बैंकिङ खबर/ हालै मात्र भारतीय बैंकमा ठूलो साइबर हमला भएको छ । देशका ठूला भुक्तानी सञ्जालबाट करिब ३ सय साना बैंकलाई सोही आक्रमणका कारण अलग बनाइएको छ । यी बैंकहरूलाई प्रविधि सेवा प्रदान गर्ने कम्पनीमा यो साइबर हमला भएको हो । जसका कारण बैंकहरुको भुक्तानी प्रणाली अस्थायी रुपमा बन्द गरिएको रोयटर्सले जनाएको छ ।
यो साइबर हमला ‘सीएज टेक्नोलोजी’ नामक कम्पनीमा भएको हो । कम्पनीले देशभरका साना बैंकहरूलाई बैंकिङ प्रविधि प्रणाली उपलब्ध गराउँछ । रोयटर्सले इमेलमार्फत सीएज टेक्नोलोजीबाट प्रतिक्रिया मागेको थियो, तर कम्पनीले जवाफ दिएन । भारतीय रिजर्व बैंक (आरबीआई)ले पनि रोयटर्सको इमेलको जवाफ नदिएको समाचार रिपोर्टमा उल्लेख छ ।
नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया(एनपीसीआई) भुक्तानी प्रणालीको निरीक्षण गर्ने निकाय हो। एनपीसीआईले गत बुधबार राति एक सार्वजनिक सूचना जारी गर्दै एनपीसीआईद्वारा सञ्चालित खुद्रा भुक्तानी प्रणालीबाट सी इज टेक्नोलोजिजलाई अस्थायी रूपमा हटाएको जनाएको छ ।
’सीएजले सेवा प्रदान गर्ने बैंकका ग्राहकहरूले यस आइसोलेसन अवधिमा भुक्तानी प्रणालीहरू प्रयोग गर्न सक्ने छैनन्,–एनपीसीआईले भनेको छ । लगभग ३०० साना बैंकहरू देशको फराकिलो भुक्तानी नेटवर्कबाट काटिएका थिए । एक नियामक प्राधिकरणका अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ । साइबर आक्रमणको प्रभाव थप नफैलियोस् भनेर यो कदम चालिएको थियो ।
भारतमा लगभग १५०० सहकारी र क्षेत्रीय बैंकहरू छन्, जुन प्रायः ठूला सहरहरू बाहिर सञ्चालन हुन्छन्। रोयटर्सका अनुसार यी मध्ये केही बैंकहरू प्रभावित थिए । आरबीआई र भारतीय साइबर अधिकारीहरूले भारतीय बैंकहरूलाई विगत केही हप्ताहरूमा सम्भावित साइबर आक्रमणहरूको बारेमा चेतावनी दिएका थिए । यो त हाम्रो छिमेकी देश भारतमा भएको हालैको घटना हो ।
उसो त नेपालका बैंकिङ प्रणालीमा पनि बारम्बार आक्रमणको धम्की आउने गरेको छ । केही वर्ष अघि मात्रै अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको थियो। बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको इमेल पठाएको थियो । बैंकले ह्याक गर्ने धम्की दिएपछि बैंकको सबै सिष्टम बन्द गरिएको थियो । बैंकले आफ्नो फेसबुक पेजमै ह्याक गर्ने धम्की आएसँगै बैंकका सबै सिष्टम बन्द गरिएको जानकारी दिएको थियो ।
धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको थियो । कुमारी बैंकमा आएको चेतावनीपछि सम्पूर्ण बैंकलाई सतर्कता अपनाउन नेपाल बैंकर्स संघले आग्रह गरेको थियो ।
नेपाका बैंकहरुमा पटक–पटक ह्याकको धम्की
नेपालका बैंकहरुलाई पटक–पटक ह्याक गर्ने धम्की आउने गरेको छ । केही वर्ष अघि मात्रै राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकलाई सिष्टम ह्याक गर्ने धम्की आएको थियो । २०७४ कात्तिक ३ मा एनआईसी एसिया बैंकको स्विफ्ट कोड ह्याक गरी उत्तर कोरियाली ह्याकर समूह ‘लजारुस ग्रुप’ ले ४६ करोड ५६ लाख ५० हजार ५० रुपैयाँ विदेशका विभिन्न बैंकमा ट्रान्सफर गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो। केही रकम ह्याकरको हातमा परिसकेको थियो । तर, ट्रान्सफर गरिएका बैंकसँग द्विपक्षीय छलफलपछि बाँकी रकम एनआईसी एसियाकै खातामा फिर्ता आयो ।
प्रहरीको विशेष अपरेसन
२०७६ भदौ र असोजमा नेपाल प्रहरीले बैंक÷वित्तीय संस्थाको सिस्टम ह्याक गरी रकम निकाल्ने गिरोहको पहिचान गर्न विशेष अपरेसन नै चलाएको थियो। नबिल बैंक, कृषि विकास बैंक, कैलाश विकास बैंक, पानस रेमिटलगायत बैंक÷वित्तीय संस्थाको सिस्टम ह्याक गरी रकम निकाल्ने गरेको भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान पश्चात नेपालका बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेर रकम निकाल्ने गिरोहका योजनाकार काले भनिने पिटर मुम्बईमा रहेको सूचना प्रहरीले पाएको थियो।
पिटरकै योजनामा कृषि विकास बैंक र पानस रेमिटबाट अनधिकृत रूपमा रकम निकाल्ने १२ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले अपरेसनकै क्रममा पक्राउ गरेको थियो । कृषि विकास बैंक लहान शाखाको ४ करोड ७३ लाख ९६ हजार र पानस रेमिटको १२ लाख रुपैयाँ निकालेको भेटिएको थियो।
२०७६ भदौ १५ गते पनि एटीएमका पिन नम्बर ह्याक गरेर एटीएम बुथबाट रकम चोर्ने ६ चिनियाँलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। पक्राउ हुनु केही दिनअघि मात्रै काठमाडौं आएका उनीहरूले बैंकको सिस्टममा पसेर रकम निकालेका थिए। १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ नेपाली र ९ हजार १ सय ४८ अमेरिकी डलरसहित पक्राउ परेका उनीहरू अहिले पुर्पक्षका क्रममा जेलमा छन् ।
एकैचोटि १ सय २२ चिनियाँलाई पक्राउ
२०७६ पुस ८ मा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट एकैचोटि १ सय २२ चिनियाँलाई पक्राउ गरेको थियो । चीनका विभिन्न बैंक तथा वित्तीय संस्था ह्याक गरी रकम निकालेको आरोप लागेका उनीहरूमाथि विद्युतीय अपराधको साटो प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरेको थियो।
प्रहरी अनुसन्धानअनुसार नै काठमाडौं प्रशासनले सबैलाई अभद्रमा दोषी ठहर गरी जरिवाना तिराएको थियो । त्यसपछि सबैलाई अध्यागमन विभागले अध्यागमन कानुन उल्लंघनको कसुरमा निष्कासन गरेको थियो। यी त केही उदाहरण मात्रै हुन् । तर नेपालको बैंकिङ प्रणालीमा विगतदेखि नै बारम्बार आक्रमणको धम्कि आउने गरेको छ।
सूचना प्रविधिविज्ञ सुरेश कर्ण साइबर हमलाका दृष्टिले नेपालका बैंक उच्च जोखिममा परेको र त्यसलाई रोक्न सुरक्षित प्रविधिको प्रयोग, अनुगमन र हार्डवेयर/सफ्टवेयरको नियमित अद्यावधिक अनिवार्य हुनुपर्ने बताउँछन् ।
राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपाली बैंकिङ क्षेत्रमा पटक–पटक ह्याकको धम्की आउनु दुःखद् रहेको बताउँछन् । धम्कीलाई सामान्य रुपमा लिन नहुने उनको भनाइ छ। तर नेपाली बैंकिङ सिस्टम त्यति धेरै कमजोर भने नभएको उनले बताए ।
विश्वमै जटिलता
प्रविधिले बैंकिङ प्रणालीलाई जति सहज बनाएको छ, त्योभन्दा धेरै जोखिम थपेको देखिन्छ। प्रविधिका स–साना त्रृटिहरुलाई हतियार बनाएर संसारभर नै वर्षेनि विभिन्न आपराधिक समूहहरुले बैंकमाथि आक्रमण गर्ने गरेका छन्। नेपालमा मात्रै होइन विश्वका विकसित मुलुकहरुमा पनि यसले जटिल समस्याको रुप लिएको छ।
सयल क्राइम्स इन्फोर्समेन्ट नेटवर्कले सन् २०१९ मा मात्रै अमेरिकाका वित्तीय संस्थाहरुमा ३ हजार ४ सय ९४ साइबर आक्रमण गरेको थियो। सन् २०१८ मा बेलायतमा १४५ वटा बैंकिङ प्रणाली छेडखानीका घटनाहरु रिपोर्ट गरिएको बेलायतको फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए)ले जनाएको छ । २०१७ मा २५ वटा मात्रै यस्ता घटना रिपोर्ट गरिएका थिए ।
कस्तो छ नेपाली बैंकिङ सिस्टम ?
नेपालका बैंकहरूले बैंकिङ कार्यको लागि प्रयोग गर्ने ‘कोर बैंकिङ सिस्टम’ (सिबिएस) अन्तर्राष्ट्रिय स्तरमा चलेकै सफ्टवेयर प्रयोगमा ल्याएका छन्। अधिकांश बैंकहरूले भारतीय कम्पनी इन्फोसिसले बनाएको फिनाकल सफ्टवेयर प्रयोग गर्ने गरेका छन्।
त्यसैगरी, अमेरिकन कम्पनीबेसमा भारतमा बनेको आइप्याक्स र नेपालमै बनेको पुमोरी सफ्टवेयर प्रयोग हुने गरेको छ। यसबाहेक फाट्टफुट्ट अन्य सफ्टवेयरको प्रयोग भए पनि अधिकांश बैंकहरूले यिनै सफ्टवेयर प्रयोग गर्ने गरेका छन्।
नेपाली बैंकिङ सिस्टममा प्रयोग हुने गरेका सफ्टवेयर नै ह्याक हुने सम्भावना कम रहे पनि पब्लिक डोमेनमार्फत् ह्याकरहरूले डाटा लिक गर्न सक्ने आइटी विज्ञहरू बताउँछन्।नेपालका बैंकहरूमा कार्यरत आइटी विज्ञहरू सिबिएसमा सिधै ह्याकिङ सम्भव नभएको बताउँछन्। तर बैंक तथा वित्तीय संस्थाहरूले आधुनिक बैंकिङका लागि प्रवाहमा थप सेवा र शाखा सञ्जाल सञ्चालनको लागि प्रयोग गरिएको ‘पब्लिक डोमेन’का कारण साइबर सुरक्षा चुनौती थपिँदै गएको छ।
राष्ट्र बैंक भन्छ, ‘नेपालको बैंकिङ प्रणाली बलियो छ, डराउनु पर्दैन’
नेपाल राष्ट्र बैंकले भने नेपालको बैंकिङ प्रणाली बलियो रहेको बताउँदै आएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र नेपालको बैंकिङ प्रणाली प्रभावकारी र बलियो रहेको बताउँछन् । उनी भन्छन्, ‘निक्षेपकर्ताको रकम बैंकमा सुरक्षित छ। बैंकिङ प्रणाली पनि एकदमै सुरक्षित छ। यसमा कोही डराउनु पर्दैन।’