September 24th, 2024

यसरी पुनरुत्थान हुँदैछ बंगलादेशको बैंकिङ अवस्था

बैंकिङ खबर/ बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमले देशमा धेरै उद्यमपुथल ल्याइदिएको छ । विद्यार्थीहरूले गरेको एक महिना लामो आन्दोलनले १५ वर्षदेखि शासन चलाएकी शेख हसिना देश छाडेर भाग्नुपर्‍यो । अहिले बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ ।

‘गरिबका ब्यांकर’ उपनाम पाएका युनुस र उनले स्थापना गरेको ग्रामीण ब्यांकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो । युनुसले नै सन् १९७० को दशकमा लघुवित्तको थालनी गरेका थिए । उनै युनुस अहिले सरकारको नेतृत्वमा छन् ।

हसिनाको बहिर्गमनपछि उनले नियुक्त गरेका र उनका समर्थकहरूले धमाधम पद छाडे । त्यसको केही असर बैंकिङ क्षेत्रमा पनि पर्‍यो । केन्द्रीय बैंकका डेपुटी गभर्नरले राजीनामा दिए ।

आक्रोशित आन्दोलनकारीहरूको दबाबमा बंगलादेश बैंकका डेपुटी गभर्नर काजी सइदुर रहमानले राजीनामा बुझाए । आक्रोशित प्रदर्शनकारीको मागपछि केन्द्रीय बैंकका चार डेपुटी गभर्नर र वित्तीय गुप्तचर विभागका प्रमुखले ‘राजीनामा’ दिए ।

आन्दोलनमा सयौं पदाधिकारी तथा कर्मचारी सहभागी भएका थिए । बैंकिङ क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारमा बैंकका यी उच्च अधिकारी नै जिम्मेवार रहेको उनीहरुको दाबी थियो ।

बिना धितो सत्तानिकट बैंकलाई ऋण

बंगलादेशमा केन्द्रीय बैंक नेतृत्वविहीन भएसँगै सिंगो बैंकिङ क्षेत्र असुरक्षित बन्यो । देशका निजी बैंकमा अस्थिरता फैलिएको थियो ।
पूर्व प्रधानमन्त्री हसिनाको सत्ता शक्तिको आडमा बैंकको सञ्चालक समितिमा कब्जा गरेका लगानीकर्ताको राजीनामा माग गर्दै शेयरधनी र कर्मचारीहरूले आन्दोलन चर्काए ।

सत्ता शक्तिको आडमा जबरजस्ती कब्जामा लिएका बैंकको सञ्चालक समितिबाट नयाँ शेयरधनी बाहिरिए । केन्द्रीय बैंकले वित्तीय संकट टार्नका लागि ६–७ बैंकलाई बिना धितो रकम छापेर सहयोग गरेको थियो ।

अखबार प्रथम आलोका अनुसार कागजपत्रमा बंगलादेशको कर्जा दुई लाख करोड रुपैयाँको हाराहारीमा रहेको थियो भने यथार्थमा भने झन्डै ४ लाख करोड रुपैयाँ रहेको अनुमान गरिएको थियो ।

प्रथम आलोले लेखेको छ, बंगलादेश बैंक स्रोतका अनुसार १५ वर्षअघि सन् २००९ मा अवामी लिगको सरकार गठन हुँदा देशमा ऋण करिब २२ हजार करोड रुपैयाँ थियो, जुन अहिले बढेर १ लाख ८२ हजार २९५ करोड रुपैयाँ पुगेको छ । यद्यपि, पुनः निर्धारित ऋण, अदालतको आदेशले निलम्बित ऋणहरू सहित, वास्तविक डिफल्ट ऋण करिब ४ लाख करोड रुपैयाँ मानिन्छ।

२००९ पछि बंगलादेश बैंकले राजनीतिक प्रभावमा १५ वटा नयाँ बैंकहरूलाई इजाजत बाँड्यो । तीमध्ये बहुचर्चित पद्मा बैंक लगभग दिवालिया भई मर्जरको प्रयासमा छ। यसैबीच, पछिल्लो ८ वर्षमा बंगलादेश बैंकको स्वीकृतिमा इस्लामी बैंक, सोसल इस्लामी बैंक लिमिटेड लगायतका केही बैंकको स्वामित्व परिवर्तन भएको छ ।

पुनरुत्थानको बाटोमा बैंकिङ क्षेत्र

एक बिरामी जस्तै बनेको बंगलादेशको बैंकिङ क्षेत्र विस्तारै तग्रिँदै गएको छ । केन्द्रीय बैंकको जिम्मेवारी प्रमुख डा. अहसान एच मन्सुरले सम्हालेका छन् । उनी बंगलादेशको १३ औं गभर्नर हुन् ।

बंगलादेशको नीति अनुसन्धान संस्थानका निर्देशकका रुपमा समेत काम गरेका उनले विआरएसी बैंकको अध्यक्ष र वाल्टानको स्वतन्त्र निर्देशकको रुपमा रहेर लामो अनुभव बटुलेका छन् । उनै डा. मन्सुरले बंगलादेशको बैंकिङ क्षेत्रलाई सुधारोन्मुख अवस्थामा लैजाँदै छन् ।

अहिले बंगलादेशको बैंकिङ क्षेत्र पुनस्र्थापनामा लागि रहेको छ । गभर्नरमा डा.मन्सुर बैंकिङ क्षेत्रका समस्या समाधानका लागि अथक प्रयासरत रहेका छन् ।

यद्यपि बंगलदेशका अर्थशास्त्री र बैंकिङ क्षेत्रका सरोकारवालाहरू भने अझै चिन्तित छन् । गभर्नरमा डा.मन्सुर नियुक्ति भएपछि उनले सुधार प्रक्रिया शुरु गर्न साहसपूर्वक तीव्र गतिमा अघि बढेका छन्। उनले समस्याग्रस्त बैंकहरूमा बोर्डहरू परिवर्तन गरेका छन् ।

विशेषगरी एस आलम समूहद्वारा नियन्त्रित इस्लामी बैंक, साथै पूर्व प्रधानमन्त्रीका निजी क्षेत्र सल्लाहकार सलमान एफ रहमान(एसएफआर) द्वारा नियन्त्रित आइएफआइसी जस्ता बैंकहरुको बोर्ड अर्थात् सञ्चालक समिति परिवर्तन गरिएको छ ।

गभर्नर मन्सुरले विदेशमा लगाइएको कालो धन फिर्ता गर्नुपर्ने र युनाइटेड कमर्शियल बैंक (यूसीबी) नियन्त्रण गर्ने र कथित रूपमा २६० सम्पत्ति भएका एस आलम, सलमान एफ रहमान र पूर्व भूमिमन्त्री सैफुज्जमान चौधरी जावेदजस्ता अन्यको सम्पत्ति जफत गर्नुपर्ने आवश्यकता बारम्बार बताउँदै आएका छन्। बंगलादेशमा मुद्रास्फीति हालै केही घटेको छ ।

एक बिरामी जस्तै बनेको बंगलादेशको बैंकिङ क्षेत्र विस्तारै तग्रिँदै गएको छ । केन्द्रीय बैंकको जिम्मेवारी प्रमुख डा. अहसान एच मन्सुरले सम्हालेका छन् । उनी बंगलादेशको १३ औं गभर्नर हुन् ।

ब्याजदर बढाउने तयारी

बंगलादेशको केन्द्रीय बैंकले ब्याजदर बढाउने तयारी गरेको छ । केन्द्रीय बैंकका प्रमुख डा. मन्सुरका अनुसार केही दिनभित्रै ८.५ प्रतिशत ब्याजदरबाट बढाएर ९ प्रतिशत पुर्‍याउने तयारी भएको छ । यस्तै बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न केही महिनाभित्रै १० प्रतिशत वा त्योभन्दा पनि बढी ब्याजदर बढाउने डा. मन्सुरले बताएका छन् ।

यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बंगलादेशलाई मौद्रिक नीति कसिलो बनाउन र विनिमय दर खुकुलो बनाउन आग्रह गरेको छ । जबकी आईएमएफले बंगलादेशसहित दक्षिण एसियाली देशहरुका लागि ४ अर्ब ७० करोड अमेरिकी डलरको सहायता प्रदान गरेको छ ।

बीबीसीका अनुसार डा.मन्सुरले उक्त रकममा थप ३ अर्ब डलर बढाउन र भुक्तानी लागि आफूले आईएमएफका अधिकारीहरुसँग छलफल गरेको बताएका छन् ।

यस्तै बंगलादेशले विश्व बैंकबाट थप १ अर्ब ५० करोड डलर साथै एडीबी र जाइकाबाट क्रमशः १/१ अर्ब डलर खोजिरहेको डा.मन्सुरले बताएका छन् । डा.मन्सुरले देशको बैंकिङ क्षेत्रलाई सुधार्ने आफ्नो पहिलो जिम्मेवारी रहेको प्रतिक्रिया दिँदै आएका छन् ।