September 10th, 2024

सांसद भट्टचनको प्रयासमा व्यूँतिएको विकास

बैंकिङ खबर/ हुन त उनी व्यवसायिक पृष्ठभूमिका हुन् । तर राजनीतिमा लागेर केही गर्छु भन्ने जोश र जागर बोकेका एक हस्ती हुन् सांसद देवी प्रकाश भट्टचन । संसदमा उनले सधैँ फरक खालका विकासका मुद्दाहरु उठान गर्दै आएका छन् ।

ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी, जलविद्युत, पर्यटन उनको प्राथमिकताको विषय बन्ने गरेको छ । देशको विकास गर्ने हुटहुटी भएरै हुनुपर्छ अरु सांसदले नेताकै कुरा काटिरहँदा उनी भने कहिले जलविद्युत त कहिले पर्यटनका कुरा गर्छन् ।

जलविद्युतको विषय उठान र सार्थकता

बागलुङको उत्तरगंगा जलाशय जलविद्युत आयोजनाको बारेमा सांसद भट्टचनले संसदमा पटक–पटक आवाज उठाउँदै आएका छन् । उक्त आवाजले सार्थकता पाउने भएको छ । ढोरपाटनस्थित उत्तरगंगा जलाशययुक्त जलविद्युत परियोजनाको काम अघि बढ्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्थमन्त्री विष्णु पौडेल र उर्जामन्त्री दिपक खड्काले आवश्यक स्रोत सुनिश्चित हुने आवश्वासन दिँदै परियोजनाको काम अघि बढाउन निर्देशन दिइसकेका छन् । हालै उत्तरगंगा आयोजना अघि बढाउन अर्थमन्त्री पौडेलको अध्यक्षतामा ऊर्जा खड्का, प्राधिकरणका घिसिङ, उत्तरगंगा पावर कम्पनीका प्रतिनिधि, सांसद देवीप्रकाश भट्टचन, अर्थ र उर्जा मन्त्रालयका सचिवसहितको संयुक्त बैठक बसेको थियो ।

‘तत्कालै परियोजना सुरु गर्नका लागि कति बजेट चाहिन्छ, तत्काल प्रस्ताव पठाउनुस् । क्याविनेटबाट बजेटको व्यवस्था गर्ने जिम्मा मेरो भयो, अर्थमन्त्री पौडेलले भने, ‘यो राम्रो परियोजना भएकाले विद्युत प्राधिकरणले आफै लगानी गर्छ । त्यसका लागि चाहिने थप स्रोतको खोजी र व्यवस्था सरकारले गर्छ । म अर्थमन्त्री भएकै बेला यसको व्यवस्था गर्छु ।’

आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भइ वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ । जलाशायले प्रभावित जग्गा अधिकरण तथा मुआब्जाको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा तत्कालै अध्ययन गर्नसमेत प्राधिकरणलाई निर्देशन दिइएको छ । तत्कालै अधिकरण गरेर मुआब्जा नगरी खण्ड–खण्डमा गर्ने गरी काम अघि बढाउने बैठकमा सहमति भएको छ ।

अहिले विद्युत प्राधिकरण इन्जिनियरिङ कम्पनीमार्फत् आयोजनाको ‘रिभ्यु अफ फिजिबिलिटी स्टडी एन्ड इन बेसिन एन्ड इन्टर बेसिन अप्सन स्टडी’को कार्य भइरहेको छ । पहिलो अध्ययन प्रतिवेदनले ८२८ मेगावाट विजुली उत्पादन हुने देखाए पनि पछिल्लो पटक ८२१ मेगावाट उत्पादन हुने उल्लेख गरिएको छ । पहिलो चरणमा ८२१ मेगावाट उत्पादन भए पनि चरणबद्ध विद्युत उत्पादन गृह थप गरेमा १२ देखि १३ सय मेगावाटसम्म विद्युत उत्पादन हुने विज्ञहरुको भनाइ छ । सांसद भट्टचन यस आयोजनाबाट हिउँदयाममा १०० प्रतिशत उत्पादन दिन सक्ने बताउँछन् ।

युरिनियम भण्डार

सांसद भट्टचनले मुस्ताङको युरिनियम भण्डारका विषयलाई संसदमा पटक–पटक उठान गर्दै आएका छन् । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न केही वर्ष मुस्ताङ पुगेको सरकारी टोलीले थप अध्ययन गरेको थियो । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि.सं २०७०-७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको छ ।

त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । खानी तथा भूगर्भ विभागले वि.सं २०७०-७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो ।

सांसद भट्टचनले मुस्ताङको लोमानथाङमा लम्बाइ १० किलोमिटर, चौडाइ ४ किलोमिटर भएको उत्कृष्ठ युरिनियमको भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएको र सोको उत्खनन् प्रक्रियामा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । उक्त युरिनियम भण्डारबाट प्राप्त हुने आयस्रोतबाट स्थानीय सरकारलाई अत्याधिक रकम छट्याउन र परस्परागत ढाँचाको बसोबास निर्माण गर्न आवश्यक रहेको भट्टचनको भनाइ छ ।

ढोरपाटन विकास परियोजना स्थापनाको माग

सांसद भट्टचनले आन्तरिक तथा वाह्य विकास प्रवद्र्धनका लागि ढोरपाटन विकास परियोजना स्थापनाको पहल गर्दै आएका छन् । उनले संसदमा यस विषयमा पटक–पटक आवाज उठाउँदै आएका छन् ।

यस्तै भट्टचनले ललितपुरको गोदावरीदेखि काठमाडौंको बुढानीलकण्ठ तथा काठमाडौंको थानकोटदेखि भक्तपुरसम्म मेट्रो रेल सञ्चालनका लागि बजेट व्यवस्था गर्न माग गर्दै आएका छन् । यस्तै सांसद भट्टचनले थानकोट–चित्लाङ सुरुङमार्गको काम अगाडि बढाएमा काठमाडौं उपत्यकाको जनसंख्याको चाप कम हुने सुझाव दिँदै आएका छन् ।

उनले नेपाली झण्डाअंकित पानीजहाज सञ्चालनका लागि आवश्यक कानूनी बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । कलकत्ता बन्दरगाहमा आउन सक्ने पानीजहाज सञ्चालनमा ल्याउन सकेमा मलेसिया र सिंगापुरबाट हुने ढुवानीका लागि २ अर्ब विदेशी मुद्रा बचत हुने उनको भनाइ छ ।

यस्तै भट्टचनले मुस्ताङमा खम्पा विद्रोह उठेपछि हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकप्टर सेवा सञ्चालन नभएको अवस्था छ । नेपालीलाई नेपालमा जाँदा पनि गृह मन्त्रालय र नागरिक उड्यन प्राधिकरणको सिफारिश तथा जिल्ला प्रशासनको अनुमति लिनुपर्ने आवश्यकता रहेको भन्दै ध्यानाकर्षण गराउँदै आएक छन् । पहाडी क्षेत्रमा हेलिकप्टर सेवा सञ्चालनका लागि सहजीकरण गर्न जरुरी रहेको उनको भनाइ छ ।

सांसद भट्टचनले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण भविष्यमा संवैधानिक संकट आउन सक्नेतर्फ पनि सचेत गराउँदै आएका छन् । भट्टचन भन्छन्, ‘मिश्रित निर्वाचन प्रणालीका कारण देशमा ढिलोचाँडो संवैधानिक संकट आउने छ ।’

नेपाली बालवाहक पानी जहाज, अन्तर्राष्ट्रिय समुन्द्र मार्गमा सञ्चालन गर्नका लागि संसदमा पेश भएको विद्येयक विगत ४ वर्षयता अलपत्र अवस्थामा रहेकोले सो विद्येयकमा पनि सांसद भट्टचनले आवाज उठाउँदै आएका छन् ।

सांसद भट्टचन भन्छन्, ‘कुनै पनि नयाँ योजना भिजन भएका नेताले गर्दछन् । भिजन योजना कसैलाई हावदारी पनि लाग्न सक्छ । यदी म २५८६ वर्ष अगाडि लुम्बिनीमा हुन्थे भने सिद्धार्थ गौतम जब दरबार छोडेर गए मैले पनि हावादारी काम गर्न जाँदै हुनुहुन्छ भन्थे होला ? । तर आज सिद्धार्थ गौतम भगवान बुद्ध भएका छन् । आज विश्वभर छाएर बसेका छन् ।’

अर्थतन्त्रका पनि संवाहक भट्टचन

वरिष्ठ व्यवसायी भट्टचनलाई अर्थतन्त्रका संवाहकका रुपमा लिन सकिन्छ । झण्डै आधा दर्जन बढी क्षेत्रमा लगानी गरेका भट्टचनले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

भट्टचनले नेतृत्व गरेका संस्थाहरुले हजारौंलाई रोजगारी दिएको छ । यस्तै नेपालमा रेमिट्यान्स भित्र्याउनदेखि ती संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । नेपालको अर्थतन्त्रका साथै राजनीतिक क्षेत्रमा भट्टचनको योगदान महत्वपूर्ण रहेको छ ।