बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एसेट म्यानेजमेन्ट कम्पनी स्थापनाको उद्घोष गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसेट म्यानेजमेन्ट कम्पनी स्थापनाको प्रक्रिया थालिने बताएका हुन् ।
के हो खराब बैंकको अवधारणा ?
खराब बैंकको काम खराब सम्पत्तिलाई असल सम्पत्तिमा परिवर्तन गर्नु हो । खास गरी बैंकहरूमा हुने खराब कर्जाहरूलाई व्यवस्थापन गर्ने गरी ती बैंकको वासलातबाट त्यस्ता कर्जा हटाएर खराब कर्जाका कारण बिग्रिएको बैंकको वित्तीय स्वास्थ्यलाई स्वस्थ बनाउने प्रयास गर्नु नै ‘खराब बैंक’को उद्देश्य हो ।
त्यसैले यस्ता ‘खराब बैंक’ले अन्य बैंकहरूले जस्तो निक्षेप स्वीकार गर्ने र ऋण प्रदान गर्ने काम गर्दैन । वास्तवमा समग्र बैंकहरूको खराब कर्जाको व्यवस्थापन गर्ने अभिभारा बोकेको कारण मात्र यसलाई खराब बैंक भनिएको हो । भन्नलाई ‘खराब बैंक’ भनिए पनि भारतमा स्थापना गर्न प्रस्ताव गरिएको यस्तो कम्पनीको औपचारिक नाम ‘पुनर्निर्माण तथा सम्पत्ति व्यवस्थापन कम्पनि’ भएबाट पनि यसले बैंकिङ कारोबार नगर्ने कुरा स्पष्ट हुन्छ ।
विश्व बैंकिङ इतिहासमा सबैभन्दा पहिला खराब बैंकको अवधारणालाई कार्यान्वयन गर्न श्रेय भने अमेरिकी ‘मेलन बैंक’लाई जान्छ । यो बैंकले सन् १९८८ मा स्थापना गरेको ‘ग्रेट स्ट्रीट नेसनल बैंक’लाई खराब बैंकको एउटा राम्रो उदाहरणका रूपमा लिइन्छ । यो ‘खराब बैंक’ले मेलन बैंकको १ अर्ब डलर बराबरको खराब कर्जालाई किनेको थियो । मेलन बैंकका शेयर होल्डरलाई पहिले शेयर र पछि लाभांशसमेत दिएर स्थापनाको ७ वर्षपछि उद्देश्यअनुरूपका सम्पूर्ण कार्यहरू सफल रूपमा सम्पन्न गरी सन् १९९५ मा यो बैंक विघटन गरिएको थियो ।
पछि, स्वीडेन, फिनल्यान्ड, फ्रान्स, जर्मनीजस्ता यूरोपका कतिपय सशक्त अर्थतन्त्रहरूमा समेत यस्तै खाले बैंकहरू स्थापना गरिएका थिए । आइरल्यान्डले पनि राष्ट्रिय अर्थतन्त्र मन्दीमा गएको बेला सन् २००९ मा यस्तै ‘खराब बैंक’ को स्थापना गरेको थियो ।
नेपालमा कस्तो छ बैंकहरुको खराब कर्जाको अवस्था
चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको कुल खराब कर्जा औसत ३.९८ प्रतिशत छ। खुद खराब कर्जा करिब १.१४ प्रतिशत मात्रै छ।
कर्जा वर्गीकरण अनुसार, राखिएको प्रावधान रकमलाई निष्क्रिय कर्जा बराबरको रकमबाट घटाउँदा खुद खराब कर्जा आउँछ। यसरी प्रावधान रकमलाई नघटाई निष्क्रिय कर्जा अन्तर्गतको उठ्न बाँकी रहेको कर्जा रकमलाई कुल खराब कर्जा भनिन्छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल खराब कर्जा थप बढेर चार प्रतिशत हाराहारी पुग्ने बैंकरहरूले बताइरहेका छन्। केही बैंकरहरू भने अहिले बैंकहरूलाई करिब २० प्रतिशत बराबरको कर्जामा समस्या भइरहेको बताउँछन्।
हाल बैंकहरूले ५१ खर्ब ४१ अर्ब रूपैयाँ बराबरको कर्जा लगानी गरिरहेका छन्। बैंकरहरूकै भनाइलाई आधार मान्ने हो भने, कम्तीमा दस खर्ब २८ अर्ब रूपैयाँ बराबरको कर्जामा समस्या आइरहेको मान्न सकिन्छ।