August 10th, 2024

केन्द्रीय बैंकले बनायो ‘विद्युतीय मुद्रा’ को नमुना : क्रिप्टोका चुनौती सम्बोधन गर्ने विश्वास


बैंकिङ खबर/ केन्द्रीय बैंकले विद्युतीय मुद्राको नमुना तयार गरेको छ । सीबीडीसीसम्बन्धी सरोकारवालासँगको छलफलमा राष्ट्र बैंकको सीबीडीसी महाशाखाका प्रमुख कृष्णराम धुँजूले अब यही प्रोटोटाइप परिमार्जन गर्दै सीबीडीसीलाई सीमित विशेषतासहितको प्रारम्भिक संस्करणका रूपमा विकास गरिने जानकारी गराए ।

छलफलमा धुँजूले सीबीडीसी प्रणालीको इन्टरफेस (डिजिटल आवरण) पहिलो पटक सार्वजनिक गरेका थिए । राष्ट्र बैंकले जारी गर्ने सीबीडीसीको नाम तय भइसकेको छैन ।

सीबीडीसी प्रणालीको प्रोटोटाइप इन्टरमिडिएटरी आर्किटेक्चर अर्थात् राष्ट्र बैंकले सिँधै प्रयोगकर्तालाई डिजिटल मुद्रा उपलब्ध गराउने नभई बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराउने मोडलमा विकास गरिएको छ ।

यस्ता मुद्रामा ब्याज प्राप्त नहुने र सुरुवाती चरणमा सामान्य कारोबारका लागि प्रयोगमा ल्याइने राष्ट्र बैंकको योजना छ । बैंकले २०२६ को अगस्टमा बैंकिङ संस्थाहरूबीच रकम भुक्तानी, धितोपत्र कारोबार प्रयोजनका लागि होलसेल सीबीडीसीको पाइलट परीक्षण कार्यान्वयनमा ल्याउने गरी तयारी अघि बढाएको छ ।

सीबीडीसी विकास गर्न राष्ट्र बैंकले केन्द्रीय बैंकहरूको अन्तर्राष्ट्रिय संस्था बैंक फर इन्टरनेसनल सेटलमेन्ट (बीआईएस) को हङकङस्थित इन्नोभेसन हबले शुरु गरेको ‘एमब्रिज’ परियोजनामा अवलोकनकर्ताको सदस्यता लिएको छ ।

बीआईएस इन्नोभेसन हबले हङकङ मनिटरी अथोरिटी र हङकङ अप्लाइड साइन्स एन्ड टेक्नोलोजी रिसर्च इन्स्टिच्युटसँगको सहकार्यमा तयार पारेको रिटेल सीबीडीसी ‘औरम’ प्रोटोटाइपको कोडबेस (सफ्टवेयर विकास गर्न प्रयोग गरिने कोडहरू) पनि गत वर्ष अगस्टमै प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ ।

तिनै सोर्स कोडमा बैंकले सीबीडीसी विकास गर्दै आएको छ । कार्यक्रममा विभिन्न बैंक, डिजिटल भुक्तानी सेवा प्रदायक संस्था, विप्रेषण सेवाप्रदायक कम्पनी, सुरक्षा निकायका अधिकारी, विश्वविद्यालयका प्राध्यापकहरूले सीबीडीसी कार्यान्वयसम्बन्धी आफ्ना धारणा र सुझाव पेस गरेका थिए ।

कार्यक्रममा सीबीडीसीबारे धेरै द्विविधा र गलत बुझाइ रहेको र त्यसलाई चिर्दै जान आवश्यक रहेको गभर्नर महाप्रसाद अधिकारीले बताए । सीबीडीसीलाई क्रिप्टोकरेन्सीको विकल्प मान्न नमिल्ने, यसले नगदलाई प्रतिस्थापन नगर्ने र विद्यमान डिजिटल भुक्तानी प्रणालीलाई कुनै असर नपु‍र्‍याउने उनले प्रस्ट्याए ।

‘राष्ट्र बैंकले क्रिप्टोलाई मुद्रा मान्दैन, यो डिजिटल एसेट हो र यसको मूल्य तलमाथि भइरहन्छ,’ उनले भने, ‘सीबीडीसीको मूल्य परिवर्तनशील हुँदैन, यो नगद जस्तै हो । क्रिप्टोका चुनौती सम्बोधन गर्न यसले केही न केही मद्दत गर्छ ।’ सीबीडीसी विकासका लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सहयोग लिइरहेको गभर्नर अधिकारीले जानकारी गराए ।