November 29th, 2016

मुलुकको केन्द्रीय प्रशासन, के–के गर्छ सिंहदरबार ? (हेर्नुस् रिपोर्टमा) 

singha-durbar01मुलुककै केन्द्रीय प्रशासन सिंहदरबार । जहाँ मुलुकका सबैभन्दा महत्वपूर्ण मन्त्रालय, विभागदेखि विभिन्न सरकारी कार्यालयहरु छन् । त्यहाँभित्र के–के काम हुनुपर्ने हो ? विकासका योजना, रणनीतिहरु अध्ययन तथा निर्माण, नागरिक हितका रणनीतिदेखि कार्यान्वयनका लागि आवश्यक निर्देशनसम्म । बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म ‘मुलुकको समृद्धिका लागि’ भन्दै सिंहदरबारका ढोकाहरु खोलिन्छन् । सिंहदरबारको ढोका खुल्ने समय भरी त्यहाँका ‘भान्से’हरुले साँच्चै इमान्दार भएर काम गरिदिएको भए अहिले देश गरीबहरुको सूचीमा सीमित भएर बस्नु पर्ने थिएन । 
‘एउटा गरीब नागरिकको आसाको केन्द्र, एउटा ग्रामिण क्षेत्रको विश्वासको केन्द्र, देशको मुटु’जस्ता लोकप्रिय नामले सम्बोधन गरिने सिंहदरबारले यथार्थमा के काम चाहिँ गर्दैछ त ? सामान्य नागरिकले यसबारे जान्न जरुरी छ ।

फाइलको काममा बार्गेनिङ
बजारियाहरुले त करिब करिब सिंहदरबारलाई राम्रैसँग चिनेका छन् । तर मुलुकका दूरदराजका आम नागरिक भने सिंहदरबारबारे भ्रम पालेर बसेका छन् । सिंहदरबारको ढोका खुलेदेखि नै विभिन्न आयोजना र परियोजनाका फाइलमा ‘¥याल’ चुहाइन्छ । कुनै पनि सरकारको पालामा होस्, अपवादबाहेक अधिकांश मन्त्रालयमा हरेक दिन विकासका योजनाहरु ‘सेटिङ’मा मिलाउने काम भईरहेका छन् । त्यसैले पनि सरकार बन्ने बेला ‘कोलिएसन’मा जाने पार्टीहरुबीच ‘मालवाला’ मन्त्रालय आफ्नो पोल्टामा पार्ने होडबाजी नै चल्छ, जुन सबैले देखेकै कुरा हो । 
पहिला–पहिला त सिंहदरबारमा ‘मनि व्रिफ्केस’ लगिन्थ्यो । तर आजभोलि अलि कडा छ । त्यसैले मौखिक सहमतिमा सिग्नेचर विक्री गर्ने थलोको रुपमा सिंहदरबार विकास हुँदै गएको छ । त्यसैले त पिच गरेको १ वर्ष नभई बाटो कच्चीभन्दा पनि सडेको बन्छ, सुरु भएको २० औँ वर्षसम्म पनि हाइड्रोपावरहरु पूरा हुँदैनन् । बन्दाबन्दै पूल खिइन्छ तर काम पूरा हुँदैन ।


सरुवाको लागि भनसुन
खासगरी एउटा सिजनमा सरुवा सिफारिसका लागि सिंहदरबार छिर्नेहरुको बजारै लाग्छ । सामान्यतया २–२ वर्षमा हरेक निजामती कर्मचारीको आलोपालो सरुवा हुनुपर्ने नियम छ । तर, सिंहदरबारलाई खुशी पार्नेहरु भने लामो समयदेखि रोजेको ठाउँमा बसेर काम गर्न पाउँछन् । तर सिंहदरबारले नचिनेकाहरु भने सबैले छाडेको स्थानमा बस्न बाध्य हुन्छन् । सामान्य प्रशासन मन्त्रालयले साउन महिना कर्मचारीहरूको अन्तर मन्त्रालय सरुवा र भदौ महिना मन्त्रालय मातहतका शाखा तथा विभागमा सरुवाका लागि समय छुट्याउने गरेको छ । त्यतिबेला सामान्य प्रशासनमा पैसाका ठूलै खातहरु पछारिन्छन् । 

saruwa-badhuwaनापी, मालपोत, यातायात, वैदेशिक रोजगार विभागलगायतका कार्यालयमा ‘माल’ कमाउन सजिलो हुने भएकाले सिंहदरबारभित्र तिनै कार्यालयमा सरुवा गरिपाउँ भन्ने सिफारिस वर्षैभरि गईरहेका हुन्छन् । सम्बन्धित मन्त्रीले पनि मौका छोपेर ती विभागमा पठाइहाल्छन् । अधिकांश मन्त्रालयका मन्त्रीहरु हरेक दिन केही समय सरुवाको सिफारिसमा अल्मलिन्छन् । 
 
जागीरमा नाम निकाल्न सिफारिस 
धेरै मानिसहरुलाई सरकारी जागिरप्रति लोभ हुन्छ । वर्तमानभन्दा पनि भविष्यलाई हेरेर सरकारी जागिरप्रति धेरैको मोह रहेको पाइन्छ । कतिपय त करारमै भएपनि सरकारी कार्यालयमा काम गर्न इच्छुक हुन्छन् । ती सबै काम चिनजान बेगर सम्भव छैन । लोकसेवामा नाम निकालेकालाई पनि ‘म जागिरे भएँ’ भन्ने विलकुल विश्वास हुँदैन, जब उसले सिंहदरबारभित्रको कुनै ‘टोपीवाल’ लाई चिनेको छैन भने । त्यसैले धैरै मानिसहरु थोरबहूत खुवाएरै भएपनि जागिरका लागि नाम निकाल्न सिंहदरबार धाउने गर्छन् । त्यसबाहेक विभिन्न मन्त्रालय, विभाग, प्राधिकरण, आयोजना तथा सरकारी प्रोजेक्टहरुमा करारमै भएपनि घुसाउन भनसुन गर्न सिंहदरबार छिर्नेको पनि बिलकुल कमी छैन । सिंहदरबार त्यही काममा पनि अल्झिरहेको छ । त्यसैले शिक्षकलाई विद्यार्थीले सिकाइरहेका छन्, हाकिमलाई कर्मचारीले सिकाइरहेका छन् । 
 

कमिशनको बार्गेनिङ
‘मनि ब्रिफ्केश’ लिएर कोही सिंहदरबार नछिरेपनि कमिशनका लागि सिग्नेचर विक्री हुने ठाउँ पनि सिंहदरबार नै हो । जहाँ कमिशनको बाढी चल्छ, फाइल मिलाइदिनेदेखि कर्मचारी सरुवा, बढुवा, नियुक्तिसम्म कमिशनको चलखेल हुन्छ । कमिशनकै कारण बेला–बेला मन्त्रि र सचिवबीचको द्धन्द्ध, कर्मचारी र हाकिमबीच विवाद बाहिर आउने गरेको छ । सिंहदरबारभित्र कुनै पनि तल्लो पददेखि नै कमिशनको बार्गेनिङ सुरु हुन्छ र मन्त्रिसम्म पुगेर त्यसले पूर्णता पाउँछ । मन्त्रिको पिएदेखि सहयोगिसम्मले कमिशनको बार्गेनिङ गरेको हेर्ने हो भने सिंहदरबार जाँदा हुन्छ ।


ठेक्का पट्टाको बार्गेनिङ 
नारायणगढ मुग्लीन सडकखण्ड विग्रेको कति भयो ? सो सडकबाट सयौँ सवारी साधनमा दैनिक हजारौँ यात्रीहरु अत्यन्तै जोखिम र कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । तर त्यहाँको काम भने यात्रीको सास्तीप्रति अलिकति पनि संवेदनशील नभई कछुवा गतिमा भईरहेको छ । यसको मुख्य कारण सिंहदरबार नै हो । सिंहदरबारले ठेक्कापट्टा दिनेबेला गर्न सक्नेलाई दिँदैन । कि सेटिङमा कि आफ्नैलाई ठेक्कापट्टा मिलाउने परिपाटीले कुनै पनि विकासका कामको रिजल्ट राम्रो देखिएको छैन । मेलम्ची खानेपानी आयोजना एकादेशको कथा भईसक्यो । रेल मार्ग बनाएर रेल कुदाउने योजना सायद अहिलेका पुस्ताले विर्सिसके । 
 
राजनीतिक कायकर्ताको नियुक्ति, सरुवा र बढुवा 
स्वभाविक रुपमा देशको केन्द्रीय प्रशासन भएकाले सिंहदरबारले कर्मचारीको नियुक्ति, सरुवा र बढुवा गर्दछ । तर त्यसमा विकार त्यतिबेला आउँछ, जतिबेला ‘म देशको मन्त्रि हुँ’ भन्दै पदमा बसेको मन्त्रि र ‘म जनताको नोकर हुँ’ भन्दै काममा लागेको कर्मचारीले आफ्ना भुरेटाकुरेलाई नियुक्ति, सरुवा र बढुवा गर्न थाल्छन् । अतिसयुक्ति नहोला, सिंहदरबारकै कारण पनि अहिले देशबाट झण्डै दुई हजारको हारहारीमा युवाहरु विदेश पलायन भईरहेका छन् । आफ्नो झोला बोक्नेहरुलाई जहाँ जस्तो भन्यो त्यस्तै पदमा पुर्याइदिने प्रवित्ति छरपष्ट भएकाले आम युवा हतोत्साहित भएका हुन् । 
 
पैसा कमाउने धन्दा 
सिंहदरबारमा हुने ‘फाइल बार्गेनिङ’ इज्जत, प्रतिष्ठा, लोकप्रियता वा अरु कुनै अभिलासामा हुँदैनन्, ती सबै बार्गेनिङको एउटै लक्ष्य हुन्छ पैसा कमाउनु । ‘एनि हाउ पैसा कमाउ’ । अधिकांश मन्त्रिदेखि कर्मचारीसम्ममा यो प्रवित्ति हाबी छ । त्यसैले त लोकतन्त्रपछि धेरै नवढनाध्यहरुको उदय भएको छ । हिजो साइकलमा हिड्ने व्यक्ति एकपटक मन्त्रि हुनेवित्तिकै आफ्नै बोलेरोमा हुँइकिदै गरेको दृष्य काठमाडौँबासीले रमीताको रुपमा देख्न पाएकै छन् । 
सिंहदरबारले माथि उल्ल्लेखित काम गर्दैन भने देशमा समृद्धि खोई ? सिंहदरबारको भूमिका खोई ? राजनीतिक दलले अखडाको रुपमा सिंहदरबारलाई खुम्च्याएको कुरा घाम पूर्वबाट उदाएजस्तै सत्य हो । त्यसैले सिंहदरबारले सोच्ने बेला आइसकेको छ ।