बैंकिङ खबर/ नेपाल सरकार र राष्ट्र बैंकले विगतदेखि विप्रेषण आय बैंकिङ प्रणालीबाट भित्र्याउन गरिरहेको प्रयासको परिणाम स्वरुप वैदेशिक रोजगारीमा रहेका व्यक्तिमध्ये ९२.२ प्रतिशतले विप्रेषण आय बैंक तथा वित्तीय संस्था र रेमिट कम्पनीमार्फत् नेपाल पठाएको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वैदेशिक रोजगार वचतपत्रको स्थिति र प्रर्वद्धनका उपायबारे गरेको अध्ययन प्रतिवेदनमा यसमध्ये ७.८ प्रतिशतले मात्र साथीमार्फत् विदेशी मुद्रा पठाउने गरेको उल्लेख गरेको छ ।
रोजगारीमा जाने करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका र ७० प्रतिशत कम्तीमा एक पटक गएको प्रतिवेदनमा उल्लेख छ। जसमा महिलाको संख्या १९.२ प्रतिशत छ । २०.९ प्रतिशत पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेको प्रतिवेदनमा उल्लेख छ ।
के हो रेमिट्यान्स ?
सामान्यतयाः कुनै एक स्थानबाट कुनै अर्को स्थानमा कुनै पनि प्रयोजनका लागि रुपैयाँ पैसा पठाउने कार्यलाई रेमिट्यान्स विप्रेषण भनिन्छ । विशेष गरी रेमिट्यान्स वाह्य देशमा कार्यरत नागरिकहरुले कमाएर आफ्नो देशमा पठाइने पूँजी,नगद वा वित्त हो ।
विदेशमा रहेका कामदारले कमाएर आफ्नो परिवारलाई पठाउने रकम रेमिट्यान्स हो । त्यस्तै बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत् एक स्थानबाट अर्को स्थानमा रकम ट्रान्सफर गरेर पठाउने कार्य रकमान्तर हो । यो स्वदेश (आन्तरिक) र विदेश (बाह्य) दुवै हुन सक्छ । यस्तो रकम औपचारिक माध्यम अर्थात् बैंक तथा वित्तीय संस्था मार्फत् पठाएमा त्यसलाई बैंक ट्रान्सफर भनिन्छ ।
कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत् स्वदेशमा पठाउने कार्य रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ ।
रेमिट्यान्स पठाउँदा केही सेवा शुल्क तिर्नुपर्ने भए पनि बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू (रेमिट्यान्स कम्पनी) बाट रकमान्तर गर्ने तरिका नै सबैभन्दा बढी सुरक्षित, भरपर्दो र औपचारिक तरिका हो।
रेमिट्यान्स वृद्धि १९.३ प्रतिशत
चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा रेमिट्यान्समार्फत १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९.३ प्रतिशतले बढेको हो । गत वर्षको एघार महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भइ ९ अर्ब ९८ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।
एघार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७ सय ५ रहेको छ ।
औपचारिक माध्यमबाट पठाऔं, सही सदुपयोग गरी उत्पादनमा लगानी गरौं
पैसाको कारोबार गर्दा जहिले पनि औपचारिक माध्यमबाट गर्नुपर्ने हुन्छ । औपचारिक माध्ययमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमा पैसा प्राप्त गर्दछ । बैंक तथा वित्तीय संस्थाबाट एवं रेमिट्यान्सको कारोबार गर्ने राष्ट्र बैंकबाट स्वीकृति प्राप्त संस्थबाट मात्रै विप्रेषण कारोबार गर्दा उक्त संस्थावाट अन्य सुविधा पनि लिन सकिन्छ ।
(१) औपचारिक माध्ययमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमा पैसा प्राप्त गर्दछ ।
(२) यी माध्ययमबाट पैसा पठाउँदा संस्थामा बचत गर्न सहज हुन्छ ।
(३) बैंक/वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा उक्त संस्थावाट अन्य सुविधा पनि लिन सकिन्छ ।
(४) बैंक/वित्तीय संस्थाबाट वित्तीय कारोबार गर्दा कारोबारको रसिद पाइन्छ । यो रसिद सम्झेर लिनुपर्छ । यसले हिसाब राख्न मद्दत गर्दछ ।
(५) रसिद मात्रै कानुनी रूपमा आय प्राप्त गरेको प्रमाण हो । सम्पत्ति, घरजग्गा आदि जोड्दा आयस्रोतको रूपमा यस रसिदलाई देखाउन सकिन्छ ।
(६) वैदेशिक रोजगारीबाट फर्केपछि सहुलियतपूर्ण कर्जा लिन औपचारिक माध्यमबाट विप्रेषण कारोवार गरेको हुनुपर्छ ।
विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्नेकुराहरू
विप्रेषण औपचारिक बैंक तथा रेमिट्यान्स कम्पनीहरूबाट मात्र पठाउने ।
विप्रेषण गर्दा शुल्क वापत लिइने पैसाको बारे सोधपुछ गर्ने ।
विप्रेषण पठाएपछि सोको उपयोग उत्पादनशील क्षेत्रमा गर्ने ।
यदि उपभोगमा खर्च गरेमा सो कमाइ उपभोग भइसकेपछि पुनः आम्दानी प्राप्त नहुने हुँदा आम्दानी हुने गरी मात्रै खर्च गर्ने अर्थात् बिहे व्रतबन्ध, जन्मदिवस, पास्नीजस्ता अनुत्पादक कार्यमा सकेसम्म कम खर्च गर्ने ।
विप्रेषणको उचित प्रयोग
विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौले बन्न सक्छ । विप्रेषणको धेरै अंश हाम्रो दैनिक खपतमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन ।
विप्रेषणको रकम सकेसम्म उत्पादनमूलक कामका लागि खर्च गर्नु पर्दछ । विप्रेषणकै आम्दानीबाट दैनिक घरखर्च चलाउनुपर्ने अवस्था छ भने पनि सकेसम्म कम खर्च गरी धेरै रकम बचत गर्नु पर्दछ । बचतको उक्त रकमलाई आयआर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्दछ । यसो गर्दा पटक पटक आय आर्जन गर्न धेरै दुःख र जोखिम बोकेर विदेश गइरहनु पर्दैन । देशभित्रै केही काम गरी परिवारसँगै हाँसी खुशी बस्न सकिन्छ।
(क) शिक्षा
शिक्षाले सीप आर्जन गरी भविष्यमा थप आय सिर्जनामा मद्दत गर्ने भएकाले शिक्षा एउटा महत्वपूर्ण लगानीको क्षेत्र हो ।
(ख) उत्पादनमूलक क्षेत्र
उत्पादनमा वृद्धि गराउने साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, वस्तुपालन, सीप आर्जन, बचत वा शेयर खरिद आदि ।
(ग) लगानी
जोखिम कम भएको क्षेत्रमा लगानी, साना व्यापार वा व्यवसाय, बैंङ्क वा वित्तीय संस्थामा बचत वा शेयर आदि ।
(घ) अनावश्यक खर्च
चुरोट, रक्सी, पानपराग, जुवा, तास आदि खेलेर गरेको खर्च ।
(ङ) अनुत्पादक खर्च
आवश्यकताभन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइल, रिचार्ज, देखावटी सामान आदिमा गरेको खर्च ।
(च) अनावश्यक विलासिताका वस्तु
नचाहिएको अवस्थामा मोटरसाइकल, टि.भि., फोन, ल्यापटप, आवश्यकभन्दा बढी विवाह, भोज, चाडवाड आदि ।