम्मको निक्षेप सुरक्षण हुने र त्यो भन्दा बढी रकम चै बैंक वित्तीय संस्थामा राख्न असुरक्षित रहेछ भन्ने मनमा लाग्न सक्छ । यो बुझाइ पनि सत्य भने होइन । सत्य के हो त अब जानौं नेपालमा हाल करिब ६० वटा बैक वित्तिय सस्थाले निक्षेप संकलन गर्दछन् ।

यसरी हेर्दा करिब ३ करोडसम्मको तपाईको बैंक वित्तीय सस्थामा भएको निक्षेप लाई सुरक्षित गराउन सकिन्छ । अब फेरि ५ लाखबाट कसरी ३ करोड भयो भन्ने लाग्न सक्छ विवेक पुर्याउनुपर्ने महत्वपूर्ण विषय यहाँ के छ भने निक्षेप पनि एक प्रकारको लगानी हो । एउटै बैंकमा लगानीलाई अधिकेन्द्रित गर्दा बढी जोखिम सिर्जना हुन्छ ।

त्यसैलै प्रत्येक बैंकमा ५–५ लाख गरेर बाँडेर पैसा राख्दा बैंक संख्या गुणन ५ लाखले झण्डै ३ करोड रकम सुरक्षित हुने भएपछि मुल सन्दर्भ हामी विवेक पुर्याउन सक्छौं कि सक्दैनौ, आम नागरिकसम्म यी सन्देश पुग्छन् की पुग्दैनन भन्ने हो ।

नेपालमा आम नागरिकले उचित वित्तीय शिक्षा प्राप्त गर्न सकेमा वा सरोकारवाला निकायले पनि जनचेतना कुना काप्चासम्म पुर्याउन सकेमा बैंक वित्तीय संस्थामा रहेको आम नागरिकको हदैसम्मको रकम सुरक्षित बनाइ ढुक्क भएर निदाउन सक्ने अवस्था छ । कुनै बैक वित्तीय संस्था समस्यामा छ भनेर आम जनमानसलाई त्रासमा राख्नु, जिम्मेवार भनिएका मानिसहरु आफैमा आत्तिनु, स्वार्थ केन्द्रित भएर एकले अर्काको खुट्टा तान्नु भनको कही न कही आफुले फिँजाएको जालमा आफै पर्नु हो ।

त्यसो त समस्या नै नआउने संसारमा कुनै पनी चिज छैन हो यस्ता समस्या आउँदा कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा चनाखो भएर, जिम्मेवार र शिक्षित नागरिकको भूमिका शिक्षित वर्गले समेत नपुर्याएको देख्दा अच्चम पनि लाग्ने गरेको छ ।

कुनै एउटा बैंक बिग्रियो भने त्यो बैंक मात्र नभइ समग्र देशको अर्थतन्त्रलाई पनि नकरात्मक असर पर्ने भएकोले तथ्य नै नबुझिकन भ्रामक प्रचार प्रसार गर्नु राम्रो हुँदैन । कुनै विषयका सम्बन्धमा हल्लाकापछि लाग्दा हामी नआउने समस्या पनि आफै निम्त्याइरहेका हुन्छौं ।

हो कुनै विषयको यथार्थता जान्न सम्बन्धित संस्था वा नियमकीय निकायबाट यथार्थ जानकारी लिनुपदर्छ । हरेक चिज बनाउन जति गाह्रो हुन्छ विग्रन कति पनि समय लाग्दैन त्यसैले संवेदनशिल विषयका सम्बन्धमा अत्यन्त संवेदनशिल भएर प्रकट हुनुपर्दछ । भनिन्छ नि रोग लागेपछि पछुताउनुभन्दा रोग लाग्न नदिन स्वस्थकर जीवनशैली अपनाउनुपदर्छ ।

यहाँ स्वस्थकर बैंकिङ कारोबार अर्थात् एउटै बैंक वित्तीय संस्थामा धेरै रकम बचत नगरी बाँडेर बचत राख्न सकियो भने निक्षेप तथा कर्जा सुरक्षण कोषले आम नागरिकलाई चिन्ता, भय मुक्त बनाएर विश्वासिलो वित्तीय प्रणाली निमार्णमा अतुलनीय भूमिका निर्वाह गरेको छ ।

यो निक्षेप सुरक्षणको व्यवस्थालाई सहि ढंगले निक्षेपकर्ता वा आम नागरिकर्लाइ बुझाउने जिम्मेवारी सबै सरोकारवाला निकाय,शिक्षित वर्ग, राज्यका सबै निकाय, वित्तीय मध्यस्थकर्ताहरु र आम सञ्चारजगत सबैको हो ।

(लेखक दाहाल निक्षेप तथा कर्जा सुरक्षण कोष, भरतपुर शाखामा कार्यरत कर्मचारी हुन् ।)