Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सर्वसाधारणको १४ खर्ब बढी निक्षेप बीमा

२०८१ भाद्र ६ गते


बैंकिङ खबर/ निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेप सुरक्षणवापत सर्वसाधारणको बैंक खातामा रहेको १४ खर्ब ३० अर्ब रूपैयाँ भन्दा बढी निक्षेप सुरक्षण प्रत्याभूती गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा कोषले २०८०। २०८१ को मसान्तसम्ममा ५६ बैंक तथा वित्तीय संस्थामा बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम १४ खर्ब ३० अर्ब ४६ करोड रूपैयाँ निक्षेप सुरक्षण गरेको हो ।

कोषमा कुल ४ करोड ५७ लाख ९५ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बैंक बचत खाताको निक्षेपको सुरक्षण गरिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।२०८० मसान्तसम्ममा कोषले कुल १२ खर्ब ३२ अर्ब रूपैयाँ निक्षेप सुरक्षणको प्रत्याभूती गरेको थियो । कोषमा त्यति बेला ४ करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको खाताको बचत सुरक्षण गरिएको थियो।

कोषले प्राकृतिक व्यक्तिको हकमा प्रति व्यक्ति अधिकत्तम ५ लाख रूपैयाँसम्मको निक्षेपको प्रत्याभूती दिँदै आएको छ। अर्थात् कुनै एउटा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स वा लघुवित्त वित्तीय संस्थामा कुनै व्यक्तिको नाममा रहेको निक्षेप रकमको अधिकत्तम ५ लाख रूपैयाँसम्मको निक्षेप फिर्ता पाउने गरी प्रत्याभूति गरिएको छ।

यस प्रावधान अन्तर्गत कुनै बैंक वा वित्तीय संस्था वित्तीय संकटमा परेको अवस्थामा कोषले प्रत्येक निक्षेपकर्ताको निक्षेपवापतको रकमको अधिकत्तम ५ लाख रूपैयाँ निक्षेप फिर्ता दिनेछ।

वाणिज्य, विकास, फाइनान्स र लघुवित्त कम्पनीको प्राकृतिक व्यक्तिको बचत खाताको अधिकत्तम ५ लाख रूपैयाँसम्मको निक्षेप बीमा नेपाल राष्ट्र बैंकले अनिवार्य गरेको छ। कुनै पनि व्यक्तिले बैंक वा वित्तीय संस्थामा निक्षेप खाता खोलेर रकम जम्मा गरे लगत्तै बैंकले कोषबाट पूर्व निर्धारित सीमा अनुसार यसको सुरक्षणको व्यवस्था गरिहाल्छ।

राष्ट्र बैंकका अनुसार कोषले २०८०।८१ को अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थाको २ खर्ब ९६अर्ब ४५ करोड रूपैयाँ बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (सरकारको ब्याज अनुदानमा प्रवाह भएको सहुलियतपूर्ण कर्जासमेत)को समेत सुरक्षण गरेको छ । अघिल्लो आव २०७९।०८० मसान्तसम्ममा कुल २ खर्ब ७४ अर्ब ५५ करोड रूपैयाँ बराबरको कर्जा सुरक्षण गरिएको थियो।