बैंकिङ खबर/आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रका सूचकहरु सुधारोन्मुख देखिएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा महंगी घट्नुका साथै खुम्चिएको आयातनिर्यात पुनः विस्तार हुनथालेको छ।
अघिल्लो आर्थिक वर्षको असारसम्म ७.४४ प्रतिशतमा पुगेको विन्दुगत उपभोक्ता मूल्यवृद्धि गत असारसम्म घटेर ३.५७ प्रतिशतमा सीमित भएको छ। यता औसतमा वार्षिक उपभोक्ता मूल्यवृद्धि पनि ५.४ प्रतिशतमा ओर्लिएको छ। अघिल्लो वर्ष यस्तो दर ७.७४ प्रतिशतमा थियो।
गत आवमा शोधनान्तर स्थितिमा व्यापक सुधार देखिँदा चालू खाता पनि बचतमा आइपुगेको छ। विदेशी विनिमय सञ्चिति बढेर १५ महिना बढीको वस्तु आयात र १३ महिनाको वस्तु र सेवा दुवै आयात धान्नसक्ने अवस्थामा पुगेको छ।
अर्थतन्त्रको टेको मानिने रेमिट्यान्स पनि यो वर्ष बढेको छ। यसले पनि वैदेशिक सञ्चितिलाई अघिल्लो वर्षको तुलनामा बढाएको हो। सरकारले खर्च गर्न नसक्दा बजारमा नगद प्रवाहको अवस्था खस्किँदो छ। यसलाई आधार मान्दै राष्ट्र बैंकले गत आवकै मौद्रिक नीतिको समीक्षाबाट कर्जा विस्तार बढाउने नीति लिँदै आएको छ। यसले पनि अघिल्लो वर्षहरु संकुचित बन्नपुगेको आयातनिर्यातको अवस्थालाई केही खुकुलो बनाउने मद्दत पुर्याएको देखिन्छ।
यद्यपि कर्जा प्रवाह भने यो वर्ष अपेक्षित देखिएन। ब्याजदर दोहोरो अंकमा पुग्दा कर्जा प्रवाह बढ्न नसकेको हो। राष्ट्र बैंकका अनुसार गत असारसम्म ५.८ प्रतिशतले मात्रै बढेको हो। राष्ट्र बैंकले ११ प्रतिशतको कर्जा प्रवाहको अपेक्षा राखे पनि अर्थतन्त्र चलायमान बन्न नसक्दा बजारमा कर्जा प्रवाह फितलो देखिएको छ भने निक्षेप उल्लेख्य बढ्न पुगेको छ।
समग्रमा अर्थतन्त्रका सूचकहरु सुधारात्मक देखिएका छन्–
घट्यो महँगी
गत आर्थिक वर्षमा वार्षिक उपभोक्ता मुद्रा मूल्यवृद्धि घटेर ५.४४ प्रतिशतमा आइपुगेको छ। यसलाई अघिल्लो वर्षको तुलनामा बजारमा महंगी कम भएको बुझ्न सकिन्छ। अघिल्लो वर्ष यस्तो मूल्यवृद्धि ७.७४ प्रतिशतमा थियो।
समग्रमा गत वर्ष महंगी घटे पनि वस्तुगत हिसाबमा भने अघिल्लो वर्षको तुलनामा महंगी बढेको देखिन्छ। जस्तै अघिल्लो वर्षको तुलनामा गत वर्ष खाद्य तथा पेय पर्दाथको मूल्यवृद्धि ६.६२ प्रतिशतबाट घटेर ६.४७ प्रतिशतमा ओर्लिए पनि मरमसला, चिनी तथा गेडागुडीको मूल्यवृद्धि बढेको हो।
अघिल्लो वर्षको तुलनामा गत वर्षमा सर्वसाधारणले मरमसालामा २६.४० प्रतिशत, दाल तथा गेडागुडीमा ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुमा ८.८७ प्रतिशतले बढी मूल्य तिर्नुपर्यो।तर यो अवधिमा घ्यू, तेलमा भने उपभोक्ताले १०.९९ प्रतिशतले कम मूल्य तिर्नुपर्यो। तरकारी तथा पेयपदार्थको मूल्यवृद्धि देखिए पनि घ्यू, तेलमा भने यो वर्ष मूल्यवृद्धि घटेको हो।
चालू खाता र शोधनान्तर स्थिति दुवै बचतमा
अघिल्लो वर्षको तुलनामा यो वर्ष सरकारको चालू खाता र शोधनान्तर स्थिति दुवै बढेर बचतमा देखिएको हो। अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेकोमा असार मसान्तसम्म बढेर २ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा देखिएको हो।
त्यस्तै शोधनान्तर स्थितिमा पनि अघिल्लो वर्षको तुलनामा व्यापक सुधार देखिएको छ। अघिल्लो वर्षको समीक्षा अवधिमा २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँ बचतमा रहेकोमा यो वर्ष बढेर ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँमा पुगेको हो।
रेमिट्यान्स बढ्दा विदेशी सञ्चिति २० खर्बमा
समीक्षा अवधिमा रेमिट्यान्समा पनि उल्लेख्य सुधार देखिएको छ भने आयात पनि अपेक्षित रुपमा नबढ्दा वैदेशिक सञ्चित बढ्न पुगेको छ। आर्थिक वर्ष २०८०/८१ मा रेमिट्यान्स १६.५ प्रतिशतले बढेर कुल १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको छ भने खुद ट्रान्सफर पनि १४.७ प्रतिशतले बढेर १५ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ।
बढ्दो रेमिट्यान्सले वैदेशिक सञ्चितिमा पनि टेवा पुर्याएको देखिन्छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष ३२.६ प्रतिशतले बढेर विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँमा पुगेको छ। यसले १५ महिना ६ दिनको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्नेछ। अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक सञ्चिति थियो।
सरकारको आम्दानीको बढ्दा खर्च घट्यो
अघिल्लो वर्षको तुलनामा सरकारले गर्ने खर्च घटेको छ भने आम्दानीको मुख्य स्रोत रहेको राजस्व संकलन सामान्यले बढेको छ। अर्थ मन्त्रालयका अनुसार अघिल्लो वर्ष सरकारले १४ खर्ब २१ अर्ब खर्च गरेकोमा गत वर्ष १४ खर्ब ८ अर्ब रुपैयाँ खर्च गरेको हो। जसमा ९ खर्ब ५१ अर्ब चालू खर्च गर्दा १ खर्ब ९१ अर्ब पुँजीगत खर्च र २ खर्ब ६४ अर्ब रुपैयाँ वित्तीय खर्च गरेको हो। पुँजीगत खर्चमा सुधार गर्न नसक्दा त्यसले विकास आयोजनालाई भने नकारात्मक प्रभाव पार्ने गर्दछ।
राजस्वमा भने यस वर्ष सामान्य सुधार देखिएको हो। अघिल्लो वर्ष ९ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले गत वर्ष १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो।
निजी क्षेत्रमा जाने कर्जा बढ्योे, निक्षेपमा पनि उल्लेख्य वृद्धि
अघिल्लो वर्ष कर्जा प्रवाह सुस्त देखिए पनि गत आवमा तुलनात्मक रुपमा ३.८ प्रतिशतले कर्जा प्रवाह बढेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा २ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो।
अघिल्लो वर्ष १ खर्ब ७५ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको थियो। गत आवको मौद्रिक नीतिबाट राष्ट्र बैंकले कर्जा प्रवाहमा खुकुलो नीति लिनुका साथै दोहोरो अंकमा पुगेको ब्याजदरमा क्रमशः घट्न थाल्दा निजी क्षेत्रमा जाने कर्जाको रकम बढ्न पुगेको हो। यद्यपि यो पनि अपेक्षित वृद्धि भने होइन। राष्ट्र बैंकले ११ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिए पनि ५.८ प्रतिशत मात्रै कर्जा प्रवाह भएको हो। चालू आवमा १२.५ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिइएको छ।
यो अवधिमा ६६.५ प्रतिशत कर्जा घरजग्गा धितोमा गएको छ भने १३.२ प्रतिशतश कर्जा सम्पतीको धितोमा गएको छ।