बैंकिङ खबर/ विश्वका केन्द्रीय बैंकहरूले ब्याजदर घटाएका छन् । शक्तिशाली राष्ट्र अमेरिकाको फेडरल रिजर्भ बैंक (फेड)ले हालै ब्याजदर ०.५ प्रतिशत (५० आधार विन्दु)ले घटाएर ४.७५ देखि ५ प्रशितसम्म पुर्याएको छ ।
यस्तै यसअघि चीनले गत ७ साउनमा ब्याजदर १० आधार विन्दुले घटाएर ३.३५ देखि ३.८५ प्रतिशतसम्म सीमित गरेको थियो । गत ८ साउनमा श्रीलंकाले ब्याजदर २५ आधार विन्दुले घटाएर ८.२५ देखि ९.२५ प्रतिशतसम्म कायम राखेको छ ।
यद्यपि, निर्यात खस्किन थालेपछि गत १० भदौमा बंगलादेशले ब्याजदर ५० आधार विन्दुले बढाएर ९ प्रतिशत पुर्याएको थियो ।
पाकिस्तानले २७ भदौमा २०० आधार विन्दुले ब्याजदर घटाएर १७.५ प्रतिशत राखिसकेको छ । भारतले २५ माघ ०८० यता ६.५ प्रतिशतको नीतिगत दरलाई यथावत् नै राखेको छ ।
युरोपेली केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेको छ । बढ्दो उपभोक्ता मूल्यलाई सम्बोधन गर्न सन् २०२२ को मध्यदेखि उच्च गतिमा दरहरू बढाएको यूरोपेली केन्द्रीय बैंक(ईसीबी)ले मुद्रास्फीति दर घटेकाले ब्याजदर कम गर्न थालेको हो।
फ्रयाङ्कफर्टस्थित बैंकले गत जुनमा पहिलो पटक निक्षेपको ब्याजदर चार प्रतिशतबाट घटाएर ३.७५ प्रतिशतमा झारेको थियो । इसीबीको प्रशासकीय परिषद् (गभर्निङ काउन्सिल) ले जुलाईमा उधारो लागतलाई नियन्त्रणमा राखेको थियो तर अर्को त्रैमासिक बिन्दु बिहीबार ब्याजदरमा कटौती गर्ने अपेक्षा गरिएको छ । यो निर्णयले व्यवसाय र नागरिकहरूलाई थप राहत प्रदान गर्नेछ ।
युरो प्रयोग गर्ने २० देशका लागि मौद्रिक नीति तय गर्ने ईसीबीबाट सन् २०१९ पछि यो दोस्रो दर कटौती हुनेछ । बेरेनबर्ग बैंकका अर्थशास्त्री होल्गर स्माइडिङले भने,‘हालका सबै ईसीबी वक्ताहरूले दरहरू घटाउन चाहेको पुष्टि गरेका छन्।’
संसारभर नै ब्याजदर घटिरहेका बेलामा नेपालले पनि ब्याजदरलाई गत ११ साउनमा सार्वजनिक मौद्रिक नीतिमार्फत ०.५ प्रतिशत विन्दुका दरले घटाएर नीतिगत दरलाई ५ प्रतिशत र बैंकदरलाई ६.५ प्रतिशतमा कायम राखिसकेको छ ।