बैंकिङ खबर/ बंगलादेशमा अर्थशास्त्री तथा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उनलाई मंगलबार राती सरकार प्रमुखमा नियुक्त गरेका हुन् ।
संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बीबीसी ले बताएको छ ।यसैगरी,उनी अन्तरिम सरकारमा नियुक्त भएको समाचार बंगलादेशको समाचार अनलाइन न्यूएज ले पनि पुष्टि गरेको छ।
‘गरिबका ब्यांकर’
‘गरिबका ब्यांकर’ उपनाम पाएका युनुस र उनले स्थापना गरेको ग्रामीण ब्यांकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो। सय डलरभन्दा कमको रकम ऋण उपलब्ध गराएर दसौँ लाख ग्रामीण गरिबलाई गरिबीबाट मुक्त गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको थियो।
सफल हुँदै गएपछि युनुसले राजनीतिमा हात हाल्ने कोसिस पनि गरे। २००७ मा उनले पार्टी पनि गठन गर्न खोजे। तर, उनको प्रयासले हसिना क्रुद्ध भइन्। उनले युनुसलाई ‘गरिबको रगत चुसेको’ आरोप लगाइन्।
साना ऋणदाताले चर्को ब्याज असुल्ने गरेको आरोप लाग्यो। तर, त्यो ऋणको ब्याजदर स्थानीय साहुबाट लिइने ऋणको ब्याजदरभन्दा निकै कम रहेको युनुसको तर्क थियो।
२०११ मा हसिना सरकारले उनलाई ग्रामीण ब्यांकको प्रमुखबाट हटायो। ६० वर्षको उमेरमा हट्नुपर्ने व्यक्ति ७३ वर्षसम्म बसेको सरकारको भनाइ थियो।
सो निर्णयविरुद्ध मानव साङ्लो बनाएर प्रदर्शन गरिएको थियो। यसैवर्ष जनवरीमा ८४ वर्षीय युनुसलाई श्रम कानून उल्लंघन गरेको भन्दै ६ महिना जेल सजाय सुनाइएको थियो। त्यस्तै २० लाख डलर ठगी गरेको आरोप पनि लगाइएको थियो । दुवै मुद्दामा जेल नगएपछि युनुसलाई अरु सयवटा भन्दा बढी मुद्दा लगाइएको थियो।
लघुवित्तका प्रवर्तक
मोहम्मद युनुसले सन् १९७० को दशकमा लघुवित्तको थालनी गर्ने व्यक्तिको परिचय बनाए। उनले आरम्भ गरेको लघुवित्तको अवधारणाले देशका कतिपय मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग पुग्यो।
चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा उनी लघुवित्तको अवधारणाबाट प्रेरित भएका थिए। उनले केही दर्जन गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरे। उनले एक पटकमा १०० डलरभन्दा कम मात्र पैसा दिए जुन परम्परागत ब्याङ्कहरूले दिने गरेका थिएनन्।
उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू निकै छिटो फस्टाए। सन् १९८०को दशकमा त्यसमा दशौँ हजार मानिसहरू सदस्य भए र त्यो ग्रामीण ब्याङ्क भयो।
यो ब्याङ्कले बाङ्ग्लादेशभरि व्यापक परियोजनाहरू सुरु गर्यो त्यसमध्ये केही नाफामुखी र केही गैर नाफामुखी थिए। उक्त ब्याङ्कको लगानीमा सुरु भएका परियोजनाहरूमध्ये कुनै कपडा उद्योग कुनै मोबाइल टेलिकम सम्बन्धी र केही ब्रोडब्यान्ड इन्टरनेट सम्बन्धी थिए।
आफ्नो कामको सफलता र अन्तर्राष्ट्रिय स्तरबाट पाएको मान्यताले युनुसलाई पछ्याइरहे। जसको परिणाम आफ्नो वित्तीय योगदानको लागि सन् २००६ मा उनले नोबेल शान्ति पुरस्कार पाए। उनले चर्चामा ल्याएको उक्त अवधारणा अरू विकासोन्मुख देशहरूका लागि पनि नमुना परियोजना बनेका थिए।