बैंकिङ खबर/ भदौ महिनामा वाणिज्य बैंहरुले ७२ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा साढे ५२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
व्यापारीहरुले दशैं तिहार तथा चाडवाडका लागि सामान आयातका लागि खोलेको एलसीका कारण पनि कर्जा प्रवाह धेरै देखिएको बैंकहरुले जनाएका छन् । यसका अलावा बैंकमा अहिले खासै कर्जाको माग छैन । दशैं तिहारमा व्यवसायीहरुले सामान बिक्री गरेर उठाउने भएकाले यदी नयाँ क्षेत्रका लागि कर्जाको माग हुन नसकेमा बैंकहरुमा थप तरलता बढ्ने बैंकरहरु बताउँछन् ।
भदौ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ५७ खर्ब ८८ अर्ब निक्षेप संकलन गरेका छन् भने ४६ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९४ प्रतिशत छ ।
भदौ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४६ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यता, भदौ महिनामा मात्रै २० वाणिज्य बैंकले ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । साउन मसान्तसम्म वाणिज्य बैंकले ४५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यसअवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । भदौ मसान्तसम्म आइपुग्दा यस बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता, ग्लोबल आइएमई बैंकको १ महिनामा कर्जा प्रवाह ९ अर्ब ६३ करोड रुपैयाँले बढेको छ । त्यस्तै, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह पनि ३ अर्बभन्दा धेरै छ ।
सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । यसअवधिसम्म यस बैंकले ९० अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ । १ महिनाको अवधिमा १४ बैंकको कर्जा लगानी बढेको छ भने ६ बैंकको घटेको छ ।
भदौ मसान्त सम्ममा सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमई बैंकले संकलन गरेको छ । यसअवधिमा यस बैंकले ५ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन ४ खर्बभन्दा धेरै छ ।
सबैभन्दा कम निक्षेप संकलन गर्नेमा पनि स्टान्डर्ड चार्टर्ड बैंक नै रहेको छ । १ महिनाको अवधिमा १३ बैंकको निक्षेप संकलन बढेको छ भने ७ बैंकको घटेको छ ।