बैंकिङ खबर/ एक निश्चित समयावधिमा गरिने कुल आम्दानीमा खर्च गरेर बाँकी रहेको रकमलाई बचत भनिन्छ । खर्च गर्दा हामीले अत्यावश्यक खर्च, योजना बनाएको खर्च, कर्जा तिर्न, वैकल्पिक खर्च गर्न, आकस्मिक खर्च गर्न र व्यापार गर्न गरिने खर्च विभिन्न शीर्षकमा छुट्याएर मात्र गर्दा खर्च कम हुन्छ र धनको व्यवस्थापन सहज तरिकाले गर्न सकिन्छ ।
अर्कोतर्फ बचत रकमले मानिसको सुताइ वा निद्रामा समेत सुधार ल्याउने विभिन्न अध्ययनले देखाएको छ । थोरै भए पनि मासिक रुपमा सीमित रकम जोगाएर राख्दा उक्त रकमले मानिसलाई आराम गर्न र भविष्यको बारेमा आशावादी हुन मद्दत गरेको अध्ययनले देखाएको हो ।
ब्रिस्टल युनिभर्सिटीका शिक्षाविद्हरुले गरेको एक अनुसन्धानले यस्तो रिपोर्ट सार्वजनिक गरेको छ । उक्त अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताहरुका अनुसार न्युन आय भएका बचतकर्ताहरुको जीवनमा सन्तुष्टिको स्तर धनी गैरबचतकर्ताहरुको जस्तै हुन्छ । जसअनुसार बेलायतका एकचौथाइ वयष्कहरुले १ सय पाउन्डभन्दा पनि कम बचत गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।
पछिल्ला वर्षहरुमा नियमित बचत गर्ने काम चुनौतीपूर्ण हुँदै आएको छ । तीव्र रुपमा बढ्ने बिल र खाद्यान्न लगायत नियमित उपभोग्य सामग्रीको मूल्यका कारण बचत गर्नुलाई चुनौतीपूर्ण मानिन्छ ।
सर्वेक्षण अनुसार बेलायतमा सरदरमा हेर्दा प्रत्येक १० जनामध्ये ६ जनामा बचतको बानी रहेको पनि देखिन्छ । ब्रिस्टल युनिभर्सिटीको उक्त सर्वेक्षणले थोरै नै भए पनि नियमित बचतले मानिसको जीवन सन्तुष्टिमा सुधार ल्याउने निष्कर्ष निकालेको हो ।
रिपोर्ट अनुसार मानिसमा पैसा बचत नहुनुले पनि चिन्ता थप्ने गरेको र बचत रकमले चिन्ता हटाउने गरेको हुन्छ । अप्रत्याशित घटनाहरुको सामना गर्न बचत रकमले मद्दत गर्ने भएकाले मानिसलाई ढुक्क र कम चिन्तित बनाउने गरेको सर्वेक्षणको निष्कर्ष छ ।
यद्यपि पहिलेदेखि नै संकलित गरिएको बचत साथै विभिन्न उमेर समूह अनुसार परिवर्तन हुने परिस्थितिबारे अध्ययनले देखाएको छैन । सर्वेक्षणमा १० वर्षको अवधिमा हजारौं मानिसहरुले गरेको बचतको गतिविधिलाई अध्ययन गरिएको थियो । साथै बचतबाट जीवनमा पाउने सन्तुष्टिको तहलाई सुधार गर्न सकिने उनीहरुको सुझाव छ । तर बचत नगर्दा सन्तुष्टिको तहमा हानी पुग्ने पनि उनीहरुको सुझाव छ ।
सर्वेक्षणले मानिसको जीवनमा हुनसक्ने सम्भावित सन्तुष्टिका विविध स्रोतहरुबारे पनि अनुसन्धान गरेको थियो । उदाहरणका लागि घर सर्दा वा विवाह गर्दा मानसिक स्वास्थ्यमा धेरै हदसम्म सुधार हुने र जागिर गुमाउँदा वा बच्चा जन्माउँदा तुलनात्मक रुपमा मानसिक स्वास्थ्यमा नोक्सान हुने पनि अनुसन्धानले देखाएको छ ।