हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन (वाफिया) पारित भयो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
पारित भयो वाफिया
२०७३ मंसीर ५ गते सोमबार बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (वाफिया) लाई संसदको अर्थ समितिले टुंगो लगायो । समितिले बाफियाका विवादित ८ बुँदालाई टुङ्ग्याउँदै सोमबार संसदमा पेश गर्ने निर्णय गरेको हो । ऐनअनुसार, संस्थापक सेयर बैंक स्थापना भएको १० बर्षपछि साधारणमा परिवर्तन गर्न पाईने भएको छ । दश बर्षपछि पनि त्यस बेलाको पुँजीबजार र बैंक तथा वित्तीय संस्थाको समग्र अवस्था हेरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर मात्रै संस्थापक सेयर बिक्री गर्न पाइने व्यस्वस्था बाफियामा गरिएको छ ।
साथै, बैठकले सञ्चालकको योग्यता र संवैधानिक निकायमा बस्नेले बैंकको सञ्चालक हुन नपाउने व्यवस्था पनि पारित गरेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको सञ्चालकको अवधि बढीमा २ कार्यकाल अर्थात ८ वर्षसम्म हुनेछ । तर स्वतन्त्र सञ्चालक भने एक कार्यकाल मात्रै नियुक्त हुन पाउनेछ । त्यस्तै, सांसदहरु बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था समेत पारित भएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले ०.५ प्रतिशत सेयर पाउने भएका छन् । घ वर्गका लघुवित्त संस्थाले बैंक लेख्न नपाउने भएका छन् । यस्ता संस्थाले वित्तीय संस्था मात्र राख्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै, एउटै ब्यक्ति बैंक र बीमाको सञ्चालक हुन नपाउने व्यवस्था पारित भएको छ । कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने तथा बीमा सम्बन्धि व्यवसाय सञ्चालन गर्ने संगठित संस्थाको वहालवाला सञ्चालक तथा कर्मचारी बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था पारित भएको छ ।
सांसदको तलब वृद्धि
संघीय संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक र सुविधा बढाउने विधेयक संशोधनसहित पारित भएको भयो । विधेयकबमोजिम सांसदको मासिक तलब बैठक बसेको दिनको गणना गर्दा ८१ हजार २ सय ३० रुपैयाँ हुने भएको छ । तलब ५५ हजार २ सय ३० बनाइएको छ । विशेष भत्ता मासिक १ हजार बनाइएको छ । यस्तै, सञ्चार सुविधाबापत ३ हजार रुपैयाँ राखिएको छ । बैठकभत्ता बैठक बसेको दिनको हजार रुपैयाँ बनाइएको छ । यसैगरी, आवास सुविधा १८ हजार पाउने भएका छन् भने फर्निचर खर्च १५ हजार बनाइएको छ । यातायात सुविधा पनि १ हजार राखिएको छ । विधेयक पारित भएपछि सांसदले धारा र बिजुली खर्चबापत प्रतिमहिना २ हजार रुपैयाँ पाउने भएका छन् । दैनिक भ्रमण भत्ता २ हजार ५ सय राखिएको छ । पैदल भ्रमण भत्ता भने हटाइएको छ । यात्रा बिमा प्रतिभ्रमण १० लाख रुपैयाँ राखिएको छ । यसैगरी, मृत्यु भएको पदाधिकारी वा सदस्यको परिवारलाई आर्थिक सहायताबापत २ लाख रुपैयाँ र अशक्त भएको पदाधिकारी वा सदस्यलाई आर्थिक सहायताबापत ५० हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ ।
नयाँ भारु नोटमा प्रतिबन्ध
नेपाल राष्ट्र बैंकले नयाँ भारु २ हजार र ५ सय दरका नोटमा प्रतिबन्ध लगायो । १ हजार र ५ सय दरका नोट बन्द गरेर भारतले २ हजार र ५ सय दरका नयाँ नोट प्रचलनमा ल्याएकोमा राष्ट्र बैंकले सो दरका नोटहरु नेपालमा तत्काल नचल्ने बताएको हो । भारतले आफ्नो ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तर्गत ‘फेमा नोटिफिकेशन’ जारी गरेपछि उक्त दरका नयाँ नोट प्रचलनमा ल्याउन सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, फेमा नोटिफिकेशन जारी गर्नुअघि नै प्रचलनमा ल्याइएका नोटहरु अवैध मानिनेछन् ।
बैंकहरुलाई धितोपत्र बोर्डको आग्रह
नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई आस्बा प्रणालीमा सहभागी हुन आग्रह गर्यो । बोर्डले एक सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि आस्बा प्रणाली लागू गरिने भएकाले बोर्डको धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धि निर्दे्शिका, २०७३ को व्यवस्था बमोजिम आस्बा प्रणालीमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थालाई यथाशीघ्र निवेदन दिन आग्रह गरेको हो ।
नेपाल एसबिआई बैंकको एफपिओ
नेपाल एसबिआई बैंकले ६७ हजार ७६७ कित्ता एफपिओ जारी गर्ने निर्णय गर्यो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा उक्त एफपिओ जारी गर्न लागेको हो । यसका लागि बैंकले प्रिमियम मूल्य ८८४ रुपैयाँ निर्धारण गरेको छ । बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०ः३० कायम गर्न उक्त अनुपातमा एफपिओ जारी गर्न लागेको जानकारी दिएको छ । एफपिओ निष्काशन गर्ने अनुमति माग गर्दै एसबिआईले विहीबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
वित्तीय साक्षरता अभिायानमा वाणिज्य बैंकहरु
शुक्रबार सिभिल बैंकले छैठौ वाािर्षकोत्सव मनायो । वार्षिकोत्सवको अवसर पारेर बैंकले रक्तदान कार्यक्रम सम्पन्न गर्यो । साथै, सात दिने वित्तीय साक्षरता अभियानको घोषणा गर्यो । सनराइज बैंक लिमिटेडले सनराईज सुरक्षित घर कर्जा तथा ईलेक्ट्रोनिक सुविधाका बारेमा रुपन्देहीको देवदहमा जानकारी तथा अन्र्त्क्रिया कार्यक्रम सम्पन्न गर्यो । बैंकले सुरु गरेको वित्तीय साक्षरता अभियान अन्तर्गत बैंकले प्रदान गर्ने घरकर्जा तथा घरकर्जा लिनेलाई बीमाको सुविधा तथा ईलोक्ट्रानिक बैंकीङ्ग सेवाका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।
नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले साताको सोमबार दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्रि गर्यो । त्यस्तै, साताको बुधबार बैंकिङ प्रणालीबाट ५० करोड रुपैयाँ तरलता प्रशोचन गर्यो ।
शाखा विस्तार
साताको बुधबार राष्ट्रिय वाणिज्य बैंकले स्वर्ण जयन्ती मनायो । यसै अवसर पारेर बैंकले कर्पोरेट शाखाको उद्घाटन समेत गर्यो । कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्यायो । आशा लघुवित्त वित्तीय संस्था लि.ले दाङको सिसहनिया र लक्ष्मीपुरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्यायो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाकोे जमुनि गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा आरम्भ गर्यो ।
अन्य
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीसेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर सम्पन्न भयो । मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ कोरियाबाट प्रदान गरिने अन्तर्रा्ष्ट्रिय अवार्डबाट सम्मानित भइन् । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो र अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत विक्रेता एलटी इन्टरप्राईजेजले संयुक्त रुपमा एक लाख रुपैयाँ नगदसहित सम्मान गरे । एनएमबि बैंकको अन्तर्राष्ट्रिय साझेदार नेदरल्याण्डको एफएमओ (फिनेन्सीयरिङ्स मात्चापिज–वुर ओन्टविक्केलिङक्ल्याण्डेन) ले एनएमबि बैंकमा रहेको लगानी ३ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्यायो ।