बैंकिङ खबर/ स्थानीय श्रोत, सीप, साधन र श्रमको समुचित प्रयोग गरी गरिब तथा विपन्न वर्ग र दूरदराजका समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले विक्रम सम्बत् २०४८ साल साउन २८ गते स्थापना भएको स्वावलम्बन विकास केन्द्रले एक समारोहका बीच ३३ औँ वार्षिकोत्सव मनाएको छ ।
शताब्दी पुरुष तथा बरिष्ठ चिकित्सक डा. गौरी शंकर लाल दासको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको सभापतित्व केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले गरेका थिए । समारोहलाई सम्बोधन गर्दै डा.दासले लघुवित्त सेवा पछिल्लो समय सहर र धनीवर्ग केन्द्रित भएको आरोप लागेको सन्दर्भ उल्लेख गर्दै लघुवित्तलाई गरिब र विकट कर्णाली जस्तो दुरदराजमा पुगेर सेवा दिन आग्रह गरे । साथै उनले सेवा भावले गरेको कार्यले पछि सम्म सन्तुष्टि दिने धारणा राख्दै आफ्नो प्रयासमा २०४८ सालताका स्थापना गरेका वीपी नेत्र प्रतिष्ठान, प्रौढ कल्याण संघ, पूर्व कर्मचारी सेवा परिषद् आदि जस्ता सेवामूलक संस्थाहरुले अहिले समाजमा निकै राम्रो काम गरेको कारण आफूलाई निकै सन्तुष्टि मिल्ने गरेको जानकारी दिए ।
सो अवसरमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्तलाई सही बाटोमा हिडाउन र सामाजिक रुपान्तरणको अस्त्रको रुपमा प्रभावकारी बनाउन स्वावलम्बन विकास केन्द्र लागि परेको उल्लेख गरे । यसका साथै पछिल्लो समय लघुवित्तलाई एउटा सामाजिक व्यवसायको अभियानका रुपमा अंगाल्न पहल गर्ने र धनी झन् झन् धनी बन्ने र गरीब झन् गरीब बन्ने अहिलेको अवस्थाको अन्त्य हुने गरी नयाँ सभ्यता विकासमा काम गर्न प्रेरित गर्न शुरुवात गरेको जानकारी दिए ।
सो अवसरमा उनले चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले पारित गरेको घोषणापत्रको अक्षरशः पालना गरे लघुवित्त पुरानै सुनौलो युगमा फर्कन सक्ने धारणा राखे । सो अवसरमा उनले केन्द्रको ३३ वर्षे यात्राका सहयात्री, सहकर्मी, सहयोगी र साझेदार संस्था तथा व्यक्तिहरुलाई आभार ब्यक्त गरे ।
सो अवसरमा केन्द्रका उपाध्यक्ष महेन्द्र कुमार गिरीले केन्द्रको ३३ वर्षे यात्रा सस्मरण गरेका थिए । सो अवसरमा उनले शुरुका दिनमा कर्णालीका विकट जुम्ला, कालिकोट लगायतका जिल्लाबाट स्वावलम्बन सामुदायिक विकास कार्यक्रम शुरु गरेको, केही पछि पूर्वी तराई तीनवटा जील्लाबाट लघुवित्त कार्यक्रम शुरु गरेको र लघुवित्त कार्यक्रमको सबै दायित्व स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरी हाल केन्द्रले लघुवित्तको विकास र प्रवद्र्धनको लागि राष्ट्रिय सञ्जालको रुपमा काम गरी रहेको जानकारी दिए ।
समारोहमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको कार्यवाहीक विवरण पनि विमोचन गरिएको थियो । विक्रम सम्वत् २०४८ साल साउन २८ मा स्थापना भइ पुस १७ गते नेपालकै विकट क्षेत्र कर्णालीको जुम्ला जिल्लाबाट सामुदायिक स्वावलम्बन विकास परियोजना सञ्चालन गरेर लघुवित्तको सुरुवात गरेको केन्द्रले २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुर जिल्लामा स्वावलम्बन बैकीङ कार्यक्रम सुरुवात गरेको थियो ।
विपन्न र पिछडिएका महिलाहरुमा वित्तीय पहुँच पुर्याउने उद्देश्यका साथ परीक्षणको रुपमा शुरु गरिएको यो कार्यक्रमको सफलता पछि स्वावलम्बन लघुवित्त कार्यक्रम मुलुकभर विस्तार भएको हो । विक्रम सम्वत् २०५१ सालमा शुरु भएको स्वावलम्बन लघुवित्त कार्यक्रम विक्रम सम्वत् २०५८मा ८ जिल्लाका ३५ हजार भन्दा वढी सदस्य र २९ हजार ऋणी सदस्यहरु सहित स्वावलम्बन विकास बैँक (हाल स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि.) प्रवद्र्धन गरी कर्जा सँगै सम्पति
दायित्व एवं जनशक्ति हस्तान्तरण गरियो । यसको करिब एक दशक पछि थप १४ जिल्लाका ५८ हजार ४ सय ४१ सदस्य सहित जिन्सी, नगद तथा जनशक्ति स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको थियो । केन्द्रको पहलमा वि.सं.२०४९ सालमा जुम्लामा ६१ वटा आत्मनिर्भर समूह गठन भएका थिए । त्यस पछि कालिकोट, दाङ, सल्यान र ओखलढुङ्गा जिल्लामा पनि कार्यक्रम विस्तार गरिएको थियो । लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरे पछि केन्द्रले आफ्नो कार्यदिशा परिवर्तन गरेको हो ।
यसले लघुवित्त संस्थाहरुमा स्वच्छ लघुवित्त प्रवद्र्धन र शुद्धिकरणको लागि सक्षम र सकारात्मक जनशक्ति निर्माणमा लागेको छ । साथै लघुवित्त सेवाग्राही सदस्यहरुको चेतना, क्षमता तथा वित्तीय साक्षरता विकास गर्ने कार्यको पनि संयोजन गर्दै आएको छ ।
लघुवित्त तथा सहकारी संस्थाहरुसँगको सहकार्यमा केन्द्रले ‘स्वच्छ लघुवित्त निर्माणको अभियान, घरघरमा उद्यम फैलाउने अभियान, साथै स्वरोजगार सृजना गर्ने जस्ता अभियानहरु चलाउदै आएको छ । पछिल्लो समय उद्यमशीलता विकास अभियान, वातावरणमैत्री स्वावलम्बन गाउँ विकास अभियान, सामाजिक व्यवसाय तथा युवा उद्यमशीलता विकास लगायतका अभियान पनि शुरु गरेको छ ।
हाल केन्द्रले गरीबी र वेरोजगारी सँगै वातावरण तथा जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा पनि काम गर्दै आएको छ । यसकोलागि लघुवित्त तथा सहकारी संस्थाहरु, विभिन्न स्कुल, कलेजहरू एवं अन्य साझेदार संस्थाहरू सँग सहकार्य गरी तीन शून्य क्लबको गठन तथा प्रवद्र्धन गर्ने, विद्यालयस्तरमा वातावरणीय शिक्षा प्रदान गर्ने जस्ता कार्यको पनि थालनी गरेको छ । साथै बङ्गलादेशको यूनुस सेन्टर संगको सहकार्यमा नेपालमा पनि सामाजिक व्यवसाय प्रवद्र्धनको लागि जनवकालत तथा पैरवी पनि गर्दै आएको छ ।