July 22nd, 2024

राष्ट्र बैंकको मुद्रास्फीति प्रतिवेदनः नेपालको शैक्षिक मूल्यवृद्धि दोहोरो अंकमा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सन् २०२२/२३ को मुद्रास्फीति (बजार महंगी) तथ्यांक सार्वजनिक गरेको छ । उपभोक्ता मूल्यका आधारमा वर्षभरिको तथ्यांक संकलन गरेको केन्द्रीय बैंकले समीक्षा वर्षको वार्षिक विन्दुगत औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

सन् २०२२/२३ को पहिलो त्रैमासमा ८.४७ प्रतिशतसम्म पुगेको मुद्रास्फीति अन्तिम अर्थात् चौथो त्रैमाससम्म आइपुग्दा घटेर ७.२३ प्रतिशतमा आएको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा वर्षको अधिकतम मुद्रास्फीति ६.५ प्रतिशतको दायराभित्र राख्ने लक्ष्य राष्ट्र बैंकको थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति औसत ६.६२ प्रतिशत रहँदा गैरखाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति ८.६२ प्रतिशत पुगेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

खासगरी सेवा क्षेत्र अन्तर्गतको होटल, रेष्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रको मुद्रास्फीति करिब १५ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, मसलन्दतर्फ १२ प्रतिशतले महँगी बढेको छ भने सरकारले लगाएको १३ प्रतिशत भ्याटका कारण आलु, प्याज, लसुन तथा फलफूलको बजार मूल्य दोहोरो अंकले बढेको केन्द्रीय बैंकको तथ्यांक छ ।

यस्तै तेल तथा घिउको बजार मूल्य १० प्रतिशत हाराहारीले बढेको छ भने पेयपदार्थको मूल्यवृद्धि १० प्रतिशत मुनि रहेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा यातायात क्षेत्रको महँगी १४ प्रतिशतभन्दा बढीले बढेको केन्द्रीय बैंकले जनाएको छ । गैरखाद्यान्नतर्फ सूचना तथा सञ्चार क्षेत्रको महँगी ५ प्रतिशत तल रहँदा लत्ताकपडा तथा अन्य पहिरनको महँगी ८ प्रतिशत हाराहारीमा छ । हाउजिङतर्फ भने ९ प्रतिशत हाराहारी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

अन्य वस्तु तथा सेवा क्षेत्रको महँगी ८ प्रतिशत आसपास रहँदा स्वास्थ्य सेवा क्षेत्रको महँगी १० प्रतिशत आसपास रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकको प्रतिवेदन अनुसार नेपालको शैक्षिक मूल्यवृद्धि दोहोरो अंकमा छ । आर्थिक वर्ष २०७९/८० को सुरुवातमा करिब ८ प्रतिशत हाराहारी रहेको शैक्षिक मुद्रास्फीति वर्षको अन्तिमसम्ममा १० प्रतिशतभन्दा माथि पुगेको बैंकको रिपोर्टमा उल्लेख छ ।

खासगरी शैक्षिक सामग्री किताब, कपी तथा अन्य सामग्रीको मूल्य वृद्धिसँगै विद्यार्थीको वर्गअनुसार सुविधा छुट्याउँदा महंगी बढेको केन्द्रीय बैंकको निष्कर्ष छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भने जम्मा ९ प्रतिशतमा सीमित रहेको रहेको केन्द्रीय बैंकको रिपोर्टमा उल्लेख छ । आर्थिक वर्ष २०२१/२२ मा ४१ प्रतिशतसम्मले बढेको पेट्रोलियम पदार्थको मूल्य सन् २०२२/२३ मा ९ प्रतिशतमा झरेको हो ।

समीक्षा अवधिमा पेट्रोलको मूल्यवृद्धि ९ प्रतिशत, डिजेल र मट्टीतेलको १५ प्रतिशत र खाना पकाउने एलपी ग्यासको १ प्रतिशतले मात्र मूल्य बढेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यस्तो मूल्यवृद्धि पेट्रोलमा ४१ प्रतिशतले, डिजेल र मट्टीतेलमा ५५ प्रतिशतले र एलपी ग्यासमा २६ प्रतिशतसम्मले बढेको थियो ।